फाइल तस्बिर
बागलुङ/शिक्षा ऐनसहित दर्जन माग राखेर नेपालभरका शिक्षकहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । शिक्षकहरुको आन्दोलनकै कारण यतिबेला देशभर भर्ना अभियान प्रभावित भएको छ । नयाँ विद्यार्थी भर्ना गर्ने, घरदैलो गरेर नयाँ विद्यार्थीलाई सामुदायिक विद्यालयमा आकर्षित गर्ने बेलामा शिक्षकहरु भने ऐनको मागबाहेक अन्य सबै आफ्नो सेवासुविधा थप्ने माग राखेर आन्दोलनमा होमिएका हुन् ।
शिक्षकहरुले विद्यालयका कर्मचारीलाई समेत ताला लगाएर आन्दोलनमा आउन उर्दी गरेपछि राजधानीको आन्दोलनमा सबै पुगेका छन् । नपुगेका शिक्षकहरु प्नि यत्रतत्र भेटिन्छन् । तर, विद्यालय खोलेका छैनन् । छिटफुट विद्यालयमा भने शिक्षकहरु देखिन्छन् । केहीमा भर्ना पनि सुरु भएको छ । तर, जसले भर्ना गरेका छन्, विद्यालय खोलेर पढाएका छन् ती शिक्षकलाई नेपाल शिक्षक महासंघ र आन्दोलनमा निस्केका शिक्षकले दवाब सिर्जना गरेका छन् । ‘हामी राजधानीमा बसेर आन्दोलन गरिरहेका छौं, तपाईंहरु कता ?’ भन्दै दबावमूलक प्रश्न सामाजिक संचालनमा तेस्र्याउने शिक्षक अगुवाहरु धेरै छन् ।
केही शिक्षकहरु पढाइ संचालन गर्ने, भर्ना खोल्ने अभियानमा छन् । तर, शिक्षकका नेताहरुको डर मानेका छन् । संगठनमा नबसे अन्य अप्ठ्यारो पर्दा पनि सहयोग नपाइएला भन्ने लागेको एक शिक्षकले बताए । यो अवसर छोपेर संस्थागत विद्यालयले धमाधम कक्षा संचालनमात्र गरेका छैनन् कतिपय सामुदायिकका विद्यार्थीलाई विभिन्न आशा देखाएर लगिसकेका छन् । कतिपय अभिभावकले स्वस्फूर्त निजीमा लगेका छन् भने कतिपयले बाध्यताले पनि लगेको बताए ।
शिक्षकहरुको आन्दोलनकै कारण कक्षा १२ को निर्धारित परीक्षा सरिसकेको छ । यो परीक्षा अझै पनि सारिएको मितिमा हुन्छ भन्ने यकिन छैन । ‘अब तोकेको समयमा परीक्षा भएन भने के गर्ने होला ?,’ बानपा २ की एक विद्यार्थी सन्ध्या परियारले भनिन्, ‘ब्रिज कोर्स पढ्ने चाहना थियो, भर्ना पनि भैसकेकी थिएँ, पैसामात्रै खेर जाने भयो ।’ आन्दोलन गर्ने शिक्षकले विद्यार्थीको समस्याबारे चासो नराखेको उनले गुनासो गरिन् ।
शिक्षकको आन्दोलनमा नगएका शिक्षक पनि विद्यालयमा छैनन् । उनीहरुले राजनीतिक दल, विभिन्न संघसंस्थालाई दवाब दिएर आन्दोलनमा सघाउन माग गरिरहेका छन् । शिक्षा ऐन ल्याउनुपर्ने विषयमा त धेरै पालिकाले विज्ञप्ति निकालेरै समर्थन पनि गरिसकेका छन् ।
