बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रि मनसुन : आकासमा देखिन सक्छ ‘काउली’ र ‘बन्चरो’ आकारको बादल

प्रि मनसुन : आकासमा देखिन सक्छ ‘काउली’ र ‘बन्चरो’ आकारको बादल


  • संजय रेग्मी
  • चैत्र २९ २०८१, शुक्रबार

पर्वत/बुधवार भएको वर्षा ‘प्रि मनसुन’ को वर्षा हो । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाकोसमेत प्रभाव रहेको छ। यही जलवाष्पले देशभरको मौसममा आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ ।

‘प्रि मनसुन’ मा हुन सक्ने वर्षाले मानिसलाई झुक्याउन सक्छ। स्थानीय वायुको प्रभाव अचानक सुरु हुँदा भर्खरैसम्म सफा देखिएको मौसममा केहीबेरमा नै परिवर्तन आउन सक्ने वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । ‘मनसुन’ नआएको तर जाडो सकिएर गर्मी सुरु भइसकेको हुने ‘मार्च’, ‘अप्रिल’ र ‘मे’ महिनालाई ‘ट्रान्जीसनल फेज’ का रूपमा लिइने उनको भनाइ छ ।

जमिनको सतहमा पश्चिमतिरबाट बहने हावाबाट पूर्वतिर बहने हावामा परिणत हुने भन्दै उनले ‘प्रि मनसुन सिजन’ मा तापक्रम बिस्तारै बढ्दै जाने बताइन् । मौसमविद् कँडेलका अनुसार बिहानबाट बेलुकासम्ममा बिस्तारै तापक्रम बढेपछि मध्यान्हपश्चात् जलवाष्पयुक्त हावा बादल बन्छ । यसैको प्रभावले चट्याङ समेत ल्याउने गरी मेघ गर्जन सहितको वर्षा हुन सक्छ । बादल, हावाहुरी र असिना सहित जमिनमा वर्षिंदा मानिस, चौपाया, कृषि क्षेत्रलगायतमा क्षति हुने अवस्था आउँछ ।

हरेक बादल बन्दासाथ हावा लागिहाल्छ वा वर्षा भइहाल्छ भन्ने नहुने भए पनि ‘कुमुलोनिम्बस’ बादलका रूपमा चिनिने बादलको विकास भएको अवस्थामा भने वर्षाको सम्भावना हुने उनको भनाइ छ । यस्तो प्रकारको बादलको आकार हेर्दा काउलीको फूलको अकारको जस्तै भएर बसेको हुने कँडेलले बताइन् । यो बादल जमिनको सतहदेखि बिस्तारै वायुमण्डलको माथिल्लो भागमा बढ्दै जाने र कहिलेकाहीँ बन्चरोको जस्तो आकार पनि लिने उनले बताइन् ।

‘यो बादललाई कुमुलोनिम्बस भन्छौँ । यसको प्रभाव माथिल्लो वायुमण्डलसम्म पनि कहिलेकाहीँ पुग्छ । यस्तो बादलको आकार हेर्दा काउलीको फूलको भाग जसरी रहेको हुन्छ त्यस्तै तरिकाले रहेको हुन्छ । यो बादल तलबाट माथितिर बढ्दै बढ्दै जान्छ,’ मौसमविद् कँडेल भन्छिन्, ‘यसले माथि पुगेर कहिलेकाहीँ बन्चरो जस्तो पनि आकार लियो भने त्यो अवस्थामा हावाहुरी, मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहन्छ । यस्तो अवस्थामा क्षति पनि बढी हुन जान्छ ।’

‘प्रि मनसुन सिजन’ मा भर्खर सम्मको मौसम वर्षा नहोला, हावा नचल्ला, एक÷दुईसम्म त राम्रै मौसम रहला जस्तो ठिक अवस्थामा देखिए पनि केही समयमा नै अकस्मात् परिवर्तन आउन सक्छ । स्थानीय वायुको प्रभावले जुन बेला पनि अचानक वर्षा हुन सक्ने भएकोले ‘प्रि मनसुन’ को बेलामा ‘मनसुन’ मा जस्तै पूर्वतयारी र सावधानी अपनाउनुपर्ने कँडेलले सुझाइन् ।

पूर्ण रूपमा सफा रहेको मौसम आधा घण्टाको अवधिमा नै कालो बादल मडारिएको अवस्थामा पुग्न सक्ने भन्दै उनले कुनै पनि मौसमी प्रणालीमा स्थानीय वायुको प्रभावले प्रणालीको विकास भएमा त्यस्तो ‘मनसुन’ निकै छिटो विकास हुने र निकै छिटो हराउने अवस्था हुन्छ । यसले गर्दा छोटो समयमा नै वर्षा हुँदा पानी ह्वार्र परिहाल्ने, केही समयका लागि हावाहुरी चल्ने र क्षति हुने हुन्छ जोखिम हुन्छ ।

यो बेलामा मौसममा अचानक हुन सक्ने फेरबदलको बारेमा थाहा पाएर पूर्व तयारी गर्नुपर्ने उनको सुझाव छ । मौसमको अनुमान गर्न नसक्दा मानिसमा मात्रै नभएर कृषि बालीमा पनि यो बेलामा क्षति हुने गरेको कँडेल बताउँछिन् । यसबाट सुरक्षित रहनको लागि सकेसम्म घरभित्रै बस्ने, बिजुलीबाट चल्ने यन्त्रहरू नचलाउने वा विद्युत् प्रसारण हुने सामग्रीहरू नचलाउने, धारा, कुवा, ताल, नदी वा कुनै पनि ठाउँको पानी नचलाउने, यो बेलामा बाथरुममा गएर नुवाइधुवाइ गर्ने काम गर्न नहुने उनका सुझाव छन् ।

‘मोबाइल, कम्प्युटर, ल्यापटपलगायतका सामग्रीहरूलाई बन्द गरेर राख्ने, तामाबाट बनेका सामग्रीहरू नचलाउने, क्षति र जोगिने उपायको बारेमा परिवारमा बसेर छलफल गर्ने अपनाउन सकिने उपायको बारेमा सिक्ने सिकाउने गर्नुपर्छ,’ मौसमविद् कँडेलले भनिन, ‘कतिपय ठाउँमा व्यक्ति वा समुदायले परम्परागत कुनै विशेष खालका उपाय वा अनुभव सँगाल्नुभएका अनुभव पनि उपयोगी हुन्छन्। तर कतिपय परम्परागत तरिका झनै गलत हुन पनि सक्छन्, त्यसमा ख्याल राख्नुपर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->