म्याग्दी/जिल्लाको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनका लागि चार विद्यार्थी संगठनले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् ।
नेपाल विद्यार्थी संघबाट सभापतिमा संगम चोखाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुबाट दिनेश खत्री, अखिल क्रान्तिकारीबाट सन्दिप खत्री र अखिल नेपाल विद्यार्थी यूनियन समाजवादीबाट मनिषा दर्जीले उम्मेदवारी दर्ता भएको क्याम्पस निर्वाचन समितिका संयोजक पशुपतिनाथ ढकालले जानकारी दिए ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र विप्लप नेतृत्वको नेकपाका विद्यार्थी संगठनहरु चुनावी मैदानमा छन् ।
भोलि (फागुन २८ गते) उम्मेदवारको नामावली उपर दाबी विरोध हुनेछ । भोलि नै दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ ।
आगामी चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने कार्यतालिका रहेको छ । २०७९ सालमा स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संघ संगठनहरुकाबीच विवाद भएपछि स्थगित भएको थियो । क्याम्पस प्रमुख श्रीधर सुबेदीले निर्वाचनका सम्पूर्ण प्रक्रियाहरु कार्यतालिका अनुसार नै अगाडी बढेको बताए ।
यस्तै, म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका एल्डीस पुनसहित प्यानल निर्विरोध निर्वाचित भएको छ ।
मंगला–१ कुहुँ थाइवाङ निवासी पुनसँगै सचिवमा विन्दा रोका काषाध्यक्ष मञ्जिना बुढाथोकी, सदस्यहरु सचिना किसान, सलोन पुन र रामकुमारी थापा समेत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक कमलबहादुर भण्डारीले बताए ।

पश्चिम म्याग्दीको शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसको स्ववियू निर्वाचनका लागि चार विद्यार्थी संगठनले निर्वाचनका लागि संगठन दर्ता गरेपनि अनेरास्ववियुको प्यानलविरुद्ध कसैले पनि उम्मेदवारी भने दिएनन् ।
म्याग्दीको सदरमुकाम बाहिरको एक मात्रै क्याम्पस मंगलामा यसअघि सम्पन्न दुई स्ववियू निर्वाचन नेकपा एमाले निकट अनेरास्ववियुले निर्वाचन जित्दै आएको थियो ।
सर्वसम्मत भएकालाई कार्यतालिका अनुसार सपथ ग्रहण गरिने क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताए । स्ववियु सभापति पुनले क्याम्पसलाई समुदायमा स्थापित गर्न र विद्यार्थीको हकहितका लागि निरन्तर सक्रिय हुने बताए । मंगला शिक्षा क्याम्पसमा ११२ जना मतदाता छन् ।





