तस्बिर : रमिता पुन मगर
बागलुङ/कुनै समय गुमनाम जस्तै रहेको ढोरपाटन शिकार आरक्ष सडक सञ्जालले जोडिएपछि पर्यटकको रोजाईमा पर्न थालेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण ढोरपाटनमा पुग्ने पर्यटकको संख्या वर्षेनि बढ्दै गएको छ । ढोरपाटन उपत्यकामा रमाउने पर्यटकको नयाँ गन्तव्य बनेको छ– बुकी पाटन ।
ढोरपाटनमा जति धेरै पर्यटक भित्रिएका छन् त्यति नै फोहोर भित्रिदा सुन्दर र सफा ढोरपाटन उपत्यका क्षेत्र प्रदुषित र कुरुप बन्दै गएको छ । दैनिक सयौंको संख्यामा पुग्ने पर्यटकहरुले प्रयोग गरेका सामग्री जथाभावी फाल्ने र त्यस्ता फेहोरको वैज्ञानिक व्यवस्थापन नहुँदा ढोरपाटन क्षेत्रमा फोहोर बढ्दै गएको हो । प्लाष्टिकजन्य, क्यान, सिसाको बोतलजस्ता नकुहिने फोहोरले ढोरपाटन कुरुप बन्न थालेको हो । फोहोरको उचित उत्सर्जन गर्ने स्थान अभावले पर्यटकले फोहोर जथाभावी फाल्ने गरेका हुन् ।
ढोरपाटनमा बढिरहेको फोहोरलाई व्यवस्थापन गर्नसके प्राकृतिक अवस्था कायम रहने र आन्तरिक तथा बाह्य पर्यटकलाई पनि आकर्षण गर्न सकिने भएकाले स्थानीयलाई सचेत गराउन थालिएको छ । बिवाईसी बागलुङद्वारा सञ्चालित दिगो पर्यटन प्रवद्र्वन परियोजनामार्फत ढोरपाटन उपत्यका सरसफाई गर्नुका साथै फोहोर व्यवस्थापनबारे स्थानीयलाई सचेत गराईएको सामाजिक परिचालक रमिता पुन मगरले जानकारी दिइन् । आन्तरिक पर्यटकको रोजाईमा समेत पर्न थालेको ढोरपाटनको सुन्दरता र वातावरणलाई जोगाउन फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने मगरले बताइन् ।
ढोरपाटन नगरपालिका वडा नं. ९ का स्थानीयबासीको सहभागितामा ढोरपाटन उपत्यकामा पर्ने नवी, भुजी गाउँ, विमानस्थल परिसर, तिब्बतीयन क्याम्प, छेन्तुङ गुम्बा, उत्तरगंगा नदी किनार र पाखाथर क्षेत्रमा सरसफाई गरिएको हो । सरसफाइ कार्यक्रमले ढोरपाटन उपत्यका क्षेत्र सफा भएको सन्देश जाने परियोजनाको विश्वास छ । ‘‘फोहोरको दिगो व्यवस्थापन गर्न स्थानीयलाई नै जागरुक बनाउनुपर्छ’’ मगरले भनिन्, ‘‘स्थानीय सरकार, ढोरपाटन सिकार आरक्ष कार्यालयले त नीतिगत व्यवस्था नै गरेर फोहोरको दिगो व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ ।’’
पर्यटकले लगेका फोहोरलाई जभाभावी नफाली सम्बन्धित ठाउँमा व्यवस्थापन गर्न सकेपनि प्रदुषण कम हुँदै जाने उहाँको भनाई छ । फोहोर व्यवस्थापनबारे सचेतना जगाउने उदेश्यले उपत्यका क्षेत्रमा रहेका २२ टोलका बासिन्दा सम्मिलित ‘ढोरपाटन उपत्यका सरसफाई समिति’ गठन गरिएको मगरले जानकारी दिइन । समितिले आगामी दिनमा सरसफाइदेखि फोहोर सम्बन्धि सचेतना कार्यक्रम गर्ने छन् ।
ढोरपाटन पुग्ने पर्यटकहरु चाहेजस्तो सेवासुविधा नपाउँदा बुर्तिवाङ बजार फर्किएर बास बस्नुपर्ने अवस्था छ । निसी र ढोरपाटन पुग्ने पर्यटकलाई सेवा दिनेगरी सो क्षेत्रमा घरबास संचालनको तयारी परियोजनाले गरिरहेको छ ।
आरक्ष र पश्चिम बागलुङका पर्यटकीय क्षेत्र पुग्ने पर्यटकका लागि व्यवस्थित होटल तथा रेष्टुराँ नरहेको र एकाद सञ्चालनमा रहेका घरबासले आवश्यकता पूर्ति गर्न नसकेपछि पर्यटन प्रवद्र्वृन परियोजनामार्फत निसी र ढोरपाटनमा ३० वटा घरबास संचालनको तयारी थालिएको परियोजनाका निर्देशक अमर थापाले बताए ।
चालु आर्थिक वर्षको ९ महिनामा ढोरपाटन शिकार आरक्षमा झण्डै १० हजार बढी पर्यटक पुगेका छन् । चालु वर्षको फागुन मसान्त सम्ममा १० हजार ७ सय पर्यटकले ढोरपाटन भ्रमण गरिसकेका छन् । तीमध्ये १ सय २० जना विदेशी पर्यटक रहेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा १५ हजार ७ सय ७० जना आन्तरिक र १ सय ६ जना विदेशी पर्यटकले ढोरपाटन घुमेका थिए ।














