पोखरा/संविधानको अनुसूची ६ मा प्रदेशको एकल अधिकारको सूची राखिएको छ । त्यही सूचीमा पर्छ, प्रदेशभित्रको राष्ट्रिय वन ।
तर, त्यसको उपभोग प्रदेशले गर्न पाएको छैन । जैविक विविधताले सम्पन्न पञ्चासे वन क्षेत्र आफू मातहत ल्याउने र राजस्वसँग जोड्ने आशासहित गण्डकीले संघीय वन ऐन संशोधन गरिदिन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
प्रदेश विकास समाधान समितिको बैठकले ऐन संशोधनको लागि अनुरोध गर्ने निर्णय गरेको हो । ‘पञ्चासे वन संरक्षण क्षेत्र राष्ट्रिय वन अन्तर्गत पर्ने भएकोले राष्ट्रिय वन क्षेत्रको व्यवस्थापन प्रदेश सरकारको एकल अधिकारमा संविधानमा उल्लेख भएको हुँदा प्रदेश कानुन बमोजिम व्यवस्थापन गर्ने गरी संघीय वन ऐन, २०७६ को दफा १५, १६ र १७ संशोधन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने,’निर्णयमा भनिएको छ ।
वनक्षेत्रमा प्रदेशले आँखा लगाएको यो पहिलोपटक भने होइन । गण्डकी प्रदेशसभाले २०८० असोज ४ गते वन ऐन २०८० पारित गरेको थियो । उक्त ऐनलाई राजस्वसँग जोड्न भन्दै स्थानीय तहहरूले उठाउने नदीजन्य पदार्थको राजस्व आफैँले संकलन गर्ने व्यवस्था गरिएको छ ।
ऐनको यो व्यवस्था स्थानीय सरकारसँग बाझिने भन्दै स्थानीय तहहरुले विरोध गर्दा ऐन कार्यान्वयनमा आएको छैन । आफैले बनाएको ऐन कार्यान्वयन पूर्णरुपमा नभएतापनि संविधानत आफूले पाउनुपर्ने वन अहिलेसम्म नपाएको भन्दै संघीय ऐन संशोधन गर्न गण्डकीले आग्रह गरेको हो ।
जैविक विविधता, जल स्रोत र पर्यापर्यटनको दीगो व्यवस्थापन एवं वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित कास्की, पर्वत, स्याङ्जाको ५ हजार ७ सय ७६ हेक्टर जंगललाई २०६८ फागुनमा पञ्चासे वन क्षेत्र घोषणा गरिएको हो ।समुद्री सतहबाट ९ सयदेखि देखि दुई हजार ८०० मिटरसम्मको उचाइमा फैलिएको यो वनको क्षेत्रफल पाँच हजार ७७५ हेक्टर रहेको छ ।
पञ्चासे वनभित्र ५ सय ८९ प्रजातिका वनस्पति छन्, जसमध्ये १ सय ७ प्रजातिका जडीबुटी, ५६ प्रजातिका च्याउ, ९८ प्रजातिका उन्यु र १ सय १३ प्रजातिका सुनखरी छन् । २ प्रजातिका सुनाखरी त पञ्चासे वनमा मात्र पाइन्छन् । पाखनभेद, चिराइतो, सतुवा, तिते, लौठसल्ला, चत्रे उन्यु, चाँपजस्ता महत्वपूर्ण जडिबुटी पाइने यो क्षेत्र चितुवा, भालु, रतुवा, स्याल, वन बिरालो, बाँदर र मलसाप्रो जनावरको बासस्थान हो ।
कालिज, वनकुखुरा, कोइली, जुरेली, कालिज, लामपुच्छ«े, काग, बाज, ढुकुर, बकुल्ला चराहरुको बासस्थान पनि पञ्चासे हो । यहाँ सारस र सुगा लगायतका चराहरु बसाइसराइँ गरेर आउने गर्छन ।
पर्यापर्यटन र चरा अवलोकनको लागि उपयुक्त यो वनलाई आफू मातहत ल्याउने र राजस्वको स्रोतको रुपमा उपभोग गर्ने तयारी गण्डकी सरकारको छ ।वन क्षेत्रभित्र पर्ने नदीजन्य पदार्थको राजस्व आफै संकलन गर्ने व्यवस्थासहित जडिबुटीबाट पनि राजस्व बढाउने भनेर गण्डकीले ऐनमा नै उक्त व्यवस्था गरिसकेको छ ।ऐनको दफा १६ मा जडिबुटी संकलन, खेती र प्रशोधन एवम बजारीकरणको व्यवस्था गरिएको छ ।
