स्याङ्जा/पुतलीबजार नगरपालिका ५ स्थित पौवेगौडेमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ । पौवेगौडे, टक्सार र ठूलाडिही, कास्कीको भरतपोखरी, निर्मलपोखरी र क्रिस्ती तथा तनहुँको शुक्लागण्डकी नगरपालिको बाबियाडाँष, लामागाउँ समेतका स्थानीय जनतालाई सेवा पुरयाउने उदेश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।
प्रहरी चौकीको स्थापना गर्दै संघीय सांसद राजु थापाले यस क्षेत्रका शान्ति सुरक्षा र अमनचैनको चौकी स्थापना गरिएको बताउँदै स्थानीय जनताको पनि सहयोग आवश्यक भएको बताए । यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदी, प्रजिअ सुनिता नेपाल, प्रहरी प्रमुख शालिकराम शर्मा लगायतले प्रहरी चौकी स्थापनापछि यो क्षेत्र मदिरा, लागुपदार्थको दुव्र्यसनमुक्त क्षेत्र हुने विश्वास व्यक्त गरे ।
पुरानो स्वास्थ्य चौकीमा स्थापना गरिएको प्रहरी चौकीमा हवल्दार ओम प्रकाश थापाको कमाण्डमा चार जना प्रहरी रहेका छन् । प्रहरी चौकीका लागि एक थान मोटरसाइकल र आवश्यक बन्दोबस्तीका सामान वडा कार्यालयले उपलब्ध गराएको छ ।
प्रहरीका लागि आवश्यक पर्ने इन्धनका लागि मासिक एक÷एक हजार रुपैयाँ उपलब्ध गराउने स्थानीय समाजसेवी शैलेन्द्रजंग कार्कीले प्रतिबद्धता जनाउँदै एकमुष्ट नगद ५ हजार रुपैयाँ प्रदान गरेका छन् ।





