म्याग्दी/नेपाल सरकारले हरेक नागरिकको लागि अनिवार्य गरेको राष्ट्रिय परिचय बनाउन हतार गरे पनि छपाइ भएर आएका कार्ड लिन नजाँदा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा २१ हजारभन्दा बढी राष्ट्रिय परिचय थन्किएका छन् । राहदानी तथा विभिन्न सेवा लिन जिल्ला प्रशासनमा आएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भरेको लामो समयसम्म पनि परिचयपत्र लिन नआएको २१ हजार ५ सय परिचयपत्र वितरण हुन सकेको छैन ।
जिल्ला प्रशासनमा अहिलेसम्म २७ हजार राष्ट्रिय परिचयपत्र तयार भएको कम्प्यूटर अपरेटर बिष्णु खत्रीले बताइन् । ।‘सम्बन्धित ब्यक्तिले फारममा उल्लेख गरेको मोवाइलमा एसएमएस पनि जान्छ, हामीले फारम भर्ने बेलामै आफ्नो विवरण लिएर आउन जानकारी गराएका हुन्छौँ,’ कम्प्यूटर अपरेटर खत्रीले भनिन् । परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनःबायोमेट्रिक गर्नुपर्ने भएकाले परिचयपत्र वितरणको संख्या न्यून भएको भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दैनिक नयाँ परिचयपत्रका लागि ६० देखि ८० जनाको विवरण संकलन हुन्छ भने वितरण दैनिक ३० देखि ४५ जना सेवाग्राहीको हुन्छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कार्यालयमा रहेका परिचयपत्रलाई स्थानीय तहसँग समन्वय गरी वडास्तरमै पुगेर वितरणका लागि आवश्यक पहल गरेको बताए । ‘परिचयपत्र चाङ लाग्दा भण्डारण गर्नुपरेको छ, आफ्नो परिचयपत्र लैजानुस् भनेर सूचनासमेत गरिएको छ,’ प्रजिअ ढकालले भने । फिङ्गर प्रिन्ट’ रुजु गर्न अनिवार्य र पिन नम्बर पनि रहेकाले विभागबाट आवश्यक उपकरण मागिएको छ । यसैबीच जिल्लाका ६ वटै स्थानीय तहको वडास्तरमै पुगेर सञ्चालित शिविरमा ३५ हजारभन्दा बढीको विवरण संकलन गरेपनि हालसम्म छपाइ भएर परिचयपत्र प्राप्त भएको छैन । शिविरमा जिल्ला प्रशासन कार्यालयमा कार्ड आउने जानकारी गराएपनि लामो समयसम्म नआउँदा सेवाग्राही रित्तै फकिने गरेका छन् ।





