पोखरा/ नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम भएको छ । प्रतियोगितामा पुर्णिमा कला केन्द्र द्वितीय, बागिना कला केन्द्र तृतिय तथा नेपाल तामाङ घेदुङ सिम्पानी इकाइले सान्तन्वा स्थान हासिल गरेका छन् । विजेतालाई क्रमश ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारका साथ ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।
विजेताहरुलाई गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, पुर्वअध्यक्ष धनप्रसाद तामाङ, केन्द्रिय सदस्य सुजन लामा, नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष जसपाल पाख्रिन तामाङ, उपाध्यक्ष रामबहादुर ब्लोन शिबु, नेपाल तामाङ घेदुङ कास्की अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराका अध्यक्ष अमन तामाङ लगातयले वितरण गरेका थिए । प्रतियोगितामा लामा गाउँ इकाइ समाज, नेपाल तामाङ घेदुङ सिम्पानी इकाइ, बिटुडी डान्स स्कुल, नमोबुद्ध युवा क्लब, पुर्णिमा कला केन्द्र, बागिना कला पाठशाला र डिडि नृत्य सेन्टर गरि ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा स्टार स्टुडियोका डान्स कोरियोग्राफर एवम चलचित्र निर्देशक जसु गुरुङ, बरिष्ठ नृत्य निर्देशक अमर गोम्जा, नेपाल तामाङ साँस्कृतिक घेदुङका नृत्य निर्देशक विक्रम तामाङ निर्णायक रहेका थिए ।
कार्यक्रममा चर्चित कलाकार उर्गेन दोङ्ग तामाङ, अम्बर तामाङ र प्रशान्त तामाङले गायन प्रस्तुती राखेको थिए । मन्जुश्री तामाङ बौद्ध समाजका ८ वर्षिय यान्सेन तामाङले स्वागत नृत्य, सिम्पानी समाजको नृत्य, म्हेन्दोमाया समाजबाट माया थोकरले नृत्य, कवि माधव खतिवडाले तामाङ कविता वाचन गरेका थिए । नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराका अध्यक्ष अमन तामाङको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङले गरेकी थिइन् । कार्यक्रममा नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराका उपाध्यक्ष मिलन योन्जनले स्वागत, निर्णायक जसु गुरुङले प्रतियोगिताको नियमबारे प्रकाश पारेका थिए । कार्यक्रमको संचालन संचारकर्मी सन्जय मल्ल र मिस तामाङ पोखरा २०२४ रोशिला ब्लोन तामाङले गरेका थिए ।





