स्याङ्जा/पुतलीबजार नगरपालिकाभित्र रहेका सामुदायिक कुकुरलाई निःशुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप दिइएको छ ।
यहाँको वडा नं. ९ कोल्मा र वडा नं. १० का राङखोलमा पुतलीबजार नगरपालिका, पशु सेवा शाखाको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्र्तगत निःशुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप लगाइएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्याङ्जाको प्राविधिक सहयोगमा शिविर तथा खोप लगाइएको हो । यहाँ १४१ वटा सामुदायिक कुकुरहरूको बन्ध्याकरण शल्यक्रिया गरिएको हो भने १८९ कुकुरहरुमा रेविज रोग विरुद्धको खोप लगाइएको हो ।
यस्तै बन्ध्याकरण शिविर तथा रेविज रोग विरुद्धको खोपको क्रममा दुई वटा कुकुरको म्यामरी क्यान्सरको अप्रेसन र एक वटा कुकुरको युटेरस क्यान्सरको अप्रेसन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले जानकारी दिए ।
मानिसमा रेविज रोग ९५ प्रतिशत सामुदायिक कुकुरको टोकाईको कारणबाट हुने बताउँदै श्रेष्ठले रोग न्युनिकरण गर्न बन्ध्याकरण र खोप लगाइएको बताए । यो शिविरमा डा. श्रेष्ठ, डा. अर्जुन अर्याल र डा. अनिल गौतमले कुकुरको बन्ध्याकरण रेका थिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चापाकोट, फेदिखोला र बिरुवामा यसअघि ३६४ कुकुरको बन्ध्याकरण र ४०१ वटा कुकुरमा रेविज खोप लगाईएको थियो ।