शिक्षकहरुको आन्दोलन कतै बिना निष्कर्ष टुंगिने र फर्कंदा विद्यालयमा विद्यार्थी पनि नरहने त होइनन् ? भन्ने आशंका बढ्दै गएको छ । ‘शिक्षक फर्कंदा अभिभावकले निजीमा लगिसकेको भए उनीहरुले कता पढाउँछन् ?,’ बानपा ११ का अभिभावक रेशम गौतमले भने, ‘एउटा समयसम्म शिक्षकको आन्दोलन उचित थियो, अब अभिभावक रिसाउने बेला बन्यो ।’ शिक्षकहरुले आन्दोलन गरिरहँदा अभिभावकले पनि साथ र समर्थन नगरे आन्दोलनको औचित्य नहुने उनले बताए । रित्तो विद्यालयमा फर्कनु पर्दा कतै शिक्षकले जागिर छाडेर हिँड्नुपर्ने हुन सक्ने उनको टिप्पणी छ ।
वैशाख १ गते सम्मको आन्दोलनपछि शिक्षकहरुले सरकारलाई अल्टिमेटम दिएर घर फर्केको भए शिक्षकप्रतिको गौरव र आस्था बढ्ने उनले टिप्पणी गरे । त्यतिबेलै फर्केर भर्ना अभियान चलाउने र कक्षा १२ को परीक्षा पनि तोकेकै मितिमा गराएको भए शिक्षकको मानसम्मान बढी हुने निश्चित थियो । अहिले पनि शिक्षकका धेरै माग जायज त छन् तर लाखौं विद्यार्थीको भविष्य अन्यौल पारिदिँदा शिक्षकको माग कतै गौण बनिरहेका त छैनन् भन्ने कुरा बुझ्न जरुरी छ । किनकि, शिक्षकले अहिलेसम्म सित्तैमा पढाएका छैनन् । न्यूनतम भएपनि सरकारी तलब खाएका छन् । हो, कर्मचारी सरह तलब भत्ता र सेवासुविधा समान छैन । तर, शिक्षकहरु कर्मचारीझै टाढा पनि छैनन्, घरपायकमा छन् ।
शिक्षकको आन्दोलनमा विज्ञप्ति निकालेर समर्थन गर्ने नेता, स्थानीय तहले बालबालिकाको भविष्यबारे बोलेका छैनन् । बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले शिक्षकको माग जस्तै विद्यार्थीको अधिकारबारे बोल्नपर्ने भए पनि विज्ञप्ति प्रकाशित गर्न ढिला भएको तर्क गर्छन् । ‘मेयरसाहेप हुनुहुन्न, त्यसैले विज्ञप्ति ढिला भएको हो, विद्यार्थीको भविष्यबारे पनि हामी चिन्तित छौँ,’उनले भने, ‘मन्त्रिपरिषद्को निर्णय के हुन्छ त्यसपछि बोलौंला ।’
कतिपय स्थानमा शिक्षकहरुलाई तत्काल विद्यालय खोल्नका लागि फर्कन पालिकाहरुले अल्टिमेटम दिएका छन् । पोखरा महानगरपालिकाले पनि विद्यालय खोलेर पठनपाठन पनि संचालन गर्न आग्रह गरेको छ ।
बागलुङ सदरमुकामको विद्यामन्दिर,बलेवाको गणेश माविलगायत केहीले भर्ना गराएको र पढाइसमेत थाल्ने बताए । ‘हामीले आन्दोलनको चरण एकातिर भएपनि पढाइ चलाउने निधोमा पुग्यौैँ,’ विद्यामन्दिर माविका प्रअ छविरमण रेग्मीले भने, ‘कानून आजको भोलि बन्दैन, त्यसका लागि समय चाहिन्छ भन्ने शिक्षकले बुझौँ ।’ असार मसान्त वा भदौसम्मको म्याद दिएर शिक्षकहरु फर्कनुपर्ने उनले सुझाए । यसअघि बागलुङका अधिकांश पालिकाले शिक्षकको आन्दोलनको समर्थन गरेका थिए । विद्यार्थीको पढाइबारे भने उनीहरु बोलेका छैनन् ।





