सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कहिले बन्छ जैमिनी नगरपालिकाको घर ?

कहिले बन्छ जैमिनी नगरपालिकाको घर ?

‘तीन वर्षमा ५० प्रतिशत मात्रै काम गर्नेले अबको एक वर्षमा पुरा गर्छ भन्ने मलाई विश्वास लागेको छैन’ नगरप्रमुख नरबहादुर पुनले भने, ‘काम गर्छु भन्ने, पेस्की लगेपछि हराउने गर्दारहेछन् ।’


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०८१, शुक्रबार

बागलुङ/नगरपालिका बनेको ८ वर्ष भयो । अहिलेसम्म भाडाका घरमा बसेको छ । मासिक डेढ लाखबढी त घर भाडामा सकिन्छ । यो समस्या हो जैमिनी नगरपालिकाको ।

तोकिएको समयमा काम गरेको भए गत माघ २१ गते नै भवन बनिसकेर नगरपालिका सर्नु पर्ने थियो । तर तोकेको समयमा ५५ प्रतिशत मात्रै काम गरेर ठेकेदारले फेरी म्याद थपेका छन् । तीन वर्षभित्र जैमिनीको प्रशासकीय भवन बनाउन ठेक्का लिएको लक्ष्यमा ठेकेदार कम्पनी असफल भएको छ । ठेकेदारले अलपत्र छाड्दा प्रशासकीय भवनको ढलान मात्रै देखिन्छ । जैमिनी नगरपालिकाले २०७८ साल माघको २१ गते सम्झौता गरेर गत माघमा पुरा गर्ने लक्ष्य राखेको भवन अहिले अलपत्र परेको हो ।

ठेकेदार कम्पनीले पुनः एक वर्षका लागि म्याद थप गरेको छ । तर तोकिएको समयमा सकिनेमा नगरपालिकाका जनप्रतिनिधि नै अन्यौलमा छन् । ‘तीन वर्षमा ५० प्रतिशत मात्रै काम गर्नेले अबको एक वर्षमा पुरा गर्छ भन्ने मलाई विश्वास लागेको छैन’ नगरप्रमुख नरबहादुर पुनले भने, ‘काम गर्छु भन्ने, पेस्की लगेपछि हराउने गर्दारहेछन् ।’ काम गर्नेभन्दा ठेक्का लिएर ओगट्ने प्रवृत्ति हाबी हुँदा काम अलपत्र परेको उनले टिप्पणी गरे ।

ठेकेदार कम्पनी ‘रफिना, प्राकृतिक, जुगल संयुक्त निर्माण कम्पनी’ले प्रशासकीय भवन निर्माणका लागि ६ करोड १७ लाख रुपैयाँमा ठेक्का लिएको थियो । नगरपालिकाका इन्जिनियर रामकृष्ण पौडेलका अनुसार भवनको ५५ प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगती भएको छ । ‘ठूलो काम त भएको छ, तर अब भित्री काम बढी छ’ पौडेलले भने, ‘ठेकेदारले मेहेनत गर्ने हो भने एक वर्षमा सकिन्छ ।’ तर ठेकेदारको प्रतिनिधिहरु नै नदेखिएकोले काम सकिनेमा धेरैको शंका हुने गरेको उनले बताए ।

नगरप्रमुख पुनले त म्याद थप्ने बेलामा केही दिन अघिपछि गरेर ठेकेदारले चाकरी गरेको, तर अहिले देखिनै छाडेको टिप्पणी गरे । ‘उसको म्याद थप्नुपर्ने रहेछ, त्यसैले काम गरेझै देखााए, अघिपछि गरेर हिंडे, जसरी पनि अबको ६ महिनामा सक्छौं भने’ पुनले भने, ‘पछि एक वर्षको म्याद थप्ने कागजात बनाएका छन् ।’ यस्तै ढीलाइ गरेभने एक वर्षमा नबन्ने पुनको भनाइ छ । पुनले आफ्नो कार्यकालमा भवनमा बस्न पाउने आस हराएको बताए ।

जैमिनीले मासिक डेढ लाख रुपैयाँ घर भाडामा तिर्ने गरेको छ । अहिले पनि कुश्मीसेरा बजारका तीनवटा घरको पुरै र केही अन्य घरमा विभिन्न शाखा राखेर नगरपालिका संचालन गरिएको छ । एउटै प्रशासकीय भवनको अभावमा काममा अबरोध भएको छ । कार्यपालिका बैठक बस्ने स्थान नभएर वडा नं. १ को भवनमा रहेको हल प्रयोग गरिन्छ । पाहुना वा अन्य कोही विशिष्ट व्यक्ति आउँदा पनि अन्यत्रै लैजाने गरेको छ ।

ठेकेदारका प्रतिनिधि नरेश ओझाले तोकेको समयमा काम सक्ने गरी म्याद थपेको दाबी गरेका छन् । ‘शुरुवातमा केही अप्ठ्यारो हुन्छ, तर अब छिटै काम सक्छौं’ उनले भने, ‘भुक्तानी समेत पाउन बाँकी छ, त्यसले कामदारलाई व्यवस्थापन गर्ने छौं ।’ वडा नं. १ मा स्थानीयहरुले जग्गा दान गरेपछि भवन निर्माण थालिएको थियो ।

उक्त भवन ठेक्का लिएका ठेकेदारले बागलुङ नगर अस्पताल र गलकोट नगरपालिकाको प्रशासकीय भवन समेत अलपत्र पारेका छन् । तोकिएको समयमा तीनवटै स्थानमा काम नभएको हो । सबै स्थानमा ठेकेदारले म्याद थप गरेपनि प्रगती भने न्युन छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरले पनि पटक पटक ताकेता गरेर पनि पुरा काम गराउन नसकेको बताए । ‘पैसा भुक्तानी गर्ने बेलामा नियमित देखिन्छन्, त्यसपछि हिंड्छन्’ गैरेले भने, ‘समयमा भवन नबन्दा नागरिकले भने जनप्रतिनिधिलाई गाली गरिरहेका छन् ।’

बागलुङका ५ गाउँपालिका र ढोरपाटन नगरपालिकाले आफ्नै भवन बनाएर काम गरेका छन् । बागलुङ नगरपालिका तत्कालिन कृषि विकास कार्यालयमा भवन बनाएर बसेको छ । बागलुङसहित ८ वटा पालिकाले भाडा तिर्नु पर्दैन । जैमिनी र गलकोट नगरपालिकाले भने मासिक डेढ लाख रुपैयाँभन्दा बढी भाडा तिरेर कार्यालय संचालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->