शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महिलाको स्वास्थ्य सुधार गर्ने चुनौतीमा सक्रिय

महिलाको स्वास्थ्य सुधार गर्ने चुनौतीमा सक्रिय

वडा कार्यालयले दिएको मोबाइलले घरघरमा फोन गरेर स्वास्थ्य अवस्थाबारे बुझ्ने र समस्या आउने देखेमा समयमा खबर गर्ने काम भएको छ । पहिला घरघरमा सुत्केरी भेटिने गरेकोमा स्वयंसेविकाको सक्रियताबाटै होम डेलीभरी न्युन भएको छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०८२, शुक्रबार

बोहरागाउँ स्वास्थ्य चौकीमा नवजात शिशुको स्वास्थ्य जाँच गरिदै । तस्बिर : ढोरपाटन

बागलुङ/प्रसुती व्यथाले च्यापेपछि मात्रै स्वास्थ्य संस्था जाने समस्या हटाउन, प्रसुती अवस्थामा आउने जोखिम कम गर्न र आमा तथा शिशुको स्वास्थ्य रक्षाका लागि निसीखोला गाउँपालिका ३ मा बनाइएको प्रतिक्षा घर सबैभन्दा उपयोगी छ । यो छाप्रोमा गत आर्थिक वर्ष १ सय ७ जना महिलाले गर्भावस्था, प्रसुती पूर्व र प्रसुती पछि पनि उपयोग गरे । चालु वर्षपनि त्यतिनै सेवाग्राहीले सेवा लिने अनुमान भएको अनमी ताराकुमारी चन्द बताउँछिन् । ‘सुत्केरी हुने एकदुइ दिन अघिनै यहाँ आएर बस्दा जोखिम हुने भए तत्काल हामीले सुरक्षित स्थानमा पठाउन सक्छौं’ चन्दले भनिन्, ‘के कस्तो जोखिम छ त्यो पनि बुझ्न पाइन्छ ।’

गाउँपालिकाले ३ लाख रुपैयाँ विनियोजन गरेपछि फेयरमेड फाउण्डेसनले संचालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाले २ लाख ५० हजार रुपैयाँ लगानी गरी ५ लाख ५० हजार रुपैयाँमा यो भवन बनेको थियो । यो भवन लागतभन्दा सयौं गुणा लाभदायी बनिसकेको चन्दको भनाइ छ । बोहोरागाउँ स्वास्थ्य चौकीले दिने सेवाबाट सयौं नागरिक लाभान्वित भएका छन् । गाउँपालिकाभरमै यो स्वास्थ्यचौकीको सेवा प्रभावकारी छ ।

धेरै क्षेत्रमा पुग्दा निसीखोलाका कर्मचारी भेटिन्छन् । उनीहरु प्रायः बोहोरागाउँका छन् । समाजसेवा, राजनीति र अन्य प्राविधिक क्षेत्रमा पनि बोहोरागाउँस्थित प्रभा माविको उत्पादन भेटिन्छ । त्यो वडा नं. ३ मै छ । यी दुइ संरचना र संस्थाले निसीखोलाको शिक्षा र स्वास्थ्यको गरिमा उचों बनाएका छन् । बोहोरागाउँ स्वास्थ्य चौकी र प्रभा मावि यहाँका गौरव हुन् भन्छन् वडा अध्यक्ष रमेश विक्रम शाही । अब सबैले नागरिकको स्वास्थ्यबारे चासो राख्न वडाले आग्रह गरेको छ । वडाले गर्ने कामभन्दा सचेत नागरिकले आफ्ना घरघरमा पनि स्वास्थ्य शिक्षाबारे बताउनु पर्ने शाहीले बताए ।

वडा नं. ३ मा भौतिक पूर्वाधारको विकासले गति त लिएकै छ, तर त्यो भन्दा बढी यहाँबाट प्रवाह हुने स्वास्थ्य सेवा र शिक्षाको गुणस्तर निसीखोलाकै गौरव बनेको छ । त्यसले मुर्त रुप लिन शतप्रतिशत महिलाको स्वास्थ्यमा सुधार आउनुपर्छ । बोहोरागाउँ स्वास्थ्य चौकीकै कारण पालिकाभरकै स्वास्थ्य सेवाको उपलब्धी उचो बन्दै जान थालेको शाहीको भनाइ छ ।

