आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सहारालाई राज्यले सहयोग गर्नुपर्छ– उपाध्यक्ष आचार्य

सहारालाई राज्यले सहयोग गर्नुपर्छ– उपाध्यक्ष आचार्य


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८१, मंगलबार

पोखरा / राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्यले सहारा क्लब पोखरालाई राखेपले वार्षिक बजेट दिन आवश्यक रहेको बताएका छन् । पोखराको दोबिल्लास्थित सहारा एकेडेमीको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली खेलकुदको क्षेत्रमा निरन्तर लागि पर्दै आफ्नै एकेडेमी सञ्चालन गरि राज्यलाई ठूलो योगदान गरेका कारण यसलाई राज्यले नै वार्षिक बजेटको व्यवस्थापन गर्न अत्यावश्यक रहेको बताएका हुन् ।

सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष तथा एकेडेमी संयोजक पूर्णबहादुर गुरुङले सहाराको स्थापनाकालदेखि आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करणसम्म आइपुग्दाको सफलता उतार चढाबको बारेमा जानकारी गराएका थिए । सहारा क्लब पोखराका पदाधिकारीहरूले सहारा क्लबले अनाथ तथा विपन्न परिवारका बालकहरूलाई फुटबल सिकाउँदै आइरहेको र एकेडेमी सञ्चालनको मूल आधार नै आहा रारा पोखरा गोल्डकप रहेको र राखेपले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

सोही क्रममा जवाफ दिदैँ उपाध्यक्ष आचार्यले सहाराले खेलाडी विकास र खेलकुदलाई जीवन्त राख्न चालेको कदमको उच्च कदर गर्दै राखेपबाट बजेट विनियोजनका लागि पहल गर्ने सुनाए । उनले आफूले सहारा क्लबसँग ढिला भेट भएको महसुस गरेको सुनाउँदै राखेपमा प्रक्रिया पुरा गरेर फाइल ल्याउन समेत आग्रह गरे । सोही क्रममा उनले राखेपमा कर्मचारीहरूले सेवाग्राहीलाई दुःख दिने काम गर्दै आइरहेको र त्यसलाई ठाडो हस्तक्षेप गरेर जानका अध्ययन गरिरहेको सुनाए । राखेप समग्र खेल क्षेत्रका लागि रहेपनि त्यहाँभित्र केही विकृति भएको आफूले सूचना पाएको उनले सुनाए ।

सहारा क्लबका अध्यक्ष केशवराज बरालले सहारालाई सहयोग गर्ने सहयोगीप्रति आभार व्यक्त गर्दै उपाध्यक्षको प्रतिबद्धताले थप हौसिएको सुनाए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) ले पोखरा रङ्गशालालाई बजेटको आवश्यकता रहेको र फुटबल मैदानमा फ्लड लाइट जडान गर्न सकेमा फिफाका अन्तर्राष्ट्रिय खेल समेत पोखरामा खेलाउन सकिने हुँदा त्यसका लागि बजेट विनियोजन गर्नका लागि आग्रह गरे । खेलाडी विकासको पहिलो खुड्किलो नै पूर्वाधार रहेकाले पूर्वाधारको विकास भएमा त्यसले धेरै क्षेत्रमा काम गर्ने सुनाए । कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरु विक्रम थकाली, विरभद्र आचार्य, महासचिव राम्जीप्रसाद अधिकारी लगायतले बोलेका थिए । सहारा एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालक आश्रीत रहेका छन् । एकेडेमी सञ्चालनका लागि वार्षिक ६५ लाख रुपैयाँ खर्च लाग्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->