स्याङ्जा/ नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा सवा करोड दीप प्रज्वलन गरिएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा आयोजना गरिएको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको सातौ दिनमा दिप प्रज्वलन गरिएको हो । दीप नवग्रह मन्दिर, षट्कोण शिवालय र पञ्चकन्या मन्दिरमा एकै चोटी प्रज्वलन गरिएको हो । दीप प्रज्वलनमा हजारौको सख्यामा भक्तजनको सहभागिता रहेका थियो ।
पालिकाले गतवर्षको शिवरात्रीको दिनमा सुरु गरेर एक बर्षमै देशकै पहिलो नवग्रह मन्दिर निर्माण गरेको हो । फागुन १४ गते शिवरात्रीसम्म चल्ने धार्मिक महोत्सव १४४ वर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर गरिएको हो । नवग्रह मन्दिरमा गरिएको धार्मिक महोत्सवमा दैनिक हजारौ भक्तजनले पूजाआजा तथा दर्शन गरेका छन् । अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको सातौँ दिन सम्म ७५ हजार भन्दा धेरै भक्तजनले पूजाआजा तथा दर्शन गरेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । छिमेकी भारतलगायत पुर्वको झापा देखी पश्चिमको कञ्चनपुर सम्मका भक्तजनले यहाँको नवग्रह मन्दिरमा पूजाआजा र दर्शन गरेको तिवारीको भनाई छ । दीप प्रज्वलनसँगै यहाँ चार बेदको पाठ परायण, गायत्री मन्त्रद्वारा सवा लाख हवन, धार्मिक अन्र्तक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन चलिरहेको छ ।

अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्वय कृष्ण महाराज गूरु प्रमुख बाचक रहेका छन् । डाक्टर केएन स्वामीले समेत शनिबार धार्मिक प्रवचन दिएका थिए । घर तथा शक्तिपीठमा नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा नेपालमै नवग्रह मन्दिरको दर्शन तथा पूजा अर्चना गर्न पाइएको हो । १५७ रोपनी क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभूज आकारको आकाशतर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ । पिलरको १४ फिटमा सुर्य, शुक्र, केतु, चन्द्र, मङगल, बुध, शनि, बृहस्पती र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ । नवग्रह मन्दिरसँगै षट्कोण शिवालय बनाइएको छ भने षट्कोण शिवालयको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङग (सात क्वीन्टल) र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ । यस मन्दिरमा षट्कोण शिवालयको एक छेउबाट प्रवेश गरेर गणेश, कुलदेवता (तेलको पोखरी), इस्टदेवताको पूजा गरेर बीचमा रहेको पञ्चमुखी शिवलिंगको दुई पटक घुमेर पूजा गरेसँगै हनुमान, लक्ष्मी, कालाभैरवको पूजा गरेर बाहिर निस्किने बनाइएको छ । षट्कोण शिवालयको पूजा पश्चात देवरे छेउँबाट हिडेर करिब तीन सय मिटर टाढा रहेको वर्षौदेखि पूजाअर्चना गरिदै आएको पञ्चकन्याको मन्दिरको दर्शन गरिने छ । त्यस पश्चात विपरितबाटो दियो आकारको पूर्वतर्फ फर्केको नवग्रहमन्दिर पुगिने छ । नौ चक्रमा रहेको मन्दिरको एक ठाउँबाट छिरेर परिक्रमा सहितको पूजा गरेपछि सुरुङबाट बाहिर निस्कने छ ।
यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ भने यस मन्दिरमा विवाह नहुने हुदाँ सँगै रहेको राधाकृष्ण मन्दिरको मर्मत समेत गरिएको छ । । यहाँ षट्कोण शिवालयका मुर्तिको अस्तित्वमा रहेको कर्णको मुर्ति नवग्रह तर्फ फर्कायर करिब तीन सय मिटर पूर्वको जंगलमा राखिएको छ । यहाँ आउने हरेक भक्तजनलाई रुद्राक्षको माला लगाउने ब्यवस्था गरिएको छ भने भोकै आउनेलाई निःशुल्क खानाको ब्यवस्था गरिएको छ । अनुष्ठानसँगै अब नवग्रह मन्दिर शनिबार मात्र खुला हुनेछ भने नौमध्ये एक चक्रमा भने हरेक दिनमा पनि पूजा गर्न सकिने छ ।





