म्याग्दी जिल्लामा उत्पादन हुन अर्गानिक बस्तुलाई विश्वभर फैलाउने उद्देश्यले मोना इन्भेष्टमेन्ट कम्पनी दर्ता भएको छ । नेपालका विभिन्न सहरमा लोकल मार्ट र विश्वभर बिक्री गर्ने गरी म्याग्दीमा उत्पादन हुने अर्गानिक उत्पादनलाई सदरमुकाम बेनीमा संकलन, प्रशोधन, प्याकेजिङ गरी बिक्री गर्ने लक्ष्य रहेको छ । मोना अन्तर्राष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुनको अध्यक्षतामा गठन भएको कम्पनीमा पहिलो चरणमा मोना आइइसीका अध्यक्ष ददीवल खड्का, संस्थापक महासचिव शिवकुमार बरुवाल, मोना जापानका सल्लाहकार राम खड्का, मोना कतारका संरक्षक बिक्रम कार्की रहेका छन् । यो कम्पनीमा विश्वभर रहेका म्याग्देलीले लगानी गर्ने सुविधा रहेको छ भने मोना ब्रान्डबाट उत्पादन गरिएका बस्तुहरू विश्वबजारमा पु¥याउने ढोरपाटनका म्याग्दी संवाददाता हरिकृष्ण गौतमसँगको कुराकानीमा मोना अन्तर्राष्ट्रियका अध्यक्ष ददीवल खड्काले बताएका छन् ।
मोना इन्भेष्टमेन्ट कम्पनी कहिलेदेखि सञ्चालनमा आउँछ ?
धन्यवाद, यो अवसरका लागि । डेढ करोडको पूँजी रहेको कम्पनी दर्ता गरी हामीले आवश्यक प्रक्रिया अगाडी बढाएका छौ । अबको केही दिनमा कम्पनीका अध्यक्ष प्रकाश पुनसहितको टोली म्याग्दीमा जानुहुन्छ । उहाँहरूले त्यहाँ कम्पनीमार्फत् गर्ने कामहरूका बारेमा जानकारी गराएपछि थप योजनाहरू बनाएर अगाडी बढ्ने तयारीमा छौँ । यसै वर्षभित्र सबै तयारी पूरा गरेर आगामी नेपाली नयाँ वर्ष २०८२ सालदेखि कम्पनीका उत्पादनहरू बजारमा लैजाने योजनामा छौँ । ’मेड इन म्याग्दी’ का उत्पादनहरू मोनाको नामबाट संसारभरी पु¥याउने गरी काम गर्छौँ ।
कम्पनीको उद्देश्य के छ ?
हामीले जन्मभूमिको जमिनमा उत्पादन भएका बस्तुलाई कर्मभूमिमा पु¥याउन कम्पनीको स्थापना गरेका हौँ । यसमा प्रारम्भिक चरणमा केही साथीहरूको सक्रियतामा कम्पनी स्थापना भए पनि प्रवासमा रहेका म्याग्देलीहरू सबैलाई आवद्ध गरी म्याग्दीमा उत्पादन गर्न सकिने बस्तुको उत्पादनमा समेत लगानीमैत्री वातावरण बनाउने रहेको छ । कर्मभूमिमा रहेका म्याग्देली सहित नेपालीको भान्सामा बिहान–बेलुकी थरीथरीका अर्गानिक उत्पादन पु¥याउने प्रमुख लक्ष्य हो । अर्गानिक बस्तुको प्रयोग गरी म्याग्दीका कृषकलाई समेत सघाउन चाहन्छौँ ।
मोना इन्भेष्टमेन्टले किसानबाट लिन्छ कि आफै उत्पादन गर्छ त ?
हामीले म्याग्दीमा अर्गानिक खेतीमा सक्रिय, जडिबुटी संकलनकर्ताको मेहनतमा लगानी गर्नेछौ । मोना इन्भेष्टमेन्ट मोटो सुहाउँदो उत्पादनलाई प्राथमिकता दिएर सीमित जग्गाको उपयोग गर्दै अर्गानिक खेती प्रणालीलाई प्राथमिकता दिने सोच बनाएका छौँ । किसानको मिहिनेतमा बिचौलियाले फाइदा लिने गरेको मैले देखेको छु । त्यसैले किसानको घरदैलोमा पुगेर उत्पादन संकलन गरी कम्पनीमार्फत बजारसम्म लैजान स्थानीय तहमार्फत् वडामा रहेका जनप्रतिनिधिसँग समेत समन्वय गर्छौँ ।
स्थानीय तहसँग कसरी समन्वय गर्नुहुन्छ त ?
मोना इन्भेष्टमेन्टको उद्देश्यका बारेमा पहिलो चरणमा स्थानीय तहका प्रमुख, वडा अध्यक्ष सहित सरोकारवाला निकायसँग समन्वय गरिने छ । कुन वडामा के उत्पादन हुन्छ ? यसका बारेमा किसानसँग जोडिन समन्वयकारी भूमिकामा सघाउन अनुरोधसमेत गर्नेछौ । यसले किसानले नै उचित मूल्य पाउँछन् । पहिलो चरणमा जानकारीसहित उत्पदानको पहिचान, दोस्रो चरणमा खरिद र किसानलाई आवश्यकता अनुसार सहयोग समेत गर्नेछौँ ।
किसानलाई कस्तो सहयोग गर्नुहुन्छ ?
