शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दिगो सडकमा लगानी, पर्यटकीय क्षेत्रमा पदमार्ग

दिगो सडकमा लगानी, पर्यटकीय क्षेत्रमा पदमार्ग

तर, अहिले पनि गणित, विज्ञान जस्ता विषयका शिक्षक पाउनै मुस्किल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०८२, शुक्रबार

स्थानीय तहले भौतिक विकासमा लगानी प्रसस्तै गरेका छन् । हरेक वर्ष सडकको ट्रयाक खोल्न र मर्मतमा करोडौं खर्च भैरहेको छ । स्तरीय सडक नबनेसम्म हरेक वर्ष गरिने लगानी खेर गैरहेको छ । गाउँका दुईचार घर भएको स्थानमा सडक लैजान खोज्दा धेरै रकम खर्च भएको स्पष्टै छ । खानेपानी, बिद्युत, सिंचाइ र अन्य पुर्वाधारको लगानीले थोरै घर भएका स्थानको बस्ती नै सार्न मिल्ने गरी खर्च भैसकेको छ ।

निसीखोला गाउँपालिका वडा नं. १ ले भने त्यो भन्दा भिन्न अभियान चलाएको छ । भौतिकभन्दा सामाजिक क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । शिक्षा र स्वास्थ्यमा गुणस्तरीयता, प्रभावकारी शिक्षा, सुशासन, पारदर्शीता जस्ता विषयलाई प्राथमिकता दिइएको वडाध्यक्ष चन्द्रसिंह रामजालीले बताए । हुन पनि थोरै लगानीमा धेरै योजनामा काम गर्न खोज्दा सबै अधुरा रहने, डोजर लगाएर गरिएको विकास अर्को वर्ष लगानी नगरेमा बाढी पहिरोको प्रकोप निम्तने खतरा छ । त्यसो त निसीखोला १ को हुल्दीमा केही वर्षअघि देखि नै पहिरोको प्रकोपको समस्या थियो । त्यतिबेला सडक संजाल पुगिसकेको थिएन तर अहिले धेरै स्थानमा सडक पुगेको छ । अव्यवस्थित सडक खन्दा पहिरोको जोखिम बढी छ ।

त्यो समस्या पहिले नै भोगेकाले वडाले पदमार्ग निर्माणमा जोड दिएको छ । विशेषगरी महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई पदमार्गले जोड्ने, भएका सडक स्तरीय बनाएर बाढी पहिरोको प्रकोप न्यूनीकरण गर्ने लक्ष्यले काम गरेको रामजालीले जानकारी दिए । जसको कारण देविस्थानदेखि हर्पे, धुँवाकोट जाने पदमार्ग स्थानीयले खनीखोस्री गरेर बनाएका छन् । यहाँ स्थानीय ढुंगा छापिएको छ । ९ लाख लागतको यो पदमार्गले धुँवाकोट जाने पदमार्ग सहज बनेको छ । त्यस्तै देवीस्थानदेखि हुल्दी, ठूलो नाङगी जाने पदमार्ग पनि ७ लाख रुपैयाँको लागतमा व्यवस्थित बनाइएको छ । पदमार्गमा वडा र पालिकाको लगानी छ ।

शिक्षामा गुणस्तरीयता ल्याउन वडाले पहल गरेको छ । अन्नपूर्ण आधारभूत विद्यालय र देवीस्थान माविको गुणस्तरमा वडाले बिशेष चासो राखेको छ । आवस्यक लगानी पनि गरेको छ । दुवै विद्यालयमा सिसि क्यामेरा जडान भएको छ । ४ लाख लगानी गरेर देवीस्थान माविमा २४ वटा सिसि क्यामेरा जडान भएको हो भने अर्को ४ लाख लगानीले देवीस्थानदेखि बस्तीसम्म पनि सिसि क्यामेरा जडान गरेपछि शिक्षक र विद्यार्थी अनुशासित भएका छन् । शिक्षकले समयमा आउने, पढाउने र विद्यार्थीप्रतिको दायित्व पूरा गर्ने काम गरेका छन् भने सडक छेउमा हुने अवान्छित घटनाहरु न्यूनीकरण भएका छन् ।

देवीस्थान बजारदेