पोखरा/ पोखराको पृथ्वीनारायण क्याम्पस शैक्षिक योजना तथा व्यवस्थापन विभागको आयोजना, क्याम्पसको सहकार्य तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राष्ट्रिय शिक्षक शिक्षा सम्मेलन सोमबार पोखरामा सम्पन्न भएको छ ।
शिक्षक शिक्षाका नवप्रवर्तन तथा चुनौतिहरु सम्बोधन गर्ने उद्देश्यका साथ शनिवारदेखि आयोजित त्रिदिवसीय सम्मेलनमा शिक्षक शिक्षा सम्बन्धी १७ ओटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । सम्मेलनमा यादवराज अधिकारी, श्रुति शर्मा, शकुन्तला पगेनी, डा. पितृराज बाँस्तोला, डा. पिताम्बर पौडेल, डा. खरिकादेवी पराजुली, डा. श्रीकृष्ण पन्थी, डा. प्रेमप्रसाद पौडेल, डा. विष्णुप्रसाद शर्मा, रामप्रसाद सुवेदी डा. खगराज बराल, प्रा.डा. गुरुप्रसाद सुवेदी, शिक्षविद् प्रा.डा. विद्यानाथ कोइराला, शिक्षविद् प्रा.डा. वासुदेव काफ्ले लगायतले शिक्षक शिक्षाका विविध विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनको पहिलो दिनका प्रमुख वक्ता नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. गुरुप्रसाद सुवेदीले गुरुकुलमा शिक्षण पद्धति विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी दोस्रो दिनका प्रमुख वक्ता शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले बदलिदो गन्तव्यको शिक्षक शिक्षा तथा शिक्षक शिक्षण विषयमा र अर्का प्रमुख वक्ता नेपाल सरकारका पूर्व शिक्षा सचिव तथा नास्ट सेवा आयोगका अध्यक्ष डा. खगराज बरालले नेपालमा शिक्षक र शिक्षक शिक्षा अभ्यास, चुनौति तथा आगामी दिशा विषयक कार्यपत्र प्र्रस्तुत गरेका थिए । तेस्रो दिनका प्रमुख वक्ता शिक्षाविद् प्रा.डा. वासुदेव काफ्लेले शिक्षक शिक्षामा समता, समावेशीकरण र विविधता शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । शनिवार गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले उद्घाटन गरेको सम्मेलनको सोमवार शिक्षाविद् प्रा.डा.वासुदेव काफ्लेले समापन गरेका हुन् ।
शैक्षिक योजना तथा व्यवस्थापन विभागका विभागीय प्रमुख डा. श्रीकृष्ण पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शैक्षिक योजना तथा व्यवस्थापन विभागका सदस्य रामप्रसाद सुवेदी, गोविन्दप्रसाद गैह्रे, सहभागी कल्पना ढुङ्गाना, अङ्ग्रेजी शिक्षा विभागका विभागीय प्रमुख डा. नवराज न्यौपाने, शिक्षा शास्त्र संकायका सहायक क्याम्पस प्रमुख गजेन्द्रप्रसाद च्वाई लगायतले मन्तव्य राखेका थिए । शैक्षिक योजना तथा व्यवस्थापन विभागका विभागीय प्रमुख डा. श्रीकृष्ण पन्थीको संयोजकत्वमा भएको सम्मेलनमा ५० भन्दा बढी शिक्षाकार्मी तथा प्राध्यापकहरुको सहभागीता रहेको थियो भने विभिन्न विषयमा प्यानल छलफल र ब्रेकआउट शत्रहरुसमेत चलाइएको सम्मेलन प्रचारप्रसार संयोजक श्रीकान्त सापकोटाले बताए ।