बोहरागाउँ स्वास्थ्य चौकीमा रहेको सुत्केरी प्रतिक्षा घर । प्रतिक्षा घरले सुत्केरी र गर्भवतीलाई राहत मिलेको छ । तस्बिर : ढोरपाटन

यी त भए वडा नं. ३ का स्थापित शिक्षा र स्वास्थ्य संस्था । त्यस बाहेक ग्रामीण र दुर्गम मानिएको ढाँडखर्कमा खोप क्लिनिक बनेको छ । जसका कारण महिलाहरुले गर्भावस्थामा र शिशुको खोप लगाउन मुकाम धाउन पर्दैन । त्यसमा वडा कार्यालयले थप काम गरेको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई झोला र मोबाइलको व्यवस्थापन गरेपछि सूचना पनि सहज रुपमा आउन थालेको छ । ‘स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने हो भने महिला स्वास्थ्य स्वयंसेविकाहरु नै दक्ष र सक्रिय बन्नुपर्ने रहेछ’ शाही भन्छन्, ‘ठूलो लगानीले भन्दा सानो लगानीले नागरिकमा सचेतना आउने रहेछ ।’ वडा कार्यालयले दिएको मोबाइलले घरघरमा फोन गरेर स्वास्थ्य अवस्थाबारे बुझ्ने र समस्या आउने देखेमा समयमा खबर गर्ने काम भएको उनले बताए । उनीहरु मार्फत नै घरघरमा स्वास्थ्य शिक्षा दिने काम भएको छ । पहिला पहिला घरघरमा सुत्केरी भेटिने गरेकोमा स्वयंसेविकाको सक्रियताबाटै होम डेलीभरी न्युन भएको छ । फेयरमेड फाउण्डेसन, मेडिक मोबाइल लगायतका संस्थाले पनि यो अभियानमा साथ दिएका छन् ।

सडकहरु स्तरीय बनाउने काम वडाले गरेको छ । केही वर्ष अघिसम्म जोखिम मोलेर यात्रा गर्नुपर्ने स्थानमा स्तरीय सडक पुगेको छ । काप्रा, बोहोरागाउँहुँदै छापखानी पुग्ने सडक बनेको छ । प्युठान जोड्ने गरी गण्डकी प्रदेश सरकार र पालिकाले सडकको गुरुयोजना पनि बनाइसकेको छ । त्यो सडक पुरा भएमा पर्यटकीय विकास गर्न सकिने, प्युठान तर्फका नागरिकलाई मध्यपहाडी लोकमार्गमा जोड्न सकिने संभावना छ ।

बस्ती भएका सबै स्थानमा सडकसँगै पदमार्ग बनाउने अभियान पनि चलेको छ । पहिलो चरणमा स्वरोजगार कार्यक्रमअन्र्तगत ढाँडखर्क छापखानी सिंढी मार्गको काम भएको छ । झिँवाखोलादेखि बोहोरागाउँ जाने पदमार्ग पनि बनेकोले गाडी नहुँदा पनि स्थानीय छोटो बाटोमा गाउँ पुग्छन् । सडक सहज बन्दा ग्रामीण क्षेत्रमा फलेका कृषि फसललाई बजारीकरण गर्न सहज भएको छ । मध्यपहाडी लोकमार्गले वडालाई सुगम बनाएको छ । लोकमार्गसम्म आइपुग्न ती पदमार्ग र ग्रामीण सडकहरु सहयोगी सिद्द भएका हुन् ।

