शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ऐतिहासिक बस्ती निसेलढोरलाई उपयोग गर्ने लक्ष्य

ऐतिहासिक बस्ती निसेलढोरलाई उपयोग गर्ने लक्ष्य

‘निसेलढोर उत्पादनमा उर्वर क्षेत्र मात्र हैन, इतिहास बोकेको स्थान हो, तर यसको उचित अध्ययन भएको छैन’ घर्तीले भने, ‘यो क्षेत्रको सदुपयोग गर्न सकेमा गाउँपालिका समृद्द बन्न सक्छ ।’


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८२, शुक्रबार

निसीखोला गाउँपालिकाभित्र फरक फरक बिशेषता भएको भूगोल र वातावरण छ । त्यो मध्येको अनुपम क्षेत्र निसेलढोर हो । निसीखोला गाउँपालिका वडा नं. ५ को निसेलढोर कृषि उत्पादनका लागि उर्भर भूमी हो । त्यस बाहेक यो हरियाली र मनमोहक उपत्यका भएकोले पर्यटकका लागि पनि आर्कषक गन्तव्य हो ।

वडा कार्यालय निसी गाउँमा भएकोले निसेलढोरका बासिन्दाले भौगोलिक कठिनाइ भने धेरै खेप्न बाध्य छन् । आफ्नै वडा कार्यालय पुग्न निसेलढोरबासीलाई १० घण्टा लाग्छ । त्यसैले अत्याधिक जाडो मौषममा मात्र यहाँका बासिन्दा बेसी अर्थात् निसी गाउँ झर्छन् । अन्य समयमा निसेलढोरमै बसेर आलुखेती गर्छन् । पशुपालन गरेका छन् । निसेलढोरमा मात्रै झण्डै ४ सय घरटहरा भएको स्थानीय सुमन घर्तीमगरले बताए । ‘हामी सबैले कृषि र पशुपालन गरेर बसेका छौं’ उनले भने, ‘सडक संजालको सहज पहुँच भए किसानको उत्पादनले राम्रो बजार पाउने थियो ।’ परम्परागत रुपमा सयौं स्याउका बोट छन् यहाँ । त्यसैले प्रसस्त स्याउ फल्ने गरेको छ । त्यस बाहेक गाउँपालिकाले पनि दुइ वर्ष अघि यहाँका किसानलाई फुजी र गोल्डेन स्याउको बिरुवा वितरण गरेको थियो । त्यसले फल दिन थालेको छ ।

तीन वर्ष अघि रोपिएका बिरुवाले फल दिन थालेपछि किसान झन् खुसी छन् । गत वर्षदेखि नै उनीहरुले स्याउ फलाएर खान थालिसकेको बताए । कृषि शाखाका प्राविधिकलाई लगेर उनीहरुले स्याउको स्वाद चखाए । किसानको बारीमै पुगेका कृषि शाखाका कृषि प्राविधिक ताराबहादुर परियारले स्वाद पनि मिठो भएको बताए ।

हुर्केका ती बिरुवामा यो वर्ष उत्पादन बढ्ने अनुमान छ । त्यो उत्पादन बिक्रीका लागि किसानले बजारको खोजी गरिरहेका छन् । थोरै उत्पादन त नजिकको बजारमा सहजै बिक्री हुनेछ । तर धेरै उत्पादन हुँदा पालिकाले बजारीकरणमा साथ दिनुपर्ने घर्ती बताउँछन् । त्यसका लािग गाउँपालिकामा पुगेर कृषि शाखालाई जानकारी गराएको बताए । घर्तीको बारीमा मात्रै ४ सय ठूला र १ सय नयाँ बोट छन् । मित्रबहादुर घर्ती, गोमान नेपाली जस्ता किसानले पनि स्याउ लगाएर फलाउन थालेको बताए । यहाँका किसानले ग्रेडिङ गरेर प्रतिकेजी १ सय रुपैयाँ सम्ममा स्याउ बेच्ने गरेका छन् । सुमनले मात्रै गतवर्ष २४ क्विन्टल स्याउ बेचेको बताए ।

