पोखरा/ विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा पाँच दिवशीय अनुसन्धान विधि तालिम शुक्रबारदेखि सुरु भएको छ । विद्यापीठ अन्तर्गतको अनुसन्धान व्यवस्थापन एकाइको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो ।
तालिमको उद्घाटन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले उच्च शिक्षामा तथा नीति निर्माणमा अनुसन्धान पद्धतिको बढ्दो महत्वमाथि जोड दिए । यस्ता कार्यक्रमले शैक्षिक उत्कृष्टता सुदृढ गर्नुका साथै नवप्रवर्तनमा टेवा पु¥याउने उनले बताए ।
अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सहप्राध्यापक डा. चुडामणि कडेलको अध्यक्षतामा सम्पन्न उद्घाटनसत्रमा विद्यापीठका पूर्व प्राचार्य प्रा. श्रीराम वराल, निवर्तमान प्राचार्य प्रा. डा. जगन्नाथ रेग्मी, अंग्रेजी विभागका विभागीय प्रमुख प्रा. सत्यराज सुवेदी, प्राचार्य सहप्रा. आनन्दमणि रिजाल लगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए । समारोहमा पोखरास्थित पृथ्वीनारायण, कन्या, कालिकालगायत क्याम्पसका प्राध्यापक, विद्यापीठमा कार्यरत प्राध्यापक, कर्मचारी विद्यार्थीको उपस्थिति रहेको थियो ।
उद्घाटन पश्चातका छुट्टाछुटै सत्रमा प्रा. श्रीराम बराल र सहप्रा. डा. भोलानारायण रेम्मीले अध्यक्षता गर्नुुभएको थियो भने पृथ्वीनारायण क्याम्पसका अंग्रेजी शिक्षा विभागका विभागाध्यक्ष सह प्रा. डा. नवराज न्यौपाने र पिण्डेश्वर विद्यापीठको व्याकरण विभागका सहप्रा. डा. भवानीशंकर भट्टराईले सहजीकरण गरेका थिए । वैशाख ३० गतेसम्म चल्ने तालिममा प्राज्ञिक अनुसन्धान विधिसम्बद्ध १० कार्यपत्र प्रस्तुति र कार्यशालाहरू सञ्चालन हुनेछन् । अनुसन्धान व्यवस्थापन इकाइका सदस्य सचिव उप. प्राध्यापक प्रकाश पौडेलद्वारा सञ्चालित कार्यक्रमका सहभागीलाई अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सहप्रा. डा. योगराज पौडेलले स्वागत गरेका थिए ।





