म्याग्दी/पुलस्त्य पुलह क्षेत्र विकास कोषको १० औं अधिवेशनबाट पुनः लिलाबहादुर बानियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शनिवार पुलस्त्य पुलह मन्दिरको प्राङ्गणमा सम्पन्न १० औं अधिवेशन तथा साधारणसभाले बानियाँको अध्यक्षतामा कोषको नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट कोषको उपाध्यक्षमा भीमबहादुर बानियाँ, तेजप्रकाश बानियाँ, सचिवमा माधवप्रसाद रेग्मी, सहसचिवमा रामबहादुर बानियाँ र कोषाध्यक्षमा रामचन्द्र शर्मा पौडेल निर्वाचित भएका छन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा टेकबहादुर बानियाँ, निवर्तमान वडा अध्यक्ष लक्ष्मण बानियाँ, रामबहादुर विक, जुना बानियाँ, कमला बानियाँ, यामबहादुर थापा दर्जी र रामचन्द्र पौडेल निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ठाकुरप्रसाद आचार्यले बताए ।
अधिवेशनको उद्घाटन गर्दै अनन्तश्री विभूषित जगतगुरु रामानुजाचार्य त्रिदण्डी स्वामी हिमालयन बाबाजीले पुलस्त्य पुलह क्षेत्र गौमुखी आकारमा भएकाले आफैमा प्रसिद्ध रहेको चर्चा गरेका थिए । उनले पुलस्त्य पुलह क्षेत्रको दीगो रुपमा विकास गर्नका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउँदै परापूर्वकालमा पनि यस क्षेत्रका स्थानीयवासीले यज्ञादी अनुष्ठान लगाएर पुलस्त्य क्षेत्रलाई जोगाएर राखेको भन्दै प्रशंसा गरे ।
पुलस्त्य पुलह क्षेत्रले अहिलेसम्म दुःख काटेर पर्खिएर बसिरहेको बताउँदै अहिलेको पुस्ताले यस क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिका वडानम्बर ५ का वडा अध्यक्ष गोविन्द बानियाँले ऐतिहासिक तथा धार्मिक महत्वको पुलस्त्य पुलह क्षेत्रको पुनरुत्थानका लागि सबै एक भएर लाग्नुपर्ने आवश्यकता औंल्याएका थिए । उनले सडक विस्तार तथा स्तरोन्नतिलगायत पूर्वाधार विकासमा वडा र नगरपालिकाले आवश्यक पहल गर्ने बताउँदै पुलहाश्रम क्षेत्रको विकास गर्न सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए ।
अधिवेशन तथा साधारणसभाको उद्घाटन सत्रमा कोषका सचिव माधवप्रसाद रेग्मीले प्रगति र कोषाध्यक्ष रामचन्द्र शर्मा पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही अवसरमा कोषको गत मंसिर १४ गते सम्पन्न वैठकको निर्णयअनुसार पुलस्त्य पुलह क्षेत्र विकास कोषको संरक्षकमा अनन्तश्री विभूषित जगतगुरु रामानुजाचार्य त्रिदण्डी स्वामी हिमालयन बाबाजीलाई बनाउने प्रस्ताव साधारण सभाबाट सर्वसम्मत पारित भएको थियो भने हिमालयन बाबाजीले पनि संरक्षकत्व सहर्ष स्वीकार गरी ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा बेनी नगरपालिका ५ नम्बर वडाका निवर्तमान वडाध्यक्ष लक्ष्मण बानियाँ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँ (रामु) र पुलाचौर ढाँडपानी आमा समूहका अध्यक्ष शान्ति शर्माले मन्तव्य व्यक्त गर्दै पुलस्त्य पुलह क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए ।
कार्यक्रम पुलस्त्य पुलह क्षेत्र विकास कोषका अध्यक्ष लिलाबहादुर बानियाँको अध्यक्षता, निवर्तमान सदस्य तेजप्रकाश बानियाँको स्वागत र रामबहादुर बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।





