सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्वास्थ्यलाई गुणस्तरीय बनाउन नसके भौतिक विकासको अर्थ नरहने निष्कर्ष

स्वास्थ्यलाई गुणस्तरीय बनाउन नसके भौतिक विकासको अर्थ नरहने निष्कर्ष


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८१, बिहिबार

बागलुङ/भौतिक विकासबाट अबका दिनमा नागरिकको स्वास्थ्य सुधारमा ख्याल गर्नुपर्ने सरोकारवालाको निष्कर्ष छ । मानव स्वास्थ्यलाई गुणस्तरीय बनाउन नसके भौतिक विकासको अर्थ नरहने उनीहरुको भनाइ छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको दशवटा स्थानीय तहको अर्धवार्षिक समीक्षा कार्यक्रममा सहभागिले नागरिकको स्वास्थ्य महत्वपूर्ण भएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले भौतिक विकास मात्र भएर नभइ शिक्षा, स्वास्थ्य र मानवीय विकासमा लगानी बढाउन पहल गर्नुपर्ने बताए । ती सम्बन्धी कार्यालयले बनाउने योजना र संकलन गर्ने यकिन तथ्यांकबाट भोलीका योजना निर्माण, बजेट विनियोजन जस्ता काममा सहयोग मिल्ने बताए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले अब तथ्यांक देखाएर मात्र नपुग्ने बताए । उनले गुणस्तरीय स्वास्थ्य सेवा दिने, हरेक गर्भवती, सुत्केरी, बालबालिका र जेष्ठ नागरिकको तथ्यांक यकिन गरेर ल्याउन सकेमा वडाले पनि त्यो तथ्यांकलाई नै आधिकारिक मान्ने अवस्था सिर्जना हुने बताए ।

लगानी, औषधी खरिद, खोप र अन्य सेवाका लागि पनि उक्त तथ्यांक प्रभावकारी बन्ने खड्काले बताए । कार्यक्रममा बागलुङका १० पालिकाका स्वास्थ्य शाखा प्रमुख, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. किरण तिवारी सहितका चिकित्सक र स्वस्थ्यकर्मीले पनि अबको मिसन नागरिकको स्वास्थ्यमा बन्नुपर्ने बताए ।

जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाको अध्यक्षता, क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेको संचालन र जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य अधिकृत संगीता घिमिरे, नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यो समीक्षापछि आगामी दिनको कार्यक्रम तय गर्ने, आगामी नीति तथा कार्यक्रम र बजेटबारे योजना बनाउने लक्ष्य पनि राखिएको सापकोटाले जानकारी दिए ।

जिल्लामा स्वास्थ्यको क्षेत्रमा भएका कामबारे प्रस्तुतीसहित गैरसरकारी संस्थाहरुले गरेका साझेदार कार्यक्रमबारे समीक्षा भएको थियो । फेयरमेड फाउण्डेसन, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन जस्ता संस्थाले पनि जिल्लामा स्वास्थ्य सुधारको लागि काम गरिरहेका छन् । साथै, सूचना सम्प्रेषणको क्रममा पनि कमीकमजोरीको साथै उदाहरणीय र नविनतम कार्यक्रमको प्रचार बढाएर नागरिकलाई सर्ने रोग मात्र नभइ नसर्ने रोगको उपचारमा समयमा लाग्न प्रेरित गर्नुपर्ने पनि सरोकारवालाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->