चिनियाँ कृत्रिम बुद्धिमत्तामा आधारित च्याटबोट ‘डीपसीक’ एपल प्रयोगकर्ताहरूमाझ छोटो समयमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई अमेरिकी प्रविधि कम्पनीहरूका लागि ‘जागा हुने घण्टी’ भनेका छन् ।
यही ज्यानुअरीमा केही हप्ताअघि अमेरिकामा सार्वजनिक भएको यो एपले अमेरिकी प्रविधि कम्पनीहरूको शेअर बजारमा भारी गिरावटको कारण बनेको छ ।
यो एपको अचानक बढेको लोकप्रियता र अमेरिकी एआई कम्पनीहरूको तुलनामा यसको न्यून लागतका कारण अमेरिकी अर्थतन्त्रमा चिन्ता पैदा हुन पुगेको छ ।
सिलिकन भ्यालीका मार्क एन्ड्रीसनले डीपसीकलाई एआईमा ‘सबैभन्दा गज्जबको र प्रभावशाली प्रगति’ भनेका छन् ।
यो एआई एप विकास गर्ने कम्पनीका अनुसार डीपसीकका पछिल्ला एआई मोड्युलहरूबाट यो क्षेत्रमा अग्रणी मानिएका अमेरिकी कम्पनीहरूले निर्माण गरेका च्याट जीपीटी जत्तिकै प्रभावकारी सुविधा निकै कम खर्चमा नै लिन सकिन्छ ।
यो एप विकासमा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार यसको विकासका लागि जम्मा ६० लाख अमेरिकी डलर मात्रै खर्च भएको थियो । यो रकम अमेरिकी एआई कम्पनीहरूले खर्च गरेको अर्बौँ डलरको तुलनामा निकै कम हो ।
डीपसीक के हो ?
डीपसीक चीनको दक्षिणपूर्वी सहर हान्जाउमा स्थापित चिनियाँ ‘आर्टिफिशल इन्टेलिजेन्स’ कम्पनी हो । यो कम्पनी सन् २०२३ को जुलाईमा घोषणा भएको थियो । तर यसको लोकप्रिय एआई एसिस्टेन्ट एप अमेरिकामा १० ज्यानुअरीसम्म सार्वजनिक नगरिएको ‘सेन्सर टावर’ले जनाएको छ ।
डीपसीकका संस्थापक को हुन् ?
लियाङ वेनफङले आफैले सञ्चालन गरेको ‘हेज फन्ड’ अर्थात् मानिसहरूले लगानीका लागि जम्मा गरिदिएको पैसाको समेत प्रयोग गरेर डीपसीक स्थापना गरेका थिए ।
इन्फरमेसन र इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक गरेका ४० वर्षे लियाङले हाल चीन निर्यातमा प्रतिबन्ध लागेको एनभिडिआ ए१०० चिप्सहरूको एउटा भण्डार नै बनाएको बताइएको छ ।
विज्ञहरूले उनको संग्रहमा रहेका अनुमानित ५०,००० थान चिप्सहरूलाई अन्य झन सस्तो मूल्यमा पाइने र आयातका लागि उपलब्ध अन्य उपकरणहरूको सहायतमा जोडेर उनले ‘डीपसीक’ विकास गरेको ठानेका छन् । लियाङ हालै चिनियाँ प्रधानमन्त्री लि चियाङले आयोजना गरेको उद्यम विज्ञहरूसँगको बैठकमा देखिएका थिए ।
कसले गर्दै छ यसको प्रयोग ?
यो कम्पनीको एआई एप एपलको एप स्टोरमा र कम्पनीको वेबसाइटमार्फत् अनलाइन डाउनलोड गर्न सकिन्छ ।
निःशुल्क पाइने यो एप एपलको स्टोरमा छोटो समयमै सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । यद्यपि केही प्रयोगकर्ताहरूले यसमा आफ्नो खाता खोल्न समस्या भएको उल्लेख गरेका छन् । यो अमेरिकामा एपलको एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न पाइने एपहरूमध्ये सबैभन्दा धेरै रेटिङ पाउने एप पनि बनेको छ ।
यो एपले के गर्छ ?
डीपसीक आफ्नो शक्तिशाली एआई एसिस्टेन्टका कारण लोकप्रिय बनेको छ र यो च्याट जीपीटी जस्तै गरी सञ्चालन हुन्छ ।
एप स्टोरमा उल्लेखित विवरण अनुसार यसलाई मानिसहरूका ‘प्रश्नहरूको जवाफ दिन र प्रभावकारी रूपमा जीवन सहज बनाउन’ डिजाइन गरिएको छ ।
प्रयोगकर्ताहरूले रेटिङका क्रममा गरेका टिप्पणीमा यसले ‘लेखन शैलीमा निखार थप्ने’ उल्लेख छ । तर यो च्याटबोटले राजनीतिक रूपमा संवेदनशील एउटा प्रश्नको जबाफ दिँदैन ।
बीबीसीले सन् १९८९ को जुन ४ मा चीनको तियानआनमेन स्क्वायरमा के भएको थियो भनेर सोधेको प्रश्नमा डीपसीकको जबाफ थियो, ‘मलाई माफ गर्नुहोला । त्यो प्रश्नको म जबाफ दिन सक्दिनँ । म सहयोगी र हानीरहित जबाफ दिनका लागि डिजाइन गरिएको एआई एसिस्टेन्ट हो ।’
यसले एनभिडिआ जस्ता अमेरिकी कम्पनीलाई किन असर गरिरहेको छ ?
अमेरिकी प्रतिस्पर्धीहरू भन्दा दशौँ लाख डलर कम खर्चमा बनेको भनिएको डीपसीकले एआईमा अमेरिकी दबदबा भविष्यबारे प्रश्न उब्जाएको छ ।
डीपसीकको उदयसँगै अमेरिकी चिप कम्पनी एभिडिआको शेअर मूल्य १७ प्रतिशतले घटेको छ । अमेरिकी कम्पनी एनभिडिआले एआईमा प्रयोग हुने शक्तिशाली चिप्सहरू बनाउँछ । डीपसीकको असर सबैभन्दा धेरै यो कम्पनीमा पर्ने देखिएको छ ।
यसले सोमबार मात्रै आफ्नो बजार मूल्यको करिब ६०० अर्ब अमेरिकी डलर गुमायो । यो कुनै पनि अमेरिकी कम्पनीले देशको इतिहासमा एकै दिन गुमाएको सबैभन्दा ठूलो रकम भएको बताइएको छ ।
एनभिडिआ बजार पुँजीकरणका दृष्टिले विश्वमै सबैभन्दा मूल्यवान् कम्पनी बनेको थियो । तर सोमबार यो एपल र माइक्रोसफ्ट भन्दा पछाडि पुगेको फोब्र्सले जनाएको छ । डीपसीकले एनभिडिआले बनाएको भन्दा कम–उन्नत प्रकारका सेमिकन्डक्टर चिप्सहरूको प्रयोग गर्छ ।
यद्यपि यसको सफलताले ठूलो बजेट र उच्चकोटीका चिप्सहरू मात्रै एआईलाई अघि बढाउने उपाय हुन् भन्ने बुझाइको खण्डन गरेको छ । यसले उच्च क्षमता भएका चिपहरूको भविष्य र आवश्यकताबारे पनि अनिश्चय पैदा गरेको छ ।
–बीबीसी





