शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका सबै महिला दलित जनप्रतिनिधि एकै ठाउँमा, नेतृत्व विकास गर्दै सक्षमता अभिवृद्धिमा जोड

स्याङ्जाका सबै महिला दलित जनप्रतिनिधि एकै ठाउँमा, नेतृत्व विकास गर्दै सक्षमता अभिवृद्धिमा जोड


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०८१, बिहिबार

स्याङ्जा/  जातीय विभेद उन्मुलन सम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा जिल्लाका दलित महिला जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ ।

पूर्वमन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य सिताकुमारी सुन्दासको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्याङ्जा जिल्लाका स्थानीय तहका दलित महिला वडा सदस्यहरु र कार्यपालिका सदस्यहरु सहित करिब १०० जनाको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि सुन्दासले जातीय र लैङ्गिक विभेद नै विकास र समृद्धिको बाधक दक रहेको बताउदैँ दलित महिला जनप्रतिनिधिहरुले आफ्नो क्षमता वृद्धि गरी सामाजिक जागरण ल्याउनुपर्ने कुरामा जोड दिइन् । उनले अझै पनि समाजमा जातीय विभेद तथा छुवाछुत कायम रहेको बताउँदै सचेतना कार्यक्रम एवम् कानूनी प्रक्रियाबाट त्यस्ता समस्याको समाधान गर्नु पर्ने बताइन् । ‘दलित महिलाहरुले समग्र देशको विकास र समृद्धिको लागि आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिन सक्षम रहेको हुदाँ राजनैतिक परिवर्तनका उपलब्धिहरु रक्षा गर्दै संविधानको कानून बनाएर पूर्ण कार्यान्वयन गर्न सकेमा मात्र दलित समुदाय र समग्र नेपालीहरुको अधिकार रक्षा हुन सक्छ’, उनले भनिन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख खडकराज सुवेदीले सामाजिक रुपान्तरणको लागि कुनै पनि विभेद अन्त्य गर्दै दलित महिलाहरुको बहुआयामिक क्षेत्रमा सक्षमता अभिवृद्धि गर्नु पर्ने कुरामा जोड दिए । कार्यक्रममा भिरकोट नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्मचार्यले स्थानीय सरकारले सिमान्तकृत समुदायको सशक्तिकरण र आयआर्जनमा टेवा पुर्याउने गरी नीति, कार्यक्रम बनाएको बताए । आगामी दिनमा तीन वटै तहका सरकारको समन्वय र सहकार्यमा दलित समूदायको क्षमता विकास सहित छुवाछुत अन्त्यको लागि कार्यक्रमहरु अगाडी बढाउनु पर्ने उनको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दलित महिलाका हक र अधिकार सम्बन्धमा भएका कानूनी र संवैधानिक व्यवस्थाबारे जानकारी दिदैँ व्यक्तिगत घटना दर्ता र नागरिकतामा दलित समुदायले झेलेका समस्या समाधानका उपायबारे सहजिकरण गर्दै समाजमा सचेतनाबाट नै छुवाछुत, बालबिबाह लगायतका सामाजिक विकृतिको अन्त्य गर्न सकिने बताइन् । अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङले जातीय विभेदको अन्त्य गर्दै सामाजिक न्याय र समानता सहितको समुन्नत समाज बनाउने सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने बताइन् ।
कार्यक्रममा योजना तर्जुमा र बजेट निर्माण प्रकियामा दलित महिला जनप्रतिनिधिको भूमिका सम्बन्धमा प्रशिक्षक लिलबहादूर रम्पालले सहजिकरण गरेका थिए भने जातीय विभेद र सोको कानूनी व्यवस्थाबारे प्रहरी कार्यालय दहथुमका इन्चार्ज प्रविण कंडेले प्रशिक्षण दिएका थिए । कार्यक्रम भिरकोट नगरपालिका उपप्रमुख भगवती देवी रेग्मी, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक सालिकराम पौडेल, जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य दलित महिला वडा सदस्य जिल्ला संयोजक सविता सिंह विश्वकर्माले गरेकी थिइन् । कार्यक्रमको समन्वय भिरकोट नगरपालिका र दलित समुदायको परम्परागत कला तथा सीप विकास संस्थाले गरेको थियो । हरेक वर्ष मार्च २१ तारिक दिनमा जातीय विभेद उन्मुलन सम्बन्धी अन्तराष्ट्रिय दिवस मनाइन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->