गोर्खा वेयलफेयर लगायतका गैरसरकारी संस्थाहरु पनि निसीखोलाको विकासमा अब्बल साभेदार छन् । वेलफेयरकै सहयोगमा प्रभा माविमा ३ करोड लागतमा अघिल्लो वर्ष १३ कोठे भवन निर्माण भएको थियो । चालु वर्षपनि थप ४ कोठाको योजना छ । यो योजनाले प्रभा माविलाई अझै गुणस्तरीय शिक्षा दिने, प्राविधिक र कम्प्युटर प्रविधिको शिक्षा दिने बनाउन पहल भएको छ । भौतिक पूर्वाधार र लगानीमा साथ दिनेहरु भएपनि पालिकाले गुणस्तरमा ध्यान दिने गरी काम भएको उनले बताए ।

सबै विद्यालयमा कम्प्युटर शिक्षा दिने गरी उपकरणहरु खरिद भएका छन् । सबै कक्षा कोठामा फर्निचरको व्यवस्थापन, दक्ष शिक्षकको नियुक्ती भएका छन् । सामुदायिक विद्यालयले पनि अब्बल नतिजा दिन सक्छ भन्ने लक्ष्यले एसईईमा उत्कृष्ठ नतिजा ल्याउनेदेखि धेरै जना उत्तिर्ण गर्नेलाई प्रोत्साहनका कार्यक्रम दिने काम पनि भएको छ ।

केही वर्ष अघिसम्म विद्यालय भर्नादर थोरै, भर्ना भएकाहरुले पनि छाड्ने दर उच्च भएको स्थान अहिले नियमित भर्ना हुने अवस्थामा आइपुगेको छ । सहरी क्षेत्रमा झैं शतप्रतिशत भर्ना, पूर्ण खोप सुनिश्चत पालिका बनाउने अभियान नै चलेको छ । बाल विवाह पनि घट्दो दरमा छ । यद्यपी केही घटनाहरु देखिने गरेकोले सचेतनाका अभियान चलाएर न्युनिकरण गर्न लगानी बढाइएको छ । पछिल्लो समय टोलटोलमा गठन भएका स्वास्थ्य आमा समूहले आमा र शिशुको स्वास्थ्यबारे ख्याल गर्दा जोखिम न्युनिकरण गर्ने, बाल विाह अन्त्य गर्ने र अनिवार्य शिक्षाका लागि विद्यालय भर्ना गर्ने अभियानमा पनि सुधार भएको छ ।

निसीखोला ३ ले ताजा तरकारी उत्पादनमा जोड दिन थालेपछि टनेलमा व्यवसायिक खेती गर्ने प्रचलन बढेको छ । तस्बिर : ढोरपाटन

कृषिको भरपुर संभावना भएर पनि निसीखोला ३ ले खासै प्रगती भने गर्न सकेको छैन । तर, ताजा तरकारी उत्पादनमा जोड दिएको छ । सुन्तला र कागतीसहित अमिलो जातका फलफूलको विकास गर्न पहल भएको छ । कतिपय किसानले बिरुवा रोपेका छन् भने कतिपयमा पुरानै बोटमा सुन्तला फलाएर आम्दानी समेत लिएका छन् । ओखर खेतीको पकेट बनाउने योजना वडाले राखेको छ । शुरुवातमा केही काम भएपनि अझै धेरै बिरुवा लगाउन पालिकाले बजेट व्यवस्थापन गर्ने, उन्नत जातका बिरुवा झिकाएर किसानलाई वितरण गर्ने र उत्पादनपछि बजारीकरणमा पनि साथ दिने योजना वडाले बनाएको छ ।

बोहोरागाउँमा पछिल्लो समय बजार बिस्तार भएको छ । यहाँ हुने मेला महोत्सवलाई व्यवस्थित बनाउने, खेलकुदको विकास गर्ने, शुद्द खानेपानी वितरण, बजार क्षेत्रमा शान्ति सुरक्षाको व्यवस्थापन गर्ने र राजमार्ग सुरक्षा योजना लागू गर्ने काम पनि पालिकाको अगुवाइमा भएका छन् । यहाँका बस्तीमा पहिलो पटक राष्ट्रिय विद्युत पु¥याउने लक्ष्य पनि छ । यो लक्ष्य पुरा हुँदा निसीखोला समृद्द बन्ने छ ।

