शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पर्ख न पर्ख १५ महिना पर्ख, मेरो राजीनामा आउँछ: ओली

पर्ख न पर्ख १५ महिना पर्ख, मेरो राजीनामा आउँछ: ओली

आफूविनाको एमाले र एमालेविनाको नेपालको कल्पना गर्नेहरूको मनसाय राम्रो नभएको ओलीको टिप्पणी


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८२, मंगलबार

काठमाडौं / प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य र उमेरबारे अनावश्यक चिन्ता नलिन आग्रह गर्दै १५ महिनापछि सहमतिअनुसार सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारेका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘किन आतिएको ? पर्ख न, १५ महिना पर्ख, पर्ख मेरो राजीनामा आउँछ।’

ओलीले आफूविनाको एमाले र एमालेविनाको नेपालको कल्पना गर्नेहरूको मनसाय राम्रो नभएको टिप्पणी गर्दै मिसन २०८४ मार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने संकल्प दोहोर्‍याए।

‘हामी अस्तित्वको लडाइँमा होइन, विजयको यात्रामा छौँ। राणा, पञ्चायत र निरङ्कुश राजतन्त्रविरुद्ध लडेर स्थापित भएको एमाले कसैको षड्यन्त्रले कमजोर हुँदैन,’ उनले भने।

प्रधानमन्त्रीले कम्युनिस्ट आन्दोलनलाई विभाजन गर्ने प्रयास भए पनि जनताको विश्वासले एमालेलाई सबैभन्दा लोकप्रिय पार्टी बनाएको दाबी गरे।

‘दुई तिहाइको पार्टी फुटाउने षड्यन्त्र भयो, तर हामीले आन्दोलनलाई पुनर्गठन गरेर जनताको मन जित्यौँ,’ उनले थपे। उनले विकास, सुशासन र समृद्धिको बाटोमा सरकार अघि बढिरहेको उल्लेख गर्दै आगामी बजेट र नीति–कार्यक्रम जनकेन्द्रित हुने प्रतिबद्धता जनाए।

ओलीले राजतन्त्रको पुनर्स्थापनाको कुरालाई ‘भूलभूलैया’ को संज्ञा दिँदै लोकतान्त्रिक गणतन्त्र र संविधान नमान्ने शक्तिहरूलाई २१औँ शताब्दीमा जनताले स्वीकार नगर्ने चेतावनी दिए।

उनले हालैको थाइल्याण्ड भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सकारात्मक कुराकानी उल्लेख गर्दै नेपालको कुनै पनि मुलुकसँग शत्रुता नरहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->