‘प्रदेश सरकारले सार्वजनिक, नीजि साझेदारी वा सहकारी वा नीजि क्षेत्रबाट जडिबुटी संकलन, खेती प्रविधी विकास, विस्तार, उत्पादन, प्रशोधन एवम बजार प्रवद्र्धन गर्न सक्नेछ,’ऐनमा भनिएको छ ।
जडिबुटी अनुसन्धान केन्द्र स्थापना गर्ने, पकेट क्षेत्रको रुपमा विकास गर्ने, जडिबुटी तथा गैरकाष्ठ वन पैदावरको बिक्री वितरणको व्यवस्था ऐनमा छ ।
स्वीकृत आवधिक योजनाको अधिनमा रही डिभिजन वन कार्यालयले तोकिएका जडिबुटी तथा गैरकाष्ठ वन पैदावारको संकलन तथा बिक्री वितरणको इजाजात दिन सक्नेछ,’ दफा १९ मा भनिएको छ, “जडिबुटी तथा गैरकाष्ठ वन पैदावनको संकलन, बिक्री वितरणको इजाजत सम्बन्ध िअन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।”प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले पञ्चासे वन क्षेत्र प्रदेशको एकल अधिकारभित्र पर्ने हुँदा माग गरिएको बताए । ‘मुख्य त प्रदेशको अधिकार क्षेत्रभित्र रहने हुनाले हाम्रो व्यवस्थापनमा आउनुपर्छ भन्ने हो,’उनले भने ।
पञ्चासेको आफ्नै जैविक विविधता छ । मुख्यत यही विविधताको संरक्षण प्रदेशले गर्ने उनले बताए । ‘जैविक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ । पर्यटनको पनि हब नै हो,’उनले भने, ‘संरक्षण क्षेत्र बनाउने, अध्ययन अनुसन्धानको यो थलोलाई प्रदेशको गहनाका रुपमा अगाडि बढाउने हो ।’
ऐतिहासिक र धार्मिक महत्वमा पञ्चासे
पञ्चासे क्षेत्रलाई स्याङजामा रहेको पर्यटकीय स्थल अन्धाअन्धी दहसँग पनि जोड्ने गरिन्छ । परापूर्व कालमा अयोध्याका राजा दशरथका भान्जा श्रवणकुमारका माता र पिताहरु दुईवटै आँखा नदेख्ने थिए । उनीहरु छोरा श्रवणकुमार को साहरामा नै बाँचिरहेका थिए । श्रवणकुमारले नै उनीहरुलाई बोकेर नै तीर्थव्रत तथा धार्मिक स्थलहरु घुमाउने गर्दथे । घुम्ने क्रममा एक दिन उनीहरु एउटा ओडारमा बास बस्न पुगेछन हाल त्यो ठाउँ आन्धा–अन्धी दहको ठीक माथि छ जहाँका पत्थरहरूमा विभिन्न आकृतिहरु, छाप कोरिएको भटिन्छ । त्यस समयमा त्यहाँ पानीको श्रोत नभएको कारण आफ्ना अन्धा–अन्धी बुवाआमाको पानीको प्यास मेटाउन पानीको खोजिमा एउटा डाँडामा पुग्छन जहाँ पानीको तलाउ भेट्छ्न । सोही ठाउँ पञ्चासे रहेको भनेर विश्वास गरिन्छ ।
यहाँ बालाचर्तुदशीमा सद्वीज छर्नेहरूको घुँइचो लाग्छ ।
स्याङ्जा, पर्वत र कास्की जिल्लाको सिमानामा पर्ने पंञ्चासे पर्यटकीय गन्तव्यको रूपमा पनि विकसित छ । पञ्चासे जंगलको बिचमा एउटा पोखरी छ । जहाँ कुनै पनि पातहरु खसेको नभेटिने, चराहरुले टिपेर फाल्ने किंवदन्तीसमेत पाइन्छ ।
पञ्चासे पर्यटकीय गन्तव्यस्थल बन्दै गएपछि यहाँको बाटोघाटो धर्मशाला खानेपानीलगायतका पूर्वाधार निर्माणका कार्य अघि बढाइएको छ । पर्यटकीयस्थल, धार्मिक क्षेत्र बस्ती र जैविक विविधताको पञ्चासेमा भौगोलिक सूचना प्रणाली तयार गरिएको छ ।





