सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

उत्तरगंगा ढोरबराहमा भक्तजनको भीड (फोटो फिचर)

उत्तरगंगा ढोरबराहमा भक्तजनको भीड (फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०८२, सोमबार

तस्बिरहरु : राम खत्री
बागलुङ/जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ ढोरपाटन उपत्यकामा अवस्थित प्रसिद्ध उत्तरगंगा ढोरबराह मन्दिरमा बुद्व जयन्ती अर्थात् बैशाख पूर्णिमाको दिन दशनार्थीको घुईंचो लागेको छ । कुनै समय गुमनाम जस्तै ढोरपाटन उपत्यका सडक सञ्जालले जोडिएपछि ढोरबराह मन्दिरमा पुग्ने श्रद्धालुहरुको संख्या वर्षेनि बढ्दै जान थालेको छ ।

ढोरबराहको पूजा गर्न बैशाख पूर्णिमाको अघिल्लो दिन नै भक्तजनहरु ढोरपाटन उपत्यका पुगेका थिए । ढोरबराह मन्दिरमा भेँडाको बलि दिने प्रचलन छ । ढोरपाटन उपत्यका भएर बग्ने उत्तरगंगा नदीमा स्नान गरी प्रसिद्ध ढोरबराह भगवानको पूजाअर्चना गरे मनोकामना पुरा हुने मान्यता छ । मनोकांक्षा पूरा गर्न ढोरबराहको नाममा भाकल गर्ने र भेँडाको बलि दिँदा फल प्राप्ती हुने विश्वास छ ।

ढोर बराह मन्दिरमा जनैपूर्णिमा र चण्डी पूर्णिमामा विशेष पूजा अर्चनाका साथै बलि दिएर ढोरबराहको पूजा गरिन्छ । ऋषितर्पणी अर्थात् जनै पूर्णिमामा ढोरबराह मन्दिरमा ठुलो मेला समेत लाग्ने गर्छ । ढोरबराहमा मेला भर्न छिमेकी जिल्लाहरु म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पर्वत मात्र नभई सडक सुविधाले देशभरबाट श्रद्धालुहरु आउने गरेको वडा नं. ९ का वडा अध्यक्ष खिमबहादुर घर्ति मगरले जानकारी दिए । घर्तिका अनुसार, मन्दिरमा छ सय पचास भेडाको पाठाको बलि चढेको र चार हजारभन्दा बढी भक्तजनले मन्दिरमा पूजा गरेका छन् ।

उत्तरगंगा नदीको उद्गमस्थलमा ढोरबराहको थान रहेकोले उत्तरगंगा ढोरबराह भन्ने गरिएको हो । यहाँ सातमुले मुल, बराह मुल र अपुता मुल गरी तीन मुल छन् । सातमुले मुललाई उत्तरगंगा मुल पनि भनिन्छ । यसै मुलबाट बाइसधारा निस्केका छन् । बराह मुलमा रहेको बहरे गोरुलाई यहाँ बराह देवताको रुपमा पुज्ने गरिन्छ ।

ढोरपाटनमा ढकमक्क फुल फुलेको जनैपूर्णिमाको दिन बलि राजा प्रकट हुने भएकाले उहाँकै स्वागत गर्न उत्तरगंगा मेलामा लाग्ने गरेको लोककथन छ । यसै स्थानमा काग भुसुन्डी नाम गरेका ऋषिले कागको रुप धारण गरी बसेका थिए भन्ने धार्मिक मान्यता छ । उत्तरबाहिनी नदीलाई पवित्र नदी मानिन्छ । यसले छोरा नहुने पुरुषले छोराको वर माग्ने, पृतिलाई तर्पन दिने र मृतकका कपडा बगाउने गरिन्छ । छोराको वर माग्नेले बाइस धारामा नुहाएर बहेरे गोरुलाई पुज्ने र २२ जोर धजा चढाउने गर्दछन् । वर पुरा भएपछि भेडाको साँढको बलि दिने गरिन्छ ।

पर्यटकीय गन्तव्यसँगै धार्मिक रूपमा पनि परिचित ढोरपाटनमा ढोरबराहसंगै रुद्रताल, छेन्टुङ गुम्बालगायत मठमन्दिर छन् । तिब्बती शरणार्थीहरुको जनजीवन, संस्कृति र रहनसहन बुझ्न छेन्टुङ पुग्नैपर्ने गन्तव्य हो । ढोरपाटन उपत्यका पुग्ने अधिकांश पर्यटक घोडचडीमार्फत उपत्यकाको फन्को मार्ने गर्छन् । कुनै समय विदेशी शिकारी मात्रै पुग्ने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->