सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सामुदायिक स्वास्थ्य केन्द्रमै बर्थिङको सेवा

सामुदायिक स्वास्थ्य केन्द्रमै बर्थिङको सेवा


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०८१, शनिबार

बागलुङ/निसीखोला गाउँपालिका २ को अर्नाकोटमा खुलेको सामुदायिक स्वास्थ्य केन्द्रमा संचालित बर्थिङ सेन्टरले ग्रामीण बासिन्दालाई सहज बनाएको छ । सडक संजालको समस्याले तत्काल अस्पताल पुग्न कठिन हुँदा यहाँका महिलाले प्रसुतीको बेला पाउने दुःख कम भएको स्थानीयले बताए ।
पहिला बुर्तिवाङ पुग्नुपर्ने बाध्यता हटेर गाउँमै सुरक्षित सुत्केरी सेवा पाएको स्थानीय रमा बिकले बताइन् । जिप रिर्जभ गरेर बुर्तिवाङ पुग्दा दश हजार रुपैयाँभन्दा बढी लाग्थ्यो । अहिले भने घर छेवैमा खुलेको सुरक्षित सुत्केरी सेवाले खर्च र समय बचेको छ भने दुःख कम भएको छ ।
अर्नाकोट सामुदायिक स्वास्थ्य इकाइमा तीन वर्षदेखि बर्थिङ सेन्टर संचालनमा छ । यो सेन्टरमा वर्षमा १२ जनासम्मले सुरक्षित सुत्केरी सेवा पाएका छन् । जटिल समस्या पर्ने भएमा स्वास्थ्यकर्मीले समयमै सुरक्षित अस्पतालमा रिफर गरिदिन्छन् । बर्थिङ सेन्टर नहुँदा कतिपय महिला घरमै सुत्केरी हुन्थे । ‘केही वर्षअघि घरमा सुत्केरी हुँदा तीन जनाले ज्यान गुमाएका थिए’ स्वास्थ्य चौकीका अहेब चेतबहादुर कुँवरले भने, ‘त्यो दुःख भोगेकाले हामीले बर्थिङ सेन्टरको खोजी गरेका थियौं, अहिले बल्ल सेवा पाइएको छ ।’ भूगोल ठूलो भएकोले यो वडाको वडा कार्यालय पुग्न पनि तीन घण्टा लाग्छ । स्वास्थ्य चौकी भएको स्थान पुग्न त सोझो सडकले जोडिएकै छैन । त्यसैले ढोरपाटन नगरपालिकातर्पm जानुपर्ने बिकले बताइन् ।
त्यस बाहेक यहाँ सुविधा सम्पन्न अस्पताल समेत नभएपछि घरमा सुत्केरी हुने धेरै थिए । बर्थिङ सेन्टरका लागि दाताहरुले साथ दिएपछि यो सफलता मिलेको कुँवरले बताए । अर्नाकोटमा निसीखोला २ र ढोरपाटन वडा नं. ५ गरी झण्डै तीन सय परिवार बस्छन् । उनीहरुले सामान्य बिरामी पर्दा पनि टाढा पुग्नुपथ्र्यो । अहिले भने यो स्वास्थ्य इकाइ स्थापना भएर सहज भएको स्थानीय नर्मती रसाइलीले बताइन् । ‘पहिला त धेरै गाह्रो थियो, मर्ने होकी बाँच्ने हो भन्ने थाहा हुन्थेन, अहिले त सहज भएको छ’ उनले भनिन्, ‘गाउँका धेरै दिदीबैनीले सुत्केरी हुन नसकेर ज्यान गुमाए ।’ इकाइको तथ्यांक अनुसार तीन वर्षदेखि यहाँ होम डेलीभरी समेत छैन ।
अहिले भने आमा समूहले गर्भवती भएदेखिनै तथ्यांक राख्ने, नियमित गर्भ जाँच गर्न पठाउने गर्न थालेका छन् । ८ पटकसम्म गर्भ जाँच गरेर स्वास्थ्य संस्थामै सुत्केरी भएमा सरकारी नियम अनुसार २ हजार रुपैयाँ बाटो खर्च समेत दिन थालिएको छ । नियमति गर्भ जाँच नभएमा इकाइबाटै घरभेट गरेर उनीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न थालिएको छ । यो विधिले होम डेलीभरी भने शुन्य उन्मुख भएको हो । यो पालिकाको अन्य वडा र बस्तीमा भने अझै होम डेलीभरीको समस्या छ ।
बर्थिङ सेन्टर स्थापनाका लागि कर्मा फ्लाइट फाउण्डेसनले भवन बनाइदिएको हो । २० लाख रुपैयाँ सहयोग गरेपछि बनेको भवनमा २५ लाखका उपकरण समेत सहयोग गरेको थियो । दुइ जना कर्मचारी फाउण्डेसनले सहयोग गरेकोमा चालु वर्षदेखि कुँवरलाई गाउँपालिकाले करार गरेको छ भने दुर्गा कुँवर बिक भने दक्ष प्रसुतीकर्मीको रुपमा २०७६ देखिनै कर्मा फ्लाइट फाउण्डेसनकै कर्मचारीको रुपमा कार्यरत छिन् । फाउण्डेसनले १० लाख खर्चेर यहाँ प्रसुती प्रतिक्षाघर समेत निर्माणको काम थालेको छ ।
२०७६÷७७ सालमा भवन बनेर सामान्य स्वास्थ्य सेवा दिन थालेकोमा आर्थिक वर्ष २०७८÷७९ मा यहाँ ९ जनाको सुरक्षित सुत्केरी गराइएको थियो । आ.व. २०७९÷८० मा १० जना र गत आर्थिक वर्ष १२ जनाले सुत्केरी सेवा लिएका छन् । सुत्केरी गराउने बेड, बेवी वार्मर लगायतका मेसिन भने फेयरमेड फाउण्डेसनले सहयोग गरेको थियो । हाल गाउँपालिकाले औषधी उपचारका लागि सामाग्री, नियमित स्वास्थ्य परीक्षणको व्यवस्थापन र खोप क्लिनिक संचालन गर्दै आएको छ ।
युनिका फाउण्डेसनले सोलार जडान गरेर विद्युत तथा पानी तान्ने काममा साथ दिएको छ । समुन्द्री सतहदेखि २ हजार ५ सय मीटर उचाइमा रहेकोले यहाँ खानेपानीको समस्या छ । राष्ट्रिय प्रसारण लाइनको विद्युत नभएकोले सोलारबाट विद्युत उत्पादन गरी व्याकअप व्याट्री जडान गरिएपछि सेवा प्रवाह चुस्त भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->