सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङका ८ हजार ८ सय ४५ विद्यार्थी एसईईको तयारीमा

बागलुङका ८ हजार ८ सय ४५ विद्यार्थी एसईईको तयारीमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०८१, बिहिबार

बागलुङ/चालु शैक्षिक वर्षको एसईई परीक्षा चैत ७ गतेबाट शुरु हुदैछ । यो परीक्षाका लागि ४ हजार ८ सय ४५ जनाले परीक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाश बन्धु अर्यालले जानकारी दिए ।
यो वर्ष जिल्लाका १ सय ४६ विद्यालयका विद्यार्थीले ३१ परीक्षा केन्द्रबाट परीक्षा दिन लागेका हुन् । त्यसका लागि सबै केन्द्रमा आवस्यक सामाग्री पठाइसकिएको छ । प्रश्नपत्र भने अन्तिम चरणमा मात्रै जानेछन् । परीक्षाका लागि ३ हजार ७ सय ९८ जना साधारणतर्फ नियमित विद्यार्थी सहभागि हुनेछन् । त्यस बाहेक प्राविधिक धारतर्फ २ सय २५ विद्यार्थी सहभागि छन् । ७ सय ७७ जना ग्रेडवृद्दिका लागि परीक्षामा सहभागि हुनेछन् ।
यो वर्ष शैक्षिक शत्र २०७८÷०७९का विद्यार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ भने अघिल्लो शैक्षिक शत्रका विद्यार्थीहरुको नियमित ग्रेड वृद्दिको मौका हुनेछ । बागलुङमा १० वटा विद्यालयले प्राविधिक धारको परीक्षा पनि दिनेछन् । पशु विज्ञानतर्फ ३, बाली विज्ञानतर्फ ३, सिभिल इन्जिनियरतर्फ २ र कम्प्युटर इन्जिनियरतर्फ २ वटा विद्यालयले परीक्षा दिन लागेका हुन् ।
यो वर्ष अपांगता भएकातर्फ धौलागिरि बहिरा माविबाट १५ जना बहिरा विद्यार्थीले परीक्षा दिन लागेको विद्यालयका प्रअ रेशम श्रीषले बताए । त्यस बाहेक बलेवास्थित जनता–धन माविबाट २ जना दृष्टीविहिनले पनि परीक्षा दिन लागेका छन् । खुला विद्यालयतर्फ विद्यामन्दिर माविबाट २३ रेगुलर, ग्रेड वृद्दि १२ जना गरी ३५ जनाले परीक्षा दिन लागेको विद्यालयका शिक्षक भीमप्रसाद गौतमले बताए ।
फलामे गेट मानिने तत्कालिन एसएलसी परीक्षाको स्वरुप फेरिएको छ । अन्तिम परीक्षाको रुपमा कक्षा १२ लाई लिन थालेपछि कक्षा १० को परीक्षा एसईईको रुपमा आएको हो । माध्यामिक तहको शिक्षा स्थानीय तहमा आएपछि यसको रौनकता पनि हटेको हो । पढाइको सबै भार स्थानीय तहमा पुगेपनि शिक्षा विकास तथा समन्वय इकाइले परीक्षाको चाँजोपाँजो मिलाएको हो । परीक्षाका लागि चाहिने सुरक्षा व्यवस्था मिलाउन इकाइले जिल्ला प्रशासन र प्रहरीसँग संयुक्त बैठक पनि बसिसकेको अर्यालले जानकारी दिए ।
परीक्षाका लागि हरेक केन्द्रमा ७ जना सम्म सुरक्षाकर्मी दिने व्यवस्थापन भएको छ । त्यस बाहेक प्रश्नपत्र र परीक्षा सकिएपछिको उत्तर पुस्तिका पनि प्रहरीमार्फत सुरक्षित बनाएर सदरमुकाम ल्याउने योजना बनाइएको हो । परीक्षालाई मर्यादित बनाउन सबै पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र जनप्रतिनिधि तथा स्थानीय प्रहरी चौकी समेतमा समन्वय गरि सकिएको उनले जानकारी दिए ।
केही वर्ष अघिसम्म परीक्षा केन्द्र र केन्द्राध्यक्ष बन्नका लागि होड चल्ने गरेकोमा इकाइले होम सेन्टर नरहने गरी व्यवस्थापन गरेपछि तोकिएका केन्द्रमा सहजै परीक्षा संचालन हुन थालेको छ । त्यसका लागि सम्बन्धित विद्यालयमा आफ्ना विद्यार्थीले परीक्षा दिन नपाउने र केन्द्र रहेकै विद्यालयको प्रधानाध्यापक केन्द्राध्यक्ष बन्ने भएपछि परीक्षा मर्यादित र सहज बन्न थालेको हो । यो क्रमले परीक्षा संचालन सहज भएपछि निरन्तरता दिइएको समेत अर्यालको भनाई छ । केन्द्राध्यक्षलाई इकाइले अभिमुखीकरण समेत गराउने गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->