उनकै बारीबाट गतवर्ष ५ ट्रयाक्टर अर्थात् १ सय ५० क्विन्टल आलु बिक्री भयो । ती कृषि उपज बेच्न उनीहरुलाई सडक अभाव छ । सिधै निसीखोला पुग्न नसकिने भएपछि ढोरपाटन, बोबाङ हुँदै बुर्तिवाङ पठाउँदा धेरै खर्च लागेको नेपालीले गुनासो गरे । तरपनि निसेलढोरमा अझै सयौं क्विन्टल स्याउ र आलु फलाउने गरी खेती बढाउन सकिने नेपालीको धारणा छ । त्यसका लािग किसानलाई बेलाबेला प्राविधिक सहयोग, रोग किरा लाग्दा उपचारमा साथ दिनुपर्ने र बजारीकरणमा साथ दिने अभिभावक पाएमा किसानहरु थप मेहेनत गर्न तयार छन् ।

गाउँपालिकाले इटालीबाट ल्याएको १ हजार ५० वटा बिरुवा वडा नं. २ को अर्नाकोट र वडा नं. ५ को निसेलढोरमा रोपिएको थियो । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा ती बिरुवा उपलब्ध गराएको थियो । निसेलढोरमा त परम्परागत रुपमा लगाइएका सयौं स्थानीय जातका बोट पनि छन् । पालिकाले उपलब्ध गराएका बिरुवा पनि रोपेर फल्न थालेका छन् । ‘गोल्डेन’ र ‘गाला’ जातको स्याउ प्रसस्त फल्ने गरेको हो । फुजीले राम्रो उत्पादन दियो भने पुराना बोट हटाएर फुजीमय बनाउने लक्ष्य पालिकाको छ । समुन्द्री सतहदेखि २ हजार ६ सय मीटरदेखि ३ हजार ५ सय मीटर सम्मको भूगोलमा यी बिरुवा रोप्न लगइएको थियो । बिरुवा हुर्कंदै गएपछि किसानले बार बन्जेद समेत लगाउन थालेका छन् ।

गाउँपालिकाले कृषि ज्ञान केन्द्र बागलुङको सहकार्यमा स्याउ उत्पादनका लागि माटो र बिरुवा परीक्षण, तालिम तथा बजारीकरणको काम गर्ने तयारीमा छ । ‘समस्यामा आधारित स्थलगत घुम्ती शिविर’ले किसानको समस्या समाधान गर्ने परियारको विश्वास छ । त्यसका लागि पालिकाले बजेट र कार्यक्रम तय गरेको हो ।

गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले स्याउको जोन बनाउन सकिने जमिन र हावापानी भएकोले आवस्यक परेमा बजारीकरणमा पूर्ण साथ दिने बताए । ‘अहिले त स्थानीय बजार, बुर्तिवाङ र बुटवल लैजान सहजै छ’ घर्तीले भने, ‘थप बजार चाहिंदा पनि पालिकाले किसानलाई साथ दिन्छौं ।’ स्याउ उत्पादन बढाउन निसेलढोरको विस्तृत अध्ययन गर्ने पनि उनले बताए । निसेलढोरमा लाखौं हेक्टर जमिन अझै खाली छ । परम्परागत स्याउ फलेपनि स्वादमा मिठो नभएपछि बजार पाउन सकिएको थिएन । गोल्डेन स्याउले राम्रो उत्पादन दिने लक्षण पाएपछि पालिकाले अनुदानको कार्यक्रम ल्याएको हो । त्यस बाहेक किसानले थप किन्न चाहेमा पनि बिरुवा ल्याउन पहल गर्ने कृषि अधिकृत भक्तीप्रसाद रेग्मी बताउँछन् ।

वडा नं. ५ मा पशुपालन पनि उत्तिकै छ । निसेलढोर र निसी गाउँमा पनि प्रसस्त गाईभैसी पालिन्छन् । भेडाच्याङग्रा पाल्ने किसान पनि छन् । भेडा मासुका लागि बिक्री गरिन्छ भने गाईभैसी दुधका लागि उपयोगी छन् । वर्षातमा स्थानीय निसेलढोर मात्र नभइ बुकीसम्म पनि पशु चरनका लागि जाने गर्छन् । ढोरपाटन उपत्यकाबासी अत्याधिक जाडो मौषममा पनि यहाँका बासिन्दा बेसी झर्दैनन् । अधिकांस निसेलढोरमै बस्छन् । जसका कारण उनीहरुलाई घुम्ती बसाई, विद्यालय र स्वास्थ्य चौकी चाहिंदैन । त्यसैले दशैताका निसेलढोर पुगेर धेरैले भेडाच्याङग्रा खरिद गर्छन् ।

