बागलुङ/पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार बागलुङ कालीका मन्दिरमा पूजा गरेका छन् । पारिवारिक र धार्मिक भ्रमण भनेर आएका शाहले बुधवार दिउसो १ बजे झण्डै २५ मीनेट मन्दिरको ढोका थुनेरै भित्र पसेर पूजा गरेका थिए ।
बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले उनलाई मन्दिर भित्रै पसेर पुजा गर्ने प्रबन्ध गरेको थियो । उनको सुरक्षाको पनि कडा व्यवस्था थियो । राप्रपा बाहेक कांग्रेस र कम्पयुनिष्टका नेता तथा कार्यकर्ता पनि शाहको स्वागतमा पुगेका थिए ।
सडकबाट ७ सय मीटर पैदल यात्रा गरेर उनले मन्दिर पुगेका थिए । बाटोमा सयौं नागरिक उपस्थित भएर शाहको स्वागत गरेका थिए । पञ्चेबाजा, भजन समूह र अन्य झाँकीसहित उपस्थित समूहले शाहको जयजयकार गरेका थिए ।
स्थानीय जब्बरबहादुर लामिछानेको संयोजकत्वमा ५ सय १ सदस्य रहेको नागरिक स्वागत मूल समारोह समिति मार्फत स्वागतको प्रबन्ध गरिएको थियो । उक्त समिति सहित शिव सेवा लेखेको टिसर्ट र ज्याकेट लगाएका र स्वयंसेवक समूहले घेराहालेर उनलाई मन्दिर पु¥याएका थिए । राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ लगायतको नारा लगाएका युवाहरु शाहको अघि र पछि लागेका थिए ।
पुजा गरिसकेपछि स्वागत समिति अन्र्तगत कार्यसम्पादन समितिका पदाधिकारीले शाहलाइ भेटेर सक्रिय हुन सुझाव समेत दिए । उनीहरुलेपनि ‘राजा आउ देश बचाउ’ भनेका थिए । शाहले सार्वजनिक अभिव्यक्ति दिएनन् । शाहलाई स्वागत गर्न पर्वतबाट पनि राप्रपाका कार्यकर्ता, स्वतन्त्र नागरिक र राजनीतिक दलका सदस्य भएर पनि असन्तुष्टहरु आइपुगेका थिए ।
बुधबारै शाह बागलुङ कालीकाबाट निस्केपछि म्याग्दीस्थित गलेश्वरमा पनि दर्शन गर्न गएका छन् । उनीसँगै उनको परिवारका केही समस्य पनि आएका थिए । शाह ढोका थुनेर भित्र पुजा गर्न जाँदा उनीहरु भने मन्दिरको बाहिरै बसेका थिए ।











