बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अन्नपूर्णको हिउँपहिरोमा बेपत्ताको भावपूर्ण बिदाई

अन्नपूर्णको हिउँपहिरोमा बेपत्ताको भावपूर्ण बिदाई


  • हरिकृष्ण गौतम
  • चैत्र ३० २०८१, शनिबार

म्याग्दी/म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर पाँचदिन देखि हराइरहेका दुईजना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर)अग्लो अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बिचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा गत चैत्र २५ गते बिहानदेखि सम्पर्कविहिन भएपछि खोजीकार्य गरिएपनि अझै फेला नपरेको सेभेन समिट ट्रेकले जनाएको छ ।

‘हामीले अथक प्रयास गर्दा पनि फेला पार्न सकेनौ, हिउँ र बरफको ढिस्कोमुनि अब यति लामो समयसम्म बाँच्न सम्भव छैन’ सेभेन समिटले भन्यो ।

बेपत्ता भएलगत्तै ५ शेर्पाहरूको सहयोगमा २ वटा खोज हेलिकप्टर तैनाथ गरेको अवस्थामा पनि कुनै प्रगति नभएपछि थप शेर्पाहरुको ज्यान जोखिममा पार्न नसक्ने भन्दै खोजीकार्य स्थगित गरी रिमा र निमालाई भाबपूर्ण बिदाई गरिएको जनाएको छ ।

हिँउपहिरोमा हराएपछि निरन्तर हेलिकोप्टरबाट खोजी र उद्धार कार्य भएपनि फेला पार्न नसकिएको सेभेन समिट ट्रेकले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ । मौसम अत्यन्तै खराब भएकाले उद्धारमा समस्या भइरहेको छ ।

क्याम्प २ र ३ को बीचमा निरन्तर रूपमा ठुलो हिउँपहिरोमा परेर बेपत्ता भएको अनुमान गरिएको छ । हेलिकप्टर, ड्रोन क्यामेरा सहित अन्य उपकरणहरु प्रयोग गरिएको थियो । बेपत्ता रिमा र निमाको टोलीसँगै आरोहणका लागि क्याम्प ३ मा पुगेका ४ जना आरोहीहरूलाई हेलिकोप्टरको सहयोगबाट आधार शिविर झारिएको छ ।

हिँउपहिरोका कारण अन्नपूर्णको चुचुरोमा पुग्ने बाटो र ठाउँठाउँमा राखिएका यात्राका लागि सहज हुने भर्याङ सहित डोरी र अन्य संरचनाहरु समेत छियाछिया भएकाले थप तयार गरी आरोहण गर्नुपर्ने अवस्था रहेको अन्नपूर्ण आधार क्षेत्रमा रहेका आरोही दलका सदस्यहरुको भनाई छ ।

यसै साता सोमबार बिहान एकैपटक ३२ जनाले हिमाल आरोहण गर्न सफल भएका थिए । आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौंबाट उद्धारको टोलीलाई हेलिकोप्टरमार्फत थप तयारी गरिएको छ ।

पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।

नेपालमा रहेका हिमालमध्ये जोखिममा अन्नपूर्ण पनि पर्छ । यस क्षेत्रमा आरोहणको क्रममा छिनछिनमा हिमपहिरोको सामाना गर्नुपर्ने भएकाले सतर्कता अपनाएरै आरोहण गर्ने गरिन्छ । सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक आरोहण गरेको अन्नपूर्ण प्रथमलाई नेपालको जेठो हिमाल भनिन्छ ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये दशौं स्थान (८०९१ मिटर) मा पर्ने अन्नपूर्ण प्रथमसम्मको पदमार्ग अहिले म्याग्दीको प्रमुख गन्तब्य बन्दै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->