निसेलढोरमा ऐतिहासिक बस्ती भएकोले त्यसको छुट्टै अध्ययन गर्नुपर्ने आवस्यकता रहेको गाउँपालिका उपाध्यक्ष प्रेम घर्तीमगर बताउँछन् । नेपालका योजनाविद, कृषि विज्ञ, पुरातत्व विज्ञहरु एकपटक निसेलढोर पुग्नुपर्ने उनले सुझाए । ‘निसेलढोर उत्पादनमा उर्वर क्षेत्र मात्र हैन, इतिहास बोकेको स्थान हो, तर यसको उचित अध्ययन भएको छैन’ घर्तीले भने, ‘यो क्षेत्रको सदुपयोग गर्न सकेमा गाउँपालिका समृद्द बन्न सक्छ ।’ त्यसका लागि नेपालका योजनाविदहरुलाई निसेलढोर लैजाने उनको योजना छ ।

निसीखोला ५ को निसी गाउँ मगर र दलीत बसोबास भएको स्थान हो । तर यहाँका अधिकांसले मगर खाम भाषा बोल्छन् । त्यसैले अघिल्लो वर्षदेखि यहाँ मगर खाम भाषाको पाठ्यपुस्तक समेत बनाएर कक्षा १ मा पढाउन थालिएको छ । चालु शैक्षिक वर्ष कक्षा २ को पाठ्यक्रम लागू गर्ने र क्रमशः कक्षा ७ सम्म लैजाने लक्ष्य गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले सुनाए । आदिमकालमा बोलीचालीमा रहेको खाम भाषा अझै जिवित रहेकोले त्यसलाई जगेर्ना गर्न यो पाठ्यक्रम बनाएको घर्तीको भनाइ छ । बोलीचालीमा मात्रै जिवित रहेको भाषालाई लिखित रुपमा पनि संरक्षण गर्न लागिएको उनले बताए ।

निसी गाउँ र निसेलढोर कला संस्कृतिमा पनि धनी छन् । यहाँ गाउँ पूजा भन्ने महत्वपूर्ण पर्व मनाइन्छ । आफ्नै संस्कृति र बाइसेचौविसे राज्यको झझल्को सँग सम्बन्धित भएपनि अहिले आफ्नो स्थानीय परम्पराको रुपमा संरक्षित छ । निसेलढोरमा साउनको अन्तिम मंगलबार विशेष प्रकारको गाउँ पुजा हुन्छ । त्यसकालागि निसी गाउँदेखि सयौं मानिस लर्को लागेर निसेलढोर पुग्छन् । गाउँपुजाको बेला स्थानीयले कपैया नाँच देखाउँछन् । यी नाँचहरुलाई संरक्षण गर्न युवापुस्तामा हस्तान्तरणको चुनौती छ । गाउँपालिकाले लगानी गरेर कला र संस्कृतिको पुस्तान्तरण गराउनुपर्ने वडा अध्यक्ष हर्कमान घर्तीले बताए ।

विकास निर्माणको लागि मध्यपहाडी लोकमार्ग निसी गाउँको लागि बरदान भएर आइदियो । केही वर्ष अघिसम्म सडक अभावमा अनकन्टार मानिएको निसीमा अहिले कालोपत्रे सडक छ । जसका कारण घुम्ने मानिसहरु सरासर पुग्छन् । निसी गाउँमा होटलहरु पनि खुल्न थालेका छन् । ती होटललाई स्तरीय बनाउन सकेमा पर्यटक बढाउन सकिनेछ । ग्रामीण सडक खुल्ने क्रम शुरु भयो । ज्ञानेन्द्र माविमा गुणस्तरीय शिक्षा बढाउन पहल भएको छ । आर्कषक भवन निर्माण गरिएको छ । सयौं विद्यार्थी विद्यालय बाहिर हुने निसीमा अहिले धेरै बालबालिका विद्यालय जान्छन् ।

