पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले एचआईभी संक्रमित व्यक्तिहरूको सम्पुर्ण मानव अधिकारको संरक्षण हुनुपर्ने र समग्र दृष्टिकोण र सहकार्यको माध्यमबाट उनीहरूको जीवनको गुणस्तरलाई सुधार्न गर्नु पर्ने बताएका छन ।
शनिबार राष्ट्रीय मानव अधिकार आयोगले पोखरामा आयोजना गरेको एचआईभी संक्रमित नागरिकहरुको मानव अधिकार सम्बन्धि नीति सम्बाद कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री पाठकले एचआईभी संक्रमित व्यक्तिहरूलाई अन्य मानिसहरूसँग समान अधिकार र अवसरहरू प्रदान गर्नुपर्ने बताए । भेदभावविरुद्ध कडा कानूनी र सामाजिक कदमहरू चाल्नु पर्ने, उनिहरुको स्वास्थ्य सेवामा समान पहुँच उपलब्ध गराउनु पर्ने, एचआईभी संक्रमणको बारेमा साँचो जानकारी र शिक्षा फैलाउनका लागि सरकारी र गैरसरकारी संस्थाहरूले जनचेतना अभियान चाल्नु पर्ने र उनीहरूको गोपनीयता, रोजगारको अधिकार, र शारीरिक तथा मानसिक हिंसा बिरुद्धका अधिकारहरूलाई सुनिश्चित गर्नका लागि स्पष्ट कानूनी संरचना बनाइ राज्य अगाडि बढ्ने कुरालाइ उनले जोड दिए ।
मन्त्री पाठकले गण्डकी प्रदेशमा रहेका एचआईभी संक्रमित व्यक्तिहरूको खोजि गर्दै उनिहरुको मानसिक र भावनात्मक स्वास्थ्यको समेत सुनिश्चितताको लागि आगामि निति तथा कार्यक्रममा सम्बोधन गर्न सकिने गरि सबै सम्बन्धित पक्ष सङ्ग आफुले सहकार्य गरेर जाने सोच बनाएको बताए ।





