बागलुङ/साँढे ६ वर्षसम्म ग्रामीण स्वास्थ्य सुधार परियोजना संचालन गरेको फेयरमेड फाउण्डेसनले कार्यक्रमको समीक्षासहित समापन गरेको छ ।
भीमापोखरा युवा क्लब (बिवाईसी) बागलुङको सहकार्यमा संचालित परियोजना सन् २०२४ को डिसेम्बरमा समाप्त भएको थियो । फाउण्डेसनले भने आइतवार समीक्षासहित समापन कार्यक्रम गरेको हो ।
सन् २०१८ मा तमानखोला, निसीखोला र ढोरपाटनबाट शुरु भएको परियोजना क्रमशः कार्यक्षेत्र बिस्तार गर्दै जिल्लाका दशवटै स्थानीय तहमा संचालित थियो । यो अबधिमा ३३ वटा स्वास्थ्य संस्थामा ल्याब स्थापना, २२ वटा प्रतिक्षघर निर्माणमा साझेदारी र ५ वटा संस्थामा भिडियो एक्सरे सेवा संचालन गरिएको फेयरमेड फाउण्डेसनका टिम लिडर राजेन्द्र रुचालले जानकारी दिए ।
जिल्लाभित्र संचालित ६९ वटा बर्थिङ सेन्टरका लागि चाहिने कुनै न कुनै सामाग्री तथा उपकरण सहयोग गरेर आमा र शिशुको स्वास्थ्यमा परियोजनामार्फत काम समेत गरिएको थियो । यो समयमा गर्भवतीले नियमित गर्भ परीक्षण गर्ने, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी हुने तथा बालबालिकालाई समयमा खोप लगाउनेसम्मका काम संचालन भए । आमा समूहको बैठक बसेर ग्रामीण क्षेत्रमा कोहीपनि स्वास्थ्य सेवाबाट बञ्चित हुन नपारोस भन्ने अभियान संचालन भएको थियो ।
भिडियो एक्सरे तालिम संचालन, एसबिए तालिम, सिल्ट स्पियर तालिममार्फत कुष्ठरोग पहिचान, अपांगता भएकाहरुलाई स्यानिटरी प्याड बनाउने तालिम, च्याउ र तरकारी खेती र मुडा बनाउने तालिम सम्पन्न गरेपछि उनीहरु आत्मनिर्भर व्यवसायमा संलग्न भएको कार्यक्रम व्यवस्थापक गणेश बरुवालले जानकारी दिए । संक्रामक रोगको रोकथाम तालिम, कुष्ठरोगको स्क्रिनिङ तालिम र स्वास्थ्य शिविर संचालन भएको पनि उनले बताए ।
यी गतिविधिले गत आर्थिक वर्षमा २ सय ८ गर्भवतीले प्रसुती प्रतिक्षाघर उपयोग गरेकोमा सन् २०२४ मा ४ सय ६ जनाले सेवा लिएको तथ्यांक छ । स्वास्थ्य संस्थामा सुत्केरी बन्नका लागि अघि नै गएर बस्ने प्रतिक्षाघरले आमा र शिशुको स्वास्थ्य रक्षा गरेको छ । ल्याब बनेपछि सन् २०२३ मा १ हजार २ सय ६ जनाले सेवा पाएकोमा सन् २०२४ मा ३ हजार ६ सय १४ जनाले पाएका थिए । त्यस बाहेक ४ सय जनाले भिडियो एक्सरे सेवा पाएको, ४ हजार ६ सय जनाले गाउँघर क्लिनिकबाट सेवा पाएको, १ सय ३३ बालबालिकाले बेबी वार्मरमार्फत तातो बनाउने सेवा पाएको समेत उनले बताए ।
फेयरमेड फाउण्डेसनबाट संचालित ग्रामीण स्वास्थ्य सुधार परियोजना समाप्त भएपनि ‘सम्बोधन’मार्फत अझै ३ बर्ष बागलुङमा काम गर्ने भएको छ । त्यसको कार्यविधि केही फरक भएपनि हाल भएका कामको संस्थागत विकास र यो परियोजनामा भेटिएका समस्या सम्बोधनमा पनि ध्यान दिनुपर्ने सुझाव समेत सरोकारवालाले दिएका छन् ।
समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले नागरिकको स्वास्थ्य सुरक्षामा चासो बढेको र राज्यका संयन्त्रले नदेखेका समस्या खोजेर उपचारको दायरामा ल्याउने तथा आमा र शिशुको ज्यान बचाउने काम महत्वपूर्ण भएको बताए ।
विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमले साँढे ६ वर्षको अनुभवले स्वास्थ्य क्षेत्रमा पनि काम गर्न सफल भएको भन्दै आगामी कार्यक्रमहरुमा पनि फेयरमेडलाई साथ दिने बताए । हाल नयाँ कार्यक्रमको रुपमा ‘सम्बोधन’ संचालन गर्न नपाएपनि मानव स्वास्थ्यका क्षेत्रमा अन्य शिराबाट काम गर्ने उनले बताए ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटाको अध्यक्षता, परियोजना व्यवथापक गणेश बरुवालको संचालन र टिम लिडर राजेन्द्र रुचालको संचालनमा सम्पन्न कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल, सामाजिक परिचालक चित्र अर्गेजा र पत्रकार प्रकाश बराल समेतले कार्यक्रमको समीक्षा गरेका थिए । उक्त अबसरमा सात वर्षसम्म साझेदार काम गरेको बिवाईसीलाई कदरपत्र प्रदान गरियो भने सामाजिक परिचालकलाई प्रमाणपत्र पनि दिइयो ।





