स्याङजा/ सामाजिक विकास कार्यालय स्याङजाले चापाकोट नगरपालिका–६ मा रहेको राधा दामोदर आरोग्य आश्रममै पुगेर त्यहाँ रहेका ज्येष्ठ नागरिकहरुको लागि ३ लाख अनुदान उपलब्ध गराएको छ । कार्यालय प्रमुख जीवन पौडेल र आश्रमका अध्यक्ष रामचन्द्र सिग्देलले अनुदान उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा कार्यालय प्रमुख जीवन पौडेलले ज्येष्ठ नागरिकहरुलाई सहज, मर्यादित तथा सम्मानपूर्ण रुपमा जीवनयापन गर्नमा सहयोग गरी उनीहरुको दैनिक जीवनयापनमा सहजता ल्याउनको लागि आश्रमलाई संचालन अनुदान उपलब्ध गराइएको बताए । वडाध्यक्ष तारा पोख्रेलले स्थानीय तहको सरकारले माथिल्लो तहका सरकारसँगको सहकार्यमा यस्ता सामाजिक काम गर्न तयार रहेको र स्याङ्जा सदरमुकामदेखि टाढा रहेको ज्येष्ठ नागरिक आश्रममै आएर सम्झौता गर्नु कार्यालयको अनुकरणीय कार्य रहेको उल्लेख गरे । कार्यक्रममा सामाजिक विकास कार्यालयका लेखा अधिकृत मित्रबन्धु पौडेल र आश्रमको तर्फबाट विभिन्न वक्ताहरुले ज्येष्ठ नागरिक देशका अमूल्य सम्पति रहेको र उहाँहरुको सामाजिक सुरक्षाको साथ संरक्षण गर्दै ज्ञान, सीप र अनुभवलाई सबैले अनुसरण गर्नुपर्ने कुरामा जोड दिएका थिए । अनुदान रकम जेष्ठ नागरिकको खाद्यान्न, औषधोपचार लत्ताकपडा तथा अन्य अत्यावश्यक सामाग्रीहरुमा खर्च गरिने छ । हाल उक्त आश्रममा २२ जना ज्येष्ठ नागरिक बस्दै आएका छन् ।





