बागलुङ/बौद्विक अपाङ्गता भएका किशोरीहरुले पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्वको खोप लगाएका छन् ।
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको उपस्थितीमा बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालयमा अध्ययनरत बौद्विक अपाङ्गता भएका १५ जना किशोरीले एचपिभी खोप लगाएका हुन् ।
सो अवसरमा संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पाठकले महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरको रोकथाम गरी मृत्युदर घटाउने उद्देश्यले देशव्यापी रुपमा चलेको खोप अभियानमा कोही पनि छुट्न नहुने बताए । फरक क्षमता भएका किशोरीहरुले पनि समृद्व समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै मन्त्री पाठकले भने, ‘बौद्विक अपाङ्गता र फरक क्षमता भएका किशोरीहरु खोपबाट बञ्चित हुनुहुँदैन ।’
एचपिभी खोप सुरक्षित रहेकाले सबै किशोरीलाई अभियानमा सहभागिता जनाउन मन्त्री पाठकले आग्रह गरेका छन् । आगामी वर्षदेखि राष्ट्रिय खोप तालिकामा एचपिभी खोप समावेश गरिने पाठकको भनाई थियो । अभियानको पहिलो दिन पर्वतका खोप केन्द्रहरुमा अनुगमन गरेका मन्त्री पाठकले शुक्रबार बागलुङ नगरपालिकाका र काठेखोला गाउँपालिकाका केही खोप केन्द्रहरुको अनुगमन गर्ने कार्यक्रम रहेको मन्त्रीका स्वकीय सचिव डिल्ली आचार्यले जानकारी दिए ।
खोप अभियानअन्तर्गत तेस्रो दिनसम्म बागलुङ, जैमिनी, गलकोट नगरपालिका, काठेखोला, ताराखोला र बरेङ गाउँपालिकाका ५ हजार ३० जनाले खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । बागलुङका ११ हजार ५ सय ५५ जना किशोरीलाई खोप लगाउने जनस्वास्थ्यको लक्ष्य छ ।
अभियानको दोस्रो चरणमा माघ २८ देखि फागुन ३ गतेसम्म ढोरपाटन नगरपालिका, तमानखोला, निसीखोला र बडिगाड गाउँपालिकामा खोप लगाइने छ । खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लाभर ३ सय १५ स्वास्थ्यकर्मी र ६ सय २६ जना संयसेविकाहरु परिचालन गरिएको छ भने ३ सय १२ खोप केन्द्र तय गरिएको छ ।





