बागलुङ/जिल्ला अस्पतालको रुपमा संचालन भएपछि अहिलेसम्म धौलागिरि अस्पतालको ओएनएम स्विकृत भएको छैन । जसका कारण अस्पतालले बनाएका महत्वपूर्ण योजनाहरु ओझेलमा परेका छन् । दैनिक ४ सय ५० देखि ५ सय जनासम्म बिरामी उपचारका लागि आइपुग्ने भएपछि अस्पतालले ५ वर्ष अघिदेखिनै १ सय १५ बेड संचालनमा ल्याइरहेको छ । तर, अहिले पनि ५० बेडको मात्रै ओएनएम छ । जसका कारण करारका कर्मचारी पाल्ने सम्स्या छ । त्यस बाहेक मेडिकल कलेजको रुपमा विकास गर्ने योजना पनि अलपत्र छ ।
गत आर्थिक वर्ष धौलागिरि अस्पतालमा १ लाख १५ हजार बिरामीको उपचार भएको छ । ७ सय ५० जनाको त अपरेशन सम्पन्न भएको तथ्यांक छ । कोरोना संक्रमणको बेला स्थानीय श्रोत साधन जुटाएर अस्पतालमा १ सय १५ बेड संचालनमा ल्याइयो । ती मध्ये अहिले पनि १० जना सम्मलाई आइसियुमा राखेर उपचार गर्न सकिन्छ । ४ वटा एनआइसियु छ । प्रसुती, हाडजोर्नी, हाइड्रोसिल लगायत विभिन्न अपरेसन सेवा पनि यहाँ नियमित छ ।
पछिल्लो तीन वर्षदेखि ‘हरि खड्का ट्रमा इकाइ’को रुपमा ट्रमाका बिरामीको उपचार भैरहेको छ । मध्यपहाडी लोकमार्गले १ सय ४० किमी र कालीगण्डकी करिडोरले जिल्लामा ३६ किमी ओगटेकोले दुर्घटनाका बिरामी यो अस्पतालमा धेरै आइपुग्छन् । १६ जना बिशेषज्ञसहित २८ जना चिकित्सक र सबै विभाग र प्रशासन गरी डेढसय कर्मचारी कार्यरत छन् । उनीहरुमध्ये केही अस्पताल व्यवस्थापन समिति, प्रदेश मन्त्रालय र छात्रवृत्ति करारबाट परिचालित छन् । यतिधेरै सेवा प्रवाह गरिरहेको अस्पतालले अझै ५० शैयाको मात्रै अनुमति पाएको छ । २०६७ सालमा स्वास्थ्य मन्त्रालयले तत्कालिन जिल्ला अस्पतालबाट अञ्चल अस्पतालको मान्यता दिंदा पनि ओएनएम गरेको थिएन ।
अस्पतालले भएको जनशक्तीबाट संचालन गर्न अनुमति पाएको थियो । एक सय शैयाको स्विकृति लिन दर्जनौं पटक व्यवस्थापन समिति मन्त्रालय धाइरहेका छन् । बेड स्विकृतीका लागि अस्पताल व्यवस्थापन समिति र राजनीतिक नेतृत्व पटक पटक अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालय धाइरहेको हो । ‘हामीले धेरै पटक प्रयास गरिरहेका छौं, तर अर्थले दायित्व सिर्जना हुने भन्दै यो विषयमा अगाडि बढ्नै चाहेको छैन’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले भने, ‘मन्त्रालयका सचिवले न्त्रीसम्म लैजान नमान्दा हामी स्विकृतिबाट बञ्चित छौं ।’ ओएनएम गर्दा केही दरबन्दी थप हुने र त्यसको दायित्व नेपाल सरकारमा पुग्ने भएपछि अस्पतालको सेवा बिस्तारबारे चासो कम भएको हो ।
अस्पताल व्यवस्थापन समितिका सदस्य नरेश कंडेलका अनुसार ओएनम गरेर १ सय बेडको स्विकृति दिएपनि तत्काल अस्पतालले सरकारको दायित्व सिर्जना हुने गरी बजेट नखोज्ने लक्ष्य राखेको छ । ‘अहिले पनि १ सय १५ बेड नियमित संचालनमा छन्’ कंडेलले भने, ‘हामीले आन्तरिक श्रोतबाट पनि धेरै काम गरेका छौं ।’ बागलुङ नगरपालिकाले यहाँ कर्मचारी व्यवस्थापन, औषधी खरिदमा साथ दिएको छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले पहल गरेर छिटै १ सय बेडको अनुमति दिलाउन प्रयास गर्ने बताए ।
एकसय बेडको अनुमति पाएमा अस्पताल व्यवस्थापन समितिले स्टाफ नर्स लगायतको मेडिकल कलेजको तयारी गरिरहेको छ । ‘एकसय बेड स्विकृत नभएसम्म मेडिकल कलेजको अनुमति पनि नपाइने कानूनी प्रावधानले हामी अगाडि बढ्न सकेनौं’ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘३ सय रोपनीसम्म जग्गा हामी खोज्छौं, मेडिकल कलेज स्थापना गरौं भन्ने सहमति छ, तर ओएनएमको अभावले हामी पछि परेका छौं ।’ गण्डकी प्रदेश सरकारले गठन गरेको अस्पताल व्यवस्थापन समितिमा नगरप्रमुख पदेन सदस्य छन् । हाल बागलुङ नगरसभाले पनि मेडिकल कलेज स्थापनाका लागि पहल गर्ने र आवस्यक जग्गाको व्यवथापन गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।
अस्पतालमा दैनिक २० देखि ३० जनासम्म मानसिक रोगका बिरामी आउने गरेका छन् । तर यहाँ मनोचिकित्सकको दरबन्दी नहुँदा बिरामी रिफर गर्नुपरेको डा. तिवारीले बताए । ‘हामीलाई मनोचिकित्सक अति आबस्यक छ’ तिवारीले भने, ‘त्यस बाहेक रेडियोलोजिष्ट, फिजिसियन, एनेस्थियोलोजिष्ट र बालरोग बिज्ञ अभाव भएको छ ।’





