म्याग्दी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा मुस्ताङ तर्फ जादै गरेको बससँग ठोकिएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ग १६ प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग २ ख २१३९ नंको बसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्ला पर्सागढी नगरपालिका–५, का २१ वर्षीय फरमुला मियाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताए । मृतक फरमुला मियाँ दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएको खुलेको छ । मोटरसाइकल मर्मत केन्द्रमा कार्यरत मिस्त्रीले सडकमा मर्मतपछि चेकजाँच गर्दा तिब्र गतिमा सवारीसाधन चलाउने गरेको पाइन्छ ।
घटनास्थलमा प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा पुगेको प्रहरीको टोलीले थप अनुसन्धानका लागि बस चालक मुस्ताङको थासाङ गाउँपालिका २ बस्ने ३६ बर्षिय कुल बहादुर तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।