स्वास्थ्यमा पनि निसीका बासिन्दा सचेत छन् । निसेलढोरमा भने यातायातको अभाव छ । बर्थिङ सेन्टर छैन । जसका कारण सुत्केरी हुनुपर्नेहरुले जोखिम मोलेका छन् । कतिपय मानिस घरमै सुत्केरी भैरहेका छन् भने कतिपयले पाल्पा र बुटवलसम्म गएर डेरा लिएर बस्छन् । एकडेढ महिना बसेर सुत्केरीपछि मात्र गाउँ फर्कन्छन् । यो समस्या हटाउन यहाँ सुविधासम्पन्न वर्थिङ सेन्टर स्थापना हुन जरुरी छ ।

स्थानीय उत्पादनको बजारीकरणमा जोड

हर्कमान घर्तीमगर
वडा अध्यक्ष, वडा नं. ५ निसीखोला गाउँपालिका

निसीखोला गाउँपालिका बन्नु अघि र मध्यपहाडी लोकमार्गको पहुँचमा आउनुपुर्व धेरै दुर्गम थियो । अहिले पनि कतिपय बस्तीहरु धेरै दुर्गममा छन् । तर सडकको पहुँच बढेकोले धेरै सास्ती हटेको छ ।

तर शिक्षा र स्वास्थ्यको सूचक अझै हामीले पर्याप्त बढाउन सकेका छैनौं । सचेतीकरणका कार्यक्रम संचालन नभएसम्म यहाँको शिक्षाको गुणस्तर सुधार हुँदैन । न त आम नागरिकको जीवनस्तर नै माथी उठ्छ । सडकलाई सदुपयोग गर्न स्थानीयलाई उत्पादनमा जोड्नुपर्छ । उत्पादन बजारमा पुग्नुपर्छ । त्यतिमात्र हैन, किसानको उत्पादन बढाउने योजना पनि चाहिएको छ ।

निसेलढोर हाम्रो वडाको ठूलो भूगोल ओगटेको क्षेत्र हो । जनसंख्या पनि प्रसस्त छ । तर सडकले जोड्न सकिएको छैन । ढोरपाटन नगरपालिका भएर जानुपर्छ । निसेलढोरमा किसानले फलाउने आलु र स्याउको बजारीकरणमा ध्यान बढाउनुपर्छ । वडा र पालिकाको सानो बजेटले यो अभियान पुरा गर्न सकिंदैन । त्यसैले हामीले संघिय र प्रदेश सरकारको ध्यानकर्षण गराएका छौं । कम्तिमा किसानको उत्पादन बजारमा लैजान स्तरीय सडक चाहिन्छ । हामी त सडकबाट जोडिएका पनि छैनौं । यो अवस्थाबारे मन्त्री तहसम्म जानकारी पु¥याएका छौं ।

एउटा वर्थिङ सेन्टर समेत नभएकोले निसेलढोरका बासिन्दाले धेरै दुःख पाएका छन् । कति महिला सुत्केरी बन्न नसकेर मृत्युवरण गरेका घटना आइरहेका छन् । चोटपटक लागेकालाई समयमा उपचारमा लैजान नसके ज्यान जान्छ । त्यसैले ढोरपाटन उपत्यका हुदै निसेलढोर, रुकुमको तकसेरा सडक खुल्नुपर्छ । यो सडक खुल्दा पर्यटक पनि बढ्छन् । मध्यपहाडीको पातीहाल्नेसम्म सडक संजाल जोडियो भने निसेलढोरका धेरै उत्पादनले बजार पाउनेछ । निसेलढोरमा अहिले विद्युत र टेलिफोनको नेटवर्क पनि छैन । सम्बन्धित कार्यालयको ध्यानाकर्षण गरेर काम अगाडि बढाएपनि सम्पन्न भएको छैन । स्थानीयले सामुदायिक विद्युतीकरण गर्न पहल गरेको बेला राष्ट्रिय विद्युत आउने आसा देखाएपछि पुरानो काम रोकिएको छ । तर स्थानीयले जम्मा गरेको रकम कसरी फिर्ता हुन्छ भन्ने अन्योल पनि छ । ती सबै विषयलाई गम्भिर रुपमा हेरिदिने नेतृत्वको खाँचो समेत छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->