सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धौलागिरि आँखा अस्पताललाई लायन्सको परियोजनामार्फत झण्डै ९० लाखका उपकरण हस्तान्तरण

धौलागिरि आँखा अस्पताललाई लायन्सको परियोजनामार्फत झण्डै ९० लाखका उपकरण हस्तान्तरण

लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल बागलुङको पहलमा लायन्स क्लब अन्तर्राष्ट्रियले धौलागिरि आँखा अस्पताललाई ८० लाख ९० हजार ९ सय ८४ रुपैयाँका उपकरण हस्तान्तरण गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८१, बिहिबार

बागलुङ/नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित धौलागिरि आँखा अस्पताल बागलुङलाई झण्डै एक करोडका उपकरण हस्तान्तरण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल बागलुङको पहलमा लायन्स क्लब अन्तर्राष्ट्रियले बिहिबार धौलागिरि आँखा अस्पताललाई ८० लाख ९० हजार ९ सय ८४ रुपैयाँका उपकरण हस्तान्तरण गरेको हो ।
लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले नेत्र ज्योति संघ बागलुङका सपभाति विन्दुसागर राजभण्डारी र आँखा अस्पतालका नेत्र सहायक डा. सविना बराललाई एन्टेरियर भिट्रेक्टोमीको साथ फाको मेसिन, बी स्क्यान, अटो रेफ केराटोमीटर, अटो लेन्सोमिटर, गोनियो लेन्स, स्लिट बत्ती एलईडी, म्यानुअल केराटोमिटर, अप्लानेसन टोनोमिटर, नाइन्टी डि लेन्सलगायत उपकरण हस्तान्तरण गरेका हुन् ।
सुसज्जित धौलागिरी आँखा अस्पताल परियोजनाअन्तर्गत लायन्स, बागलुङ नगरपालिका र आँखा अस्पतालको साझेदारीमा उपकरण खरिद गरिएको हो । उपकरण खरिदमा लायन्स अन्तर्राष्ट्रियले ६१ लाख ७७ हजार ८ सय ३४ रुपैयाँ, बागलुङ नगरपालिकाले १५ लाख र आँखा अस्पतालले ४ लाख ३ हजार १ सय ५० रुपैयाँ साझेदारी गरेको लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालका प्रोजेक्ट चियरपर्सन दुर्गा कुँवरले जानकारी दिए ।
परियोजनामार्फत प्राप्त आधुनिक उपकरणले आँखाको उपचारमा सहजता ल्याउने धौलागिरि आँखा अस्पतालका नेत्र सहायक डा. विनम लामिछानेले जानकारी दिए । ‘अहिलेसम्म हामीले चिरेर आँखाको अप्रेसन गर्दै आएका थियौ, फाको मेसिन प्राप्त भएपछि अब आँखाको अप्रेसन गर्दा कम्प्युटर प्रविधि अर्थात् सानो प्वाल बनाएर लेन्स फोल्ड गरेर राख्न सकिन्छ,’ लामिछानेले भने । फाको मेसिन धौलागिरि क्षेत्रमै पहिलोपटक बागलुङमा ल्याइएको हो । यो प्रविधिले सुगर प्रेसरका बिरामीलाई अप्रेसन गर्दा राम्रो हुने डा. लामिछानेको भनाई छ । अब कम्प्युटर प्रविधिबाट उपचार गर्न पोखरा, भैरहवा र काठमाडौं जान नपर्ने लामिछानेले बताए । साथै, आँखाको पावर जाँच गर्ने अटो मेसिन समेत अस्पताललाई प्राप्त भएको हो ।
२०४९ सालमा स्थापना भएको नेपाल नेत्र ज्योति संघले २०७७ सालदेखि धौलागरि आँखा अस्पताल संचालनमा ल्याएको हो । अस्पतालले साविक धौलागिरि अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङसंगै छिमेकी गुल्मी जिल्लाका नागरिकलाई सेवा दिँदै आएको छ । अस्पतालले हिमालयन आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञहरुको सहयोगमा बिरामीहरुको उपचार तथा शल्यक्रिया गर्दै आएको छ ।
अप्रेसनका लागि उपकरण प्राप्त गरेको अस्पतालमा नेत्ररोग विशेषज्ञको भने अभाव छ । शिविरमार्फत समुदायसम्म पुगेर आँखाको उपचार गर्दै आएको अस्पताललाई कार्यक्षेत्रमा अप्रेसन गर्दा उपकरणको अभाव खट्किने गरेको नेत्र ज्योति संघ बागलुङका सपभाति विन्दुसागर राजभण्डारीले बताए । अस्पतालाई उपकरण सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिँदै राजभण्डारीले उपकरणको सदुपयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले स्थानीय सरकारसंग सहकार्य गरेर काम गर्न लायन्स तयार रहेको बताए । ‘उपकरण पाउनुभन्दा पनि यसलाई कायम राख्नु ठूलो कुरा हो,’ बुर्लाकोटीले भने, ‘उपकरणको सही सदुपयोगसंगै सहकार्यबाट मात्र धेरैभन्दा धेरै नागरिकलाई हामीले सेवा दिन सक्छौं ।’
बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले अस्पताललाई प्राप्त उपकरणहरुको अधिकतम् प्रयोग र मर्मत सम्भारका लागि नगरपालिका प्रतिवद्व रहेको बताए । आँखा अस्पतालसंगै धौलागिरि प्रादेशिक अस्पतालको क्षमता अभिवृद्विको आवश्यकता औल्याउँदै खड्काले लायन्सलाई परियोजनामार्फत सहयोगको प्रस्ताव गरेका थिए ।
डिस्टिक गर्भनर निरा बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय सचिव हरि प्रसाद शर्मा, गण्डकी प्रदेश उपसभापति ध्रुव बहादुर केसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालका प्रोजेक्ट चियरपर्सन दुर्गा कुँवर र सञ्चालन रिजन चियरपर्सन नारायण आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->