लोकमार्गको सुगमताका कारण स्थानीयले जुनसुकै उद्यम व्यवसाय गरेर पनि समृद्द बन्न सक्ने अवस्था भएकोले त्यस्तो वातावरण बनाउने काममा पालिकाले योजना बनाउने प्रमुख प्रशासकीय अधिकृत जिवन पुन बताउँछन् । ‘जागरण र सचेतनाले पछि परेपनि पूर्वाधार र अवसरले पच्छ्याएको स्थान हो’ पुनले भने, ‘व्यवस्थित विकासका योजना बनाएर जानुको विकल्प छैन ।’ काम गर्ने हो भने सकारात्मक परिवर्तन गर्न धेरै समय नलाग्ने उनको बुझाई छ । त्यसका लागि स्थानीय जनप्रतिनिधि, कर्मचारी, सामाजिक अगुवा समेत एक भएर जानुपर्ने उनले औल्याए । निसीखोलाको समृद्दिका लागि सबैको साझा प्रयासमा हातेमालो गर्न उनले सबैलाई आग्रह पनि गरे ।

‘राजमार्ग लक्षित बजारीकरणको खोजीमा छौं’
रमेशविक्रम शाही
वडा अध्यक्ष, वडा नं. ३, निसीखोला

निसीखोला गाउँपालिका मध्यपहाडी लोकमार्गको विकासले अहिले धेरै सुगम बनिसकेको छ । यद्यपी ग्रामीण बस्तीमा अझै सडक पूर्वाधारको विकास गर्न जरुरी छ । तर मुख्य लोकमार्गको नजिक भएकोले कृषि र पशुपालनको विकास गर्दा सहजै बजारीकरण गर्न सकिने अवस्था छ ।

वडा कार्यालयले आम नागरिकको सचेतना विकास गरेर शिक्षा र स्वास्थ्यमा सुधार ल्याउँदा विकास र अवसरको सिर्जना गर्न नागरिक आँफै जागरुक बन्ने छन् भन्ने आस गरेका छौं । तरपनि हामीले स्तरीय सडककोलागि डिपिआर बनाइसकेका छौं । गुणस्तरीय शिक्षाका लागि धेरै प्रयास भैसकेका छन् । पर्यटन प्रवद्र्दन गर्न पदमार्गहरु निर्माण गरेका छौं । बोहोरागाउँका ग्रामीण बस्तीहरु आँफैमा आर्कषक छन् । त्यसैले सामान्य व्यवस्थापन गराउन सक्दा पर्यटकहरु घुम्न आउने वातावरण बन्छ । सानो लगानीमा भएपनि वडा नं. ३ भित्रका सबै नागरिकले अनुभव पाउने गरी सडक संजालको विकास भएको छ । डिपिआर अनुसारको प्युठान जोड्ने सडक बनिसकेर कालोपत्रे गर्न सके लोकमार्ग छेवैमा उद्योग बन्न सक्छन् ।

त्यसो त हामीले ढुंगा उद्योग चलाउन पनि प्रयास गरेका छौं । तर केन्द्रीय नीति नियमले अप्ठ्यारो पारेको छ । स्थानीय उत्पादन र उपभोगका लागि भने हाम्रो प्रयास सफल बनाउन प्रयासरत छौं । कृषिक्षेत्रमा विशेषगरी सुन्तला र कागतीको उत्पादन बढाउन सकेमा राजमार्गमै सहजै बिक्री हुन्छ । बजार खोज्दै कतै जानुपर्दैन । तसर्थ हामीले कृषि शाखासँग पनि यो विषयमा बढी चासोका साथ अध्ययन गर्न र किसानको आवस्यकता समेत बुझ्न लगाएका छौं ।

आजभोली लगानी गरेको भोलीपल्टै उपलब्धी खोज्ने प्रवृत्ति भने बढेको छ । यो प्रवृत्तिले युवाहरुमा काम गर्ने जोश हराएको छ । दिगो विकासका लागि धैर्यता जगाउन सकियो भने युवाहरुलाई कृषि उत्पादनबाट पनि समृद्दि संभव छ भन्ने देखाउने प्रयासमा छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->