बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरामा आयोजित पाठेघरको मुखको क्यान्सर सम्बन्धि स्क्रिनिङ शिविरबाट ७० जना महिला लाभान्वित भएका छन् । शिविरमा महिलाहरुलाई यौन रोगको जाँच र परामर्श सेवा पनि प्रदान गरिएको थियो ।
गाउँपालिकाको आयोजना र नेपाल परिवार नियोजन संघ बागलुङको प्राविधिक सहयोगमा भिमापोखारा स्वास्थ्य चौकीमा निःशुल्क प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रिनिङ भिआइए तथा व्यवस्थापन सम्बन्धी शिविर सम्पन्न भएको हो ।
शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, स्त्री रोग सम्बन्धी सेवा, यौनजन्य सङ्क्रमणको उपचार, परिवार नियोजनका साधनबारे जानकारी दिईएको स्वास्थ्य शाखा प्रमुख सोमराज पाण्डेले जानकारी दिए । शिविरबाट ग्रामीण क्षेत्रका महिलाहरुले स्वास्थ्य लाभ लिएको पाण्डेको भनाई थियो ।
शिविरको उद्घाटन गर्दै ग्रामीण क्षेत्रमा आयोजना हुने शिविरबाट धेरै महिलाहरुले लाभ लिन पाउने काठेखोला गाउँपालिका–२ कार्यवाहक वडा अध्यक्ष भिमबहादुर केसीले बताए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सोमराज पाण्डेले स्वास्थ्य शिविरबाट ग्रामीण क्षेत्रका महिलाहरुले स्वास्थ्य लाभ लिने र यसको लागि पहल गर्नु हुने सबैलाई धन्यवाद दिए ।
भीमापोखराका कार्यवाहक वडा अध्यक्ष भिमबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल परिवार नियोजन संघ बागलुङ शाखाकी कार्यवाहक सभापति आशा राजभण्डारी भारीको स्वागत र सिनियर अनमी देवी भण्डारीले सञ्चालन गरेकी थिइन् ।





