बागलुङ/मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ र रुकुम (पूर्व)को सिमाना पातिहाल्ने क्षेत्रमा भएको हिमपातसंगै आन्तरिक पर्यटनमा वृद्धि भएको छ । भारी हिमपातका कारण शुक्रबार र शनिबार मध्यपहाडी लोकमार्ग नै अवरुद्ध भएको पातिहाल्नेमा आइतबारदेखि सवारी आवागमन सुचारु भएको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको पातिहाल्नेमा हिमपातमा रमाउन बागलुङ, रुकुम, गुल्मी लगायतका क्षेत्रबाट आन्तरिक पर्यटकको ओइरो लागेको छ । हिउँ हेर्न र खेल्न शनिबार पारेर बुर्तिवाङ अस्पतालको टिम नै पातिहाल्नेमा पुगेको थियो । हिउँस्थलमा भेटिएका डा. संघर्ष घिमिरेले भने– ‘पहिलोपटक हिँउ हेर्ने मौका मिल्यो, साह्रै रमाइलो रहेछ ।’
हिँउ परेसंगै पर्यटकको घुँइचो लाग्दा व्यवसायीलाई भ्याइनभ्याई भएको छ । पातिहाल्नेमा २ वटा होटल छन् । एक होटल संचालक कुशल घर्तिले भने– ‘गाडी रोकिँदा त सबैलाई सुताउन सकिएन, अन्य दिनका पर्यटकलाई भोकै बस्नुपरेको छैन, निकै चहलपहल छ, राम्रो व्यापार भएको छ ।’
रुद्रावती बहुमुखी क्याम्पस गुल्मीबाट विद्यार्थीहरुको टिम नै हिँउ खेल्न पातिहाल्ने पुगेको थियो । क्याम्पसका स्ववियू सभापति अनिष पाठकले हिउँ नपरेको बेला पनि रमणिय ठाउँ भएको र हिउँ पर्दा झनै राम्रो भएकोले समुहनै हिउँ खेल्न आएको प्रतिक्रिया दिए ।
समुन्द्री सतहदेखि ३ हजार एक सय मिटर उचाइमा रहेको सो क्षेत्रमा खर्वाङबाट हिँउँ खेल्न पुगेकी एञ्जल बस्नेतले निकै रमाइलो भएको अनुभव सुनाइन् ।
पातिहाल्नेसंगै रोल्पाको तिलाचन ताल, बागलुङको निसिखोलामा पर्ने रिगा तालमा पनि पर्यटक पुग्ने गरेका छन् । स्काभेटरको प्रयोग गरेर सडकको हिँउ हटाएपनि अन्य स्थानमा फागुन महिनाभर हिँउ रहने स्थानीयले बताएका छन् । ढकमक्क गुराँस समेत फुलेकोले जेठसम्मै पातिहाल्नेमा पर्यटकको घुँइचो लाग्ने गर्छ ।








