स्याङ्जा/नेपालमै पहिलोपटक नवग्रह मन्दिरमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पूजापाठ गरेका छन् । काँग्रेस क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनमा आएका थापाले अर्जुनचौपारी गाउँपालिका १ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा पुगेर पूजापाठ गरेका हुन् ।
महामन्त्री थापाले नवग्रह मन्दिरसँगै रहेको षट्कोण शिवालयमा रहेका पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङग र कोणमा रहेका गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्तिमा पूजापाठ गरेका थिए ।
थापाले षट्कोण शिवालयमा पूजापाठसँगै पञ्चकन्याको मन्दिरमा पुगेर पूजा गरेका थिए । नवग्रहमन्दिर देशकै पहिलो र नयाँ धार्मिक पर्यटनको गन्तब्य भएको बताउँदै महामन्त्री थापाले यसको विकासमा आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् । नवग्रह पूजापाठका क्रममा निर्माणको पहल गर्ने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीलाई धन्यबाद समते दिएका थिए ।
घर तथा शक्तिपीठमा नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा यहाँ पहिलो पटक नवग्रह मन्दिर निर्माण गरिएको हो भने गत फागुन ६ गतेबाट १६ गतेसम्म शिबरात्रीको अवसरमा अनुष्ठान गरिएको थियो । प्रदेश सरकारको चालिस तथा गाउँपालिकाको २० लाख गरेर ६० लाख र स्थानीय श्रमदानबाट निर्माण भएको यो नवग्रह मन्दिर नवभुज आकारको आकाश तर्फ फर्केको २७ फिट अग्लो रहेको छ ।
छिमेकी राष्ट्र भारतको असम चित्रसाल र लखनउमा नवग्रह मन्दिर रहेकोमा यहाँ बनाइएको नवग्रह मन्दिर फरक रहेको र यो प्रकारको विश्मै पहिलो भएको दाबी गरिएको छ । १५७ रोपनीमा फैलिएको धार्मिक वनमा निर्माण गरिएको नवग्रह मन्दिरको पिलरको सबै भन्दा माथी आकाश फर्काएर सौर्यमण्डलिय ब्रमाण्डको प्रतीक राखिएको छ ।
यहाँको प्रतीमा हिन्दुधर्मका कहलीएका धार्मिक ज्योतिषीको निर्देशनमा नवर्दा नदिको शिलाबाट भारतमा बनाइएको हो । पिलरको १४ फिटमा सुर्य, शुक्र, केतु, चन्द्र, मङगल, बुध, शनि, बृहस्पती र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ ।
यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ भने नवग्रह मन्दिर शनिबार मात्र खुला हुनेछ । मन्दिर विशेष अवसरमा अन्य बार समेत खुल्ने गरेको छ भने एक चक्रमा भने हरेक दिनमा पनि पूजा गर्न सकिने छ ।
सौर्यमण्डलिय ब्रमाण्डको मुर्ति भने हरेक बर्षको गणेश चतुर्थीमा हेर्न पाइने छ भने सो दिन पालिका नै बिदा गरेर पूजा गरिने पालिकाले जनाएको छ । षट्कोण, नवग्रह तथा यहाँ हिड्ने बाटोमा स्थानिय ढुड्ढा बिच्छाएर कलात्मक बनाइएको छ भने दुबो बिच्छाएर हरिया र सुन्दर बनाइएको छ ।