अहिले नै धेरे बोल्ने समय त भएको छैन । तर, हामीले प्रारम्भिक चरणको छलफलमा उत्पादनको सहज आपूर्ति तथा बिक्रीमा सघाउने किसानलाई आवश्यकता परेमा बिना ब्याज र सहुलियतको कर्जा उपलब्ध गराएर उत्पादनमा प्रोत्साहन गर्ने सोच समेत बनाएका छाँै । लगानीको अभावकै कारण अर्गानिक बस्तुको उत्पादनबाट पछाडी हट्ने वातावरण बनाउँदैनाँै ।स्थानीय तहसँग समन्वय गरी तालिम सहित प्रोत्साहन कार्यक्रमहरू समय परिस्थिति अनुसार अगाडी बढाउने छौँ । हाम्रो पहिलो सहयोगी पनि किसान र किसानको पनि हामी नै हुने वातावरण बनाउने छौँ ।
कम्पनीबाट कस्ता उत्पादन बजारमा जान्छन् ?
हामीले टिम्मुर,भटमास, भाँगो, मह, घ्यू फापरको पिठो, गहत,मकै, च्याउ, पिठो (फापर,जौ, मकै र कोदोको), चामल, सिस्नुको धुलो लगायत अर्गानिकहरूलाई बिक्री गर्छौंँ । यसमा धेरै प्रकारका हुन्छन् । अर्गानिक सामानका पारखीहरूको माग अनुसारका उत्पादन खोज्छौँ । अर्गानिक बस्तुसँगै हस्तकला साम्रगीहरूको माग अनुसार बिक्री गर्छौँ ।
कम्पनीनमार्फत् विश्वभरी कसरी पुग्छ म्याग्दीको उत्पादन ?
मोना इन्भेष्टमेन्ट कम्पनीमा विश्वभर रहेका म्याग्देलीलाई आवद्धताका लागि अनुरोध गर्नेछाँै । पहिलो चरणमा म्याग्देलीले सञ्चालन गरेको होटल, रेष्टुरेन्ट, मार्टसहितका खाद्यान्न पसलहरूमा उत्पादन पु¥याउने लक्ष्य छ । अहिले मोनाको सञ्जाल विस्तार भएको ३२ राष्ट्रिय समितिका म्याग्देलीहरूमार्फत उत्पादनको बजारीकरण गर्नेछौ । विश्वबजारमा म्याग्दीको टिम्बुर सहित अन्य जडिबुटीहरू अहिले पनि पुगिरहेको अवस्थामा अब थप फैलाउन सजिलो हुन्छ । मोनाका उत्पादनहरूलाई घर बिदामा गएका म्याग्देलीले कोसेलीको रुपमा समेत प्रशोधन केन्द्रबाटै खरिद गर्ने सुविधाले समेत थप सहज हुन्छ ।
मोनाको नाम प्रयोग गरेबापत् संस्थालाई के दिनुहुन्छ ?
निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । हामी मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न भएको मोना अन्तर्राष्ट्रियको नबौं वार्षिक साधारणसभाबाट समेत अर्गानिक उत्पादनका लागि कम्पनी खोल्न अनुमति दिने निर्णय गरेका छौँ । यससँगै मोनालाई कम्पनीको आम्दानीबाट २ प्रतिशत मुनाफा दिनेछौँ । यस कम्पनीमा मोनाका सदस्यहरू नै आवद्ध हुने भएकाले मोनाको उत्पादन प्रयोग गर्ने, बिक्री गरी आर्जन गरेको मुनाफाबाट मोनालाई नै सहयोग गर्ने नीति अवलम्बन गरिएको छ ।
तपाईँले किसानको समस्यालाई कसरी हेरिरहनु भएको छ ?
नेपालमा किसानले मिहिनेत गरे अनुसारको प्रतिफल पाएका छैनन् । अहिले सुन्तला खेती, दुग्ध व्यवसायमा लागेका किसानको कमाइ राम्रो देखिए पनि कृषिमा व्यावसायिकरण हुन नसक्नु, कृषि कर्जामा किसानको सहज पहुँच नहुनु, मागेजति मल, बीउविजन नपाउनु, यान्त्रिकीकरण हुन नसक्नु, कृषियोग्य जमिन बाँझो, कृषिमा आकर्षित गर्न उत्पादनका आधारमा अनुदानको अभाव,पशु तथा बालीको बीमामा समस्यालगायत छन् । स्थानीय उत्पादनका विभिन्न स्वाद र परिकार उपभोगका बारेमा साना कृषकलाई व्यावहारिक ज्ञान, सीप र प्रविधि पुग्न सकेको छैन ।





