बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एकदशक पछि बृहत् पिप्ले–भगवती खानेपानी सुरु

एकदशक पछि बृहत् पिप्ले–भगवती खानेपानी सुरु

१० करोडको टेन्डर आह्वान


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०८१, सोमबार

म्याग्दी/ खानेपानी आयोजना सुरु भएको करिब एकदशकपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा खानेपानी सुविधा विस्तारका लागि बहुवर्षीय ठेक्का लागेको छ । करिब २५ सय बढी घरपरिवार लाभान्वित हुने खानेपानी योजनाका लागि १० करोडको टेन्डर आह्वान भएसँगै यो वर्षदेखि तीव्रता पाउने भएको हो ।

बृहत् पिप्ले–भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश भएपनि बजेट अभाव झल्दै आइरहेको अवस्थामा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा (खम्बिर) ले टेन्डर आह्वान भएसँगै भगवती र पिप्लेबासीको बषौंदेखिको माग पूरा भएको बताए । ‘यो खानेपानीका लागि गरिएको प्रयास सफल भएको छ, अब हरेक वर्ष स्रोतको कुनै कमी हुदैन, समयमै सम्पन्न गर्ने गरी अबका प्रक्रियामा पनि लाग्नेछु,’ प्रतिनिधिसभा सदस्य गर्बुजाले भने । बहुवर्षीय ठेक्का लगाउन अर्थमन्त्रालयले स्रोत सहमति दिएको थियो । १० करोडको टेन्डरमा कन्टिन्जेन्सी खर्च कटाएर ७ करोड २६ लाख बराबरको काम चालु आव २०८१/८२ देखि नै कार्यान्वयन हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर नवीन सुवेदीले बताए । ‘आज टेन्डर आह्वान भएको छ, अबको प्रक्रियालाई पनि हामीले तिब्रता दिन्छौँ,’इन्जिनियर सुबेदीले भने ।

पछिल्लोपटक सन् २०२२ मा भएको सर्वेक्षणअनुसार रु ३९ करोड ३३ लाख लागत अनुमान गरिएको पिप्ले–भगवती खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत र बहुवर्षीय ठेक्का आह्वान गर्न अर्थ मन्त्रालयले स्रोत सहमति नदिँदा कार्यान्वयन हुन नसकेपछि निरन्तरको दबाबसँगै टेन्डर आह्वान भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । चारवटा प्याकेजमा विभाजन गरेर पहिलो प्याकेजको काम सुरु गर्न ठेक्का आह्वान भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने खालीखोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा रहने मुख्य ट्याङकीसम्म पानी ल्याउन ३० किलोमिटर लामो मुख्य पाइप लाइन रहने छ ।

संघीय सरकारको ८० र उपभोक्ताको २० प्रतिशत लागत साझेदारीमा आयोजना निर्माण हुन लागेको हो । रघुगंगा गाउँपालिकामा सबैभन्दा बढी जनघनत्व रहेको क्षेत्र वडा नं २ र ३ मा पर्ने बस्तीहरू हुन् । गाउँघरमा रहेका पुराना खानेपानीको मुहान सडक सञ्जाल, जलवायु परिवर्तन लगायतका कारण समस्या भइरहेको अवस्थामा खानेपानी आयोजनाको काम अगाडी बढेपछि सहज भएको रघुगङ्गा गाउँपालिका–२ भगवतीका वडाध्यक्ष अमृत भण्डारीले बताए । उक्त आयोजनाका लागि उपभोक्ताको तर्फबाट सहभागिता जनाउन आवश्यक पर्ने बजेटको व्यवस्था गरेर १३ लाख ५० हजार खातामा जम्मा गरिसकेको वडा अध्यक्ष भण्डारीको भनाई छ । चिमखोलाबाट ल्याएको पानीलाई पुराना संरचनासहित नयाँ आवश्यक संरचना बनाएर घरघरका धारामा वितरणको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->