सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पक्की सडकले जोडिदै माझीबस्ती र ढोडेनी

पक्की सडकले जोडिदै माझीबस्ती र ढोडेनी


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०८२, बुधबार

बागलुङ/पाँच वर्ष अघि बाङगेचउरदेखि आफ्नै थातथलो झरेका बलबहादुर माझीले निरन्तर धुलोको सास्ती खेपेका थिए । वर्षातमा हिलो र हिउँदमा धुलोको सास्तीले उनी आजित थिए । गणेशघुम्तीदेखि माझी बस्ती हुँदै निरयघाट जाने सडक जीर्ण थियो । सहजै आउजाउ गर्न अप्ठ्यारो पथ्र्यो । तर यो बर्षदेखि सास्ती हट्ने छ ।

निर्माणाधिन सडक असारभित्रै कालोपत्रे गरिने भएपछि धुलो खानुपर्ने बाध्यता हटेको माझीले बताए । बागलुङ नगरपालिकाले सहरी शासकीय सुधार कार्यक्रममार्फत यो सडक कालोपत्रे गर्न लागेको हो । यो सडक बनिसक्दा पर्वतको लस्तीका टेकबहादुर क्षेत्रीले दैनिक दूध बेच्न बागलुङ बजार आउने बाटो पनि ७ किमी छोटो पर्छ । उनले दैनिक ८० लीटर दूध बागलुङमा ल्याएर विक्री गर्छन् । मालढुंगा हुँदै बागलुङ बजार आउँदाको भन्दा यो बाटो प्रयोग गर्दा आधा छोटो हुने बताए ।

पर्वतको लस्ती, धाइरिङ र बागलुङको ढोडेनीका किसानले फलाएका तरकारी, फलफूल र दूध सबै बागलुङ बजारमा बिक्री गर्छन् । यो सडकले उनीहरुको दैनिकीमा धेरै सुधार ल्याउन थालिसकेको छ । ‘सडक बनिसक्यो भने हामीलाई धेरै नै फाइदा पुग्छ’ क्षेत्रीले भने, ‘बिरामी पर्दा धौलागिरि अस्पताल आउन पनि सजिलो हुनेछ ।’ बागलुङ नगरपालिका ४ को ढोडेनीका ७६ वर्षिय जिवानन्द सापकोटाले सदरमुकाम आउनुपर्दा डेढ घण्टाको पैदल यात्रा गर्नुपथ्र्यो । बिरामी भएमा गाडी चढेर आउनुपरे झण्डै १५ किमी घुमाउरो सडकबाट मात्र बागलुङ बजार आइपुग्थे ।

सिधै बजार आउने बाटो नभएपछि पर्वतको लस्ती, खनियाघाट र मालढुंगा हुँदै यात्रा गर्न बाध्य थिए । उपचारदेखि नगरपालिकाको प्रशासनिक काममा पनि उनीहरुले सास्ती खेप्थे । जंगलको बाटो भएकोले एक्लाएक्लै पैदल हिंड्न पनि सक्थेनन् । तरकारी फलाएर पनि बजारमा ल्याउन निकै गाह्रो थियो ।

ओडारचौरदेखि ढोडेनी जोड्ने सडक पनि सँगै स्तरोन्नती भैरहेको छ । मुक्तिनाथ हिंडेका पर्यटकलाई बागलुङ कालीका, शालीग्राम संग्राहलय र पञ्चकोटसम्म लैजान यो सडक उपयोगी हुने बानपा ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्रीले बताए । ‘सडक छोटो छ भनेपछि यो बाटो हिंड्ने बढ्ने छन्’ क्षेत्रीले भने, ‘एउटै यात्रामा सबै जिल्ला घुम्ने अवसर पनि पर्यटकलाई हुनेछ ।’ मालढुंगा बेनी सडकको लस्तीदेखि बागलुङको ढोडेनीमा पक्की पुल बनाउन डिपिआर समेत बनिसकेको छ । पुल बनेपछि चारपाङग्रे सवारीमा स्थानीयले सहजै यात्रा गर्न पाउने छन् । मुस्ताङबाट फर्केका पर्यटकले पनि ७ किमी छोटो दुरीमै बागलुङ घुम्न पाउने छन् ।

बागलुङ नगरपालिका वडा नं. १ को गणेशघुम्तीदेखि निरयघाट, वडा नं. ४ को ओडारचौरदेखि ढोडेनी र बानपा ७ को मुलपानीदेखि तितौरे सम्मको साँढे १२ किमी सडकको स्ट्रक्चर तर्फको सबै काम सकिएको आशिष फेवा संयुक्त निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले बताए ।

बागलुङ नगरपालिकाले ‘सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रम’मार्फत आगामी असार मसान्तभित्र सक्ने गरी वडा नं. ७ को मुलपानीदेखि तितौरे सम्मको साँढे ८ किमी, ओडारचौरदेखि ढोडेनी सम्मको साँढे २ किमी र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमी गरी साँढे १२ किमी सडक निर्मण गरिरहेको हो ।

विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाले ४८ करोडमा उक्त सडक निर्माण गरेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए । सडक निर्माणको ६० प्रतिशत प्रगती भैसकेको शर्माको दाबी छ । ‘हामीले स्ट्रक्चरको काम सकेका छौं, कतिपय स्थानमा सब बेस पनि बिच्छ्याई सक्यौं’ शर्माले भने, ‘तोकेकै समयमा काम सक्ने लक्ष्य छ ।’

यी सडक निर्माण भएमा ग्रामीण बस्तीका किसानले उत्पादन गर्ने दूध र तरकारीको बजारीकरणमा सबैभन्दा सहज हुनेछ । त्यस बाहेक बागलुङका अधिकांस नागरिकको मृत्युपछिको दाहसंस्कार गर्ने काममा निरयघाट र ढोडेनी घाट पुग्न सजिलो हुनेछ । निरयघाट सडक स्तरीय बन्दा वृद्दाश्रम, निर्माणाधिन मानवसेवा आश्रममा सामाग्री ढुवानीमा पनि सजिलो बन्नेछ । यी तीनवटै सडकहरु ६ देखि ८ मीटर चौडाका हुनेछन् । यसअघि बैंककै सहयोगमा बागलुङको वडा नंं ४ देखि ६ सम्मको झण्डै ७ किमी सडक कालोपत्रे भैसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->