पोखरा / पाेखरामा चैत अन्तिम साता ४५ वर्ष माथि उमेर समूहको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । अमरसिंह ब्वाइज क्लबको आयोजनामा हुँदै आइरहेको ८ ए साइड भेट्रान्स प्रतियोगिताको तेस्रो संस्करण चैतको अन्तिम साता हुने भएको हो ।
पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष राजेश गुरुङले भेट्रान खेलाडीहरुबीच आपसी सद्भाव र भाइचारा बढाउनका लागि प्रतियोगिताको आयोजना गर्न लागेको सुनाए ।
उनले समाजमा छरिएर रहेका विभिन्न उमेर समूहका युवाहरुलाई संगठित गराइृ खेल क्षेत्रमा आकर्षित गर्ने क्लबको उदेश्य रहेका सुनाउँदै त्यसैका लागि पहिला अग्रजहरुलाई एक ठाउँमा ल्याउने प्रयास गरेको बताए । ‘हामीले भेट्रान फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हौं यसले आपसी भाइचारा र सम्बन्ध त राख्छ नै आफ्नो विगतलाई समेत सम्झाउन मद्दत गर्दछ । भेट्रान खेलाडीको स्वास्थ्य र मनोरञ्जनका लागि समेत प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने, ‘एबीसीले पोखराको फुटबल खेलको विकासमा निरन्तर काम गर्दै आइरहेको छ । स्थापनापश्चात हामीले विभिन्न प्रतियोगिता गर्दै समय सापेक्ष छात्रवृत्ति तथा विविध गतिविधिहरु गर्दै आइरहेका छौं ।’ चैत २७ देखि ३० गते सम्म हुने प्रतियोगिताको विजेताले एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने । उपविजेताले ७७ हजार सात सय ७७ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालन गर्न १३ लाख ६७ हजार तीन सय २१ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।





