बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मोदीबेणी घाट : घारो र कात्रोले विजोग छ

मोदीबेणी घाट : घारो र कात्रोले विजोग छ

मलामीहरु पानीको बोत्तल बोकेर आउँछन् अनि त्यत्तिकै छाडेर वा बगाएर फर्कन्छन् । कपाल खौरन प्रयोग भएका ‘मसिन’ र ‘ब्लेड’ यत्रतत्र फाल्दा जोखिम बढेको छ । ढुङ्गाका खोँचमा आक्कलझुक्कल भेटिने रक्सीका ‘बोटल’ ले ‘जूठो बार्ने’ चलनलाई गिज्याएको छ ।


  • संजय रेग्मी
  • बैशाख १६ २०८२, मंगलबार

पर्वत/धार्मिक तिथिको विशेष दिन होस वा सक्रान्ति र औँसी, भक्तजनहरूको धेरै भिडभाड हुने ठाउँमा जिल्लाको कुश्मा नगरपालिका–५ मा रहेको मोदीवेणीधाम पनि हो । पवित्र कालीगण्डकी नदी र मोदी खोलाको संगमस्थलमा रहेका नदीका किनारहरू बाँचेकाहरूले पुण्य प्राप्ति गर्न स्नान गर्नेदेखि बितेकाहरूको शव व्यवस्थापन गर्ने घाट पनि हुन् ।

तर, शवको व्यवस्थापन गर्न जाने मलामीको व्यवहारका कारण ती घाटहरू न त स्नान गर्नका लागि आकर्षक छन् न त शवको व्यवस्थापन गर्न नै । दैनिक करिब चार हजारसम्म मलामीहरू पुग्ने गरेको मोदीबेणी धामको कालीगण्डकी घाट चितामा प्रयोग भएका दाउराका अवशेष, कपाल खौरिन प्रयोग भएका ‘मसिन’ र ‘ब्लेड’, खौरिएका कपाल, पानीका ‘बोटल’ लगायतले कुरूप बन्दै गइरहेको छ ।

विशेष तिथि मितिमा स्नान गर्न जानेहरू कालीगण्डकी तीरैमा पुगेर स्नान गर्न खोज्छन् तर स्नान गर्ने ठाउँमै शव जलाएका काठका कोइला र अङ्गार, तिरैभरि छरिएको कपाल अनि खाली खुट्टा स्नान गर्दा ‘ब्लेड’ ले खुट्टा काट्ने जोखिमले भक्तजनहरू नाक खुम्च्याउन बाध्य छन् ।

‘हामीले बेला बेलामा सफा गर्ने गरेका छौँ। अरूले गरेको फोहोर सफा गर्ने भन्दा पनि कसैले पनि फोहोर नगर्ने र भएको फोहोरलाई व्यवस्थापन गर्न सकेमा बल्ल यो तीर्थस्थल सफा हुने थियो,’ मोदीवेणी धामसँगै रहेको नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष केशवशरण वैरागीले भने, ‘कहिलेकाहीँ दिनमै तीन÷चार हजारसम्म मलामी आउँछन् । उनीहरू लगभग सबैजसोको हातमा पानीका बोतल हुन्छन्। कोहीले मोदी खोला र गण्डकीमै बोतल बगाउँछन्। कोहीले किनारमा जथाभावी तरिकाले फालिदिएका हुन्छन् ।’

मोदीवेणी धाममा पर्वत जिल्लाभन्दा बाहिरबाट पनि शवहरू अन्तिम संस्कारका लागि ल्याउने गरेको भन्दै अध्यक्ष वैरागीलाई घाटको व्यवस्थापनमा स्थानीय तहहरूको पनि चासो आवश्यक हुने बताए । मोदीवेणीधाम प्रसिद्ध रहनु र यातायातको सुविधा पनि हुनुले टाढाबाट समेत शव ल्याएर अन्तिम संस्कार गर्ने क्रम बढेकोले फोहोरका चुनौतीहरू झनै बढ्दै गएको उनको भनाइ छ ।

नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समिति, नृसिंहधाम गुठी, भक्तजनहरूले बेला बेलामा सरसफाइ गर्ने गरेको भए पनि केही दिनमा फोहोर बढ्ने गरेको छ । सफा गर्नेहरू सीमित भएको बेलामा फोहोर गर्नेहरूको सङ्ख्या अधिक हुँदा तीर्थस्थल नै ‘डम्पीङ साइट’ जस्तो हुने गरेको छ । बेला बेलामा पानीका बोटलहरु जलाउने गरिएको छ । तर, धेरैजसो बोतलमा केही न केही पानी छाड्ने बानीले जलाउन पनि समस्या हुने गरेको छ । पैसा तिरेर किनेको पानी आधा खाएर फाल्ने, अरूले खोलेको नखाएर आफैले खोलेको मात्रै चाख्ने ‘बडप्पन’ले पनि फोहोर व्यवस्थापनमा चुनौती भएको छ ।

तीरमा गएर कपाल खौरनेहरूले कपाल, कपाल खौरन प्रयोग भएका ‘मसिन’ र ‘ब्लेड’ यत्रतत्र फाल्दा पनि फोहोर सहित सुरक्षा जोखिम बढेको छ । ढुङ्गाका खोँचमा आक्कलझुक्कल भेटिने रक्सीका ‘बोटल’ ले समेत ‘जूठो बार्ने’ चलन र तीर्थस्थललाई गिज्याएको छ । तीरमा केश मुण्डन गर्न प्रयोग भएका सामग्रीहरू घर लैजान नहुने मान्यता छ । यही अनुसार खोँचदेखि ढुङ्गाका मुख्य भाग र बालुवामा समेत ‘मसिन’ र ‘ब्लेड’ छिरलिएका छन् ।

शव जलाएर बाँकी रहेका दाउराहरू किनारमै मनपरी छाड्ने, दाउराको कोइला पनि सफा नगरी तीरमै छाड्ने तथा कहिलेकाहीँ शवका अवशेष समेत बाँकी भेटिँदा दुर्गन्धित र कुरूप हुने गरेको समितिका अध्यक्ष वैरागीले बताए । ‘निकै टाढाबाट आउने शवहरू कहिलेकाहिँ दिउँसो तीन÷चार बजे बल्ल ल्याउँछन् । उनीहरू घण्टौँ लगाएर फर्किनुपर्ने बाध्यताले हतार हतार जलाउने, शव पूर्ण रूपमा नष्ट नहुँदै छाडेर जाँदा शव पूरा नजलेको समेत भेटिएको छ,’ उनले भने, ‘मोदीवेणी घाट भनेको शव जलाउने र गाड्ने मात्रै नभएर पर्वत र आसपासको क्षेत्रको पवित्र तीर्थस्थल समेत हो । यसको सरसफाइमा सबैको चासो चाहिन्छ ।’

शव नजलाई गाड्ने कतिपयको चलन छ। उनीहरूले शव ल्याएर राम्रोसँग नपुरी ढुङ्गा र बालुवाले सामान्यः ढाकछोप गरेको शैलीमा छाड्दा पनि कालीगण्डकी तीर बीभत्स हुने गरेको छ । शवको दुर्गन्ध फैलिने, गाडिएका शवका भागहरू किनारमा र कुनाहरूमा देखिने, राम्रोसँग नगाडिएका शव सिकारी चराहरूले खोतलेर आन्द्रा तथा मांसपेशीहरू किनारमा बीभत्स अवस्थामा देखिने गरेको छ ।

हजारौँ भक्तालुहरू त्यही कालीगण्डकी नदी किनारमा पुगेर स्नान गर्ने गरेका छन् । किनारमा भएको फोहोर र शव व्यवस्थापनका क्रममा निस्किएको फोहोरका कारण भक्तालुहरूले पनि नराम्रो मान्ने गरेका छन् । मोदीवेणी घाटसँगै वृद्धाश्रम समेत जोडिएर रहेको छ । त्यहाँ बस्ने ज्येष्ठ नागरिकहरू हरेक बिहान कालीगण्डकी स्नानका लागि किनारमा पुग्ने गरेका छन्। त्यहाँको फोहोर देखेर उनीहरू पनि आजित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->