निसीखोला गाउँपालिका वडा नं. ६ को भूगोल अधिकांस लेकाली बस्ती हो । पशु चरन र आलुखेती गरेर स्थानीयले जीवन निर्वाह गरेका छन् । पछिल्लो समय मध्यपहाडी लोकमार्गले रुकुम जोडेकोले मध्य भागमा भने यातायातको सहज पहुँच बढेको छ । तर ग्रामीण क्षेत्र भने भौगोलिक कठिनाइ छ ।
तर, पशुपालन र कृषिका लागि स्थानीयले काम गरिरहेका छन् । वडा र गाउँपालिकाले कृषि र पशुपालनमै लगानी र कार्यक्रम जोडेको छ । जिल्लाका कृषि तथा भेटेनरी अस्पतालले पनि पशुको खोपमा साथ दिएको छ । पशुमा लाग्ने रोगबाट बचाउन सकेमा यहाँका किसानले लाखौं कमाइ गर्न सक्छन् । त्यसका लागि गाउँपालिकाले पनि शिविर संचालन गर्ने, किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने काम गरिरहेको छ ।
ग्रामीण बस्ती भएकोेले नागरिकहरु स्वास्थ्य र शिक्षाप्रति सचेत छैनन् । त्यसैले हरेक नागरिकलाई स्वास्थ्य सेवा दिने, शिक्षाको पहुँचमा ल्याउने जस्ता काममा स्थानीय तह गठनपछि मात्र अभियानहरु संचालनमा आएका छन् । त्यसअघि विद्यालय बाहिर रहेका धेरै बालबालिका थिए । स्वास्थ्यको पहुँचमा त अझै सबै जना आइसकेका छैनन् । कतिपय महिलाहरु गोठमै सुत्केरी बन्छन् । उपचार नपाएर दिर्घरोगी समेत भएका छन् । त्यसैले वडाले घुम्ती शिविर राख्दा खर्कहरुमा पुग्ने गरेको छ । यहाँका अधिकांस किसान निसेल ढोर, बुकी र रुकुमतर्फको लेकमा पशु चरनका लागि पुग्छन् । त्यसैले स्वास्थ्य शिविर समेत लेकमै लैजानुपर्ने बाध्यता छ ।
भौतिक विकास निर्माणका लागि धेरै खर्च लाग्छ । तर पनि ग्रामीण बस्ती भएको स्थानमा आधारभूत स्वास्थ्य इकाई स्थापनाको काम भएका छन् । जसले गर्दा कोही नागरिकले पनि स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने लक्ष्य वडाले राखेको छ । तर पनि ग्रामीण बस्तीबाट राजमार्गमा सडक संजाल जोड्ने प्रयास भएको छ ।
नागरिकहरुले पाउनुपर्ने सेवाबारे पनि धेरै अनविज्ञ छन् । वडाले दिने सिफारिस मात्र नभइ पालिकाबाट पाउनुपर्ने सेवाबारे सचेतना अभियान चलाउनुपर्ने आवस्यकता देखेको बुढामगर बताउँछन् । तर पनि स्थानीयहरु आफ्नै मेहेनतले रमाइरहेका छन् । भेडाबाख्रा पाल्ने किसानले उन निकालेर कमाइ गरेका छन् । सीपको काम गरेर सामग्री बनाउने गर्छन् । जाडोका लागि चाहिने काम्लो र बख्खु किसानले बुन्छन् । वर्षातमा झरी समेत ओत्ने र जाडोमा न्यानो हुने भएकोले धेरैले काम्लो मन पराउँछन् । कालो भुँवाको काम्लो बुन्न सकेमा ५० हजार रुपैयाँसम्म बिक्री हुन्छ । सेतो काम्लो केही सस्तो हुने र सस्तो पर्छ भने कालोलाई अर्डर मागेर मात्रै बुन्ने गरिन्छ । गोठमा जानेहरुले हिउँ र पानी पर्दा ओत्ने, राति सुत्दा ओड्ने र बिच्छ्याउने समेत त्यही बख्खु प्रयोग गर्छ्न् भने काम्लो ओड्ने वा पाहुना आउँदा बस्न पनि प्रयोग हुन्छ । भेडीगोठ जाने युवाका लागि त बख्खु नभइ हुँदैन ।
किसानले बुन्ने बख्खु मानिसको साइज अनुसारको हुन्छ भने काम्लो डेढ मिटरदेखि ३ मिटरसम्मका हुन्छन् । बख्खु घरबाटै अर्डर भएर बिक्री हुन्छ भने काम्लोको व्यापार हुने मुख्य बजार रिडी हो । माघे सक्रान्तिसहितका मेला लाग्दा निसीका किसानले काम्लो बुनेर रिडीसम्म लैजान्छन् । ‘अर्डर गरेकाहरुले घरमै आएर सामान लैजान्छन्,’ स्थानीय ज्ञानमाला घर्तीमगरले भनिन्, ‘घरमा थुप्रेका सामान मेला लाग्दा बेच्छौं ।’ काम्लोलाई नेपाली संस्कृति अनुसारका पूजापाठमा बिच्छ्याउँदा चोखो मान्ने चलन छ ।
सहर बजारका घरमा पनि सजाएर राख्नेले हिजोआज काम्लोको माग गर्न थालेका छन् । ‘भेडा पाल्ने चलन घट्दै गयो, सजाएर राख्नेले माग गर्न थालेका छन्, अब त पु¥याउन गाह्र्रो छ,’ ज्ञानमालाले भनिन्, ‘छोराछोरीले सीप जानेका छैनन्, अब कसले यो सीप बचाउन गाह्रो छ ।’ विद्यालय उमेरका कसैले पनि यस्ता सामग्री बुन्न जानेका छैनन् । निसीखोला गाउँपालिकाले परम्परागत सीपको संरक्षणका लागि काम गर्ने योजना बनाए पनि युवापुस्ताले सिक्ने नखोजेको अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । सडक खुलेपछि रोजगारी खोज्न सहर पस्ने बढेकोले घरमा बस्नेले मात्रै काम्लो बुनेर व्यावसायिक बन्न नसकेका हुन् ।
निसीका किसानहरु आलुको व्यवसायिक खेती गर्छन् । कतिपयले भाँगो खेती गरेर जीवन धानेका छन् । आलुलाई बजारसँग जोड्ने काममा वडाले काम गरिरहेको छ । परम्परागत ढंगले गरिने आलुलाई आधुनिक बनाउने काम भैरहेको छ । निसी क्षेत्र समेटेर आलु जोनको अभियान चलेको छ । कतिपय किसानले सामुहिक खेती पनि गरेका छ् । कुरुङचुङ भन्ने स्थानमा वडा कार्यालयले लगानी गरिदिएपछि स्थानीयले सामुहिक आलु खेती गरेका छन् । यो उत्पादनलाई समूहमा राखिएको छ । यो नमूना मात्रै हो, स्थानीयले आलुको उत्पादन ठूलो बनाइरहेका छन् । वर्षेनी ३ लाखदेखि ५ लाखको आलु मात्रै बेच्ने किसान धेरै छन् । उनीहरुलाई प्रविधि र सीप हस्तान्तरणदेखि बजारीकरणमा पालिकाले साथ दिएको हो ।
भौगोलिक रुपमा ठूलो, उत्पादनमुलक क्षेत्र, समूह र व्यक्तिगत रुपमा पनि खेती गर्न सकिने भएपछि स्थानीय पनि हौसिएका छन् । उनीहरुले उत्पादनलाई बजारमा लगेर बेच्ने तथा आर्थिक उपार्जन गर्न थालेका छन् । सामुहिक खेतीमा सिकेको सीपलाई व्यक्तिगत उत्पादनमा लगाएका छन् भन्छन्, वडाध्यक्ष हेमबहादुर बुढा ।
वडाको अधिकांस भूगोल पर्यटकीय क्षेत्रले पनि समेटेको छ । पातीहाल्ने दुई जिल्लाको सीमाना भएकोले धेरैको घुम्न जाने स्थान हो । यहाँ हाल केही होटल मात्रै छन् । आवस्यक पूर्वाधार बनेपछि मात्र यो क्षेत्र पर्यटकीय हब बन्नेछ । त्यसबाहेक रिग ताल, तिलाचन, बुकी, गुमसेरा र ढोरपाटन तर्फको टिकाचुली पर्यटकीय क्षेत्र हुन् । ती क्षेत्रमा लगानी बढाएर पर्यटक भित्र्याउने अभियानमा वडाले चासो राखेको हो ।
पर्यटक भित्राउनका लागि होमस्टे चाहिन्छ । त्यसैले वडाले विभिन्न बस्तीमा होमस्टे बनाउन चाहने स्थानीयलाई तालिम र अन्य गतिविधिमा साथ दिंँदै आएको छ । पाहुनालाई स्वागत सत्कार गर्ने तालिम दिने, विद्यालयमा गुणस्तरीय शिक्षाको पहल गर्ने, शिक्षक, जनप्रतिनिधि र अभिभावक मिलेर गुणस्तर मापन र अनुगमन गर्ने काम पनि भएको छ । विद्यालय तहदेखि नै पाहुनाको स्वागत सत्कारबारे सिकाउने र स्थानीय पाठ्यक्रम पढाउने काम शुरु भएको छ । आफ्नो कला र संस्कृतिबारे सानैदेखि जानकार बनुन् भनेर वडा नं. ५ र ६ मा कक्षा १ बाट स्थानीय पाठ्यक्रम पढाउन थालिएको हो । मगरखाम भाषा पढाउँदा बालबालिकाले आफ्नो कला र संस्कृति संरक्षणमा भूमिका खेल्ने विश्वास गरिएको छ ।
निसी र भलकोटमा नागरिकको स्वास्थ्य कमजोर छ । त्यसैले स्वास्थ्य संस्थामा आवस्यक जनशक्ति र उपकरण उपलब्ध गराउने, सुरक्षित सुत्केरी सेवालाई सहज बनाउने, दक्ष प्रसुतीकर्मी नियमित बनाउने, अविश्वास र कुरीतिविरुद्व अभियान चलाउने काम पनि भैरहेको छ । त्यसले घरमै सुत्केरी हुने दर घटाउन सकिएको अध्यक्ष बुढा बताउँछन् । मुख्य सडकको पहुँच बिस्तार भएकोले अब शाखा बाटोमा वडा केन्द्रीत भएको छ । पर्यटकीय संभावना बोकेका स्थानमा सडक संजाल जोड्ने, ती क्षेत्रमा उपलब्ध हुने कृषि उत्पादनलाई बजारमा ल्याउन किसानलाई प्रेरित गराउने योजना पनि छ ।
भलकोट त कला र संस्कृतिको खानी नै हो । माघे सक्रान्तिमा देखाइने मारुनी र पुतली नाँच, मादल, पत्ता नाच, तरवार नाँच तथा पपैया नाँच संरक्षणमा वडाले पहल गरेको छ । वडाले युवापुस्ताले सिक्न चाहेमा तालिम संचालन गर्ने र सामाग्री खरिद समेत गराइदिने गरेको छ । भूमीपुजा, झाँक्री बसाल्ने जस्ता अनौठो प्रकृतिका संस्कृति जोगाउन सक्दा पर्यटन प्रवद्र्धन बढाउन सकिने संभावना छ । कतिपय संस्कृतिलाई रुपैयाँमा परिणत गर्न सकिन्छ । झाँक्री नाँच त चर्चित नै छ । ती संस्कारहरु जोगाउन धेरै पहल भैरहेको छ । युवापुस्तामा ती सस्कृति हस्तान्तरणका लागि पहल भएको छ । त्यसका लागि विभिन्न कार्यक्रममार्फत युवालाई तालिम दिने, संस्कृति संरक्षणमा उत्साहित बनाउने काम गरेको वडाध्यक्ष हेमबहादुर बुढामगरले बताए ।
मध्यपहाडी लोकमार्ग निर्माणले बागलुङको निसीखोलादेखि रुकुमको भुमे जोडिएको छ । त्यतिमात्र होइन, दुइ जिल्ला, दुइ प्रदेशसँगै लुम्बिनी र कर्णालीका अधिकांस जिल्लाको पोखरा र काठमाण्डौ सँगको पहुँच बिस्तार भएको छ । अहिले त पूर्वी र पश्चिम रुकुम, दैलेख, जाजरकोट, रोल्पा, सल्यान, डोल्पालगायतका जिल्लाको सिधा पहुँच बागलुङबाट बढेको छ । यो अवस्थाले जिल्लकै पर्यटनमा ठूलो फाइदा भित्राउने अवस्था छ । त्यसका लागि दशवटै स्थानीय तहलाई लोकमार्गको अवस्थाबारे चासो दिनुपर्नेछ । सडक स्तरीय र चौडा बनाउन सकेमा राजमार्गको अधिकतम फाइदा लिन पनि सकिन्छ ।
‘लोकमार्गसम्म किसानका उत्पादन ल्याउन पहल गर्छौ’
हेमबहादुर बुढामगर
वडाध्यक्ष,
वडा नं. ६ निसीखोला गाउँपालिका
निसीखोला जिल्लाको दुर्गम गाउँपालिका हो । यहाँ ठूला विकासका संभावना छैनन् । त्यसैले कृषि, पशुपालन जस्ता आधारभूत बिषयमा नै हामीले लगानी बढाएका छौं । त्यतिमात्र हैन किसानको उत्पादनलाई बजारमा जोड्न पहल गरेका छौं । सडक संजाल गाउँसम्म त छैन तर मध्यपहाडी लोकमार्गले बजारका लागि सहज बनेको छ । लोकमार्गसम्म किसानका उत्पादन ल्याउन पहल गर्छौ । पशुपालन यहाँका किसकानको प्रमुख पेशा हो । किसानलाई पशुपालनमा प्रोत्साहन गर्न सकियो भने वैदेशिक रोजगारीका लागि पनि जानु पर्दैन ।

हाम्रो वडामा सबैभन्दा चुनौती महिला स्वास्थ्य हो । महिलाहरु अझैपनि स्वास्थ्य संस्थामा उपचारका लागि आइपुग्दैनन् । ग्रामीण बस्तीमा निरन्तर काममा खटिनुपर्दा उनीहरुले गर्भावस्थामा खोप लगाउन छुट्छन् । घरमै सुत्केरी बन्दा ज्यानै जोखिममा पार्छन् । त्यसैले महिला स्वास्थ्य स्वयंसेविकामार्फत उनीहरुको गोठसम्म पुगेर उपचारको दायरामा ल्याउने पहल गरेका छौं । कतिपय सेवा घरगोठमै पुगेर पनि दिएका छौं ।
निशुल्क पाउने सेवाबारे पनि स्थानीय जानकार नहुने, विद्यालयको पहुँचमा नभएका बालबालिका भर्ना गराउने, नियमित पढ्न आउने वातावरण सिर्जना गर्ने काम चुनौतीका छन् । हामीले घरघरमा पुगेर स्थानीयलाई यस्ता विषयमा जागरुक बनाइरहेका छौं । सानो प्रयासले धेरै उपलब्धी पाउन गाह्रो छ । तर सक्दो प्रयास गर्दा केही सफलता पनि मिलेको छ । आगामी दिनमा हाम्रो प्रयासले सबै नागरिकलाई शिक्षा र स्वास्थ्यको पहुँचमा ल्याउन सक्ने छौं भन्ने विश्वास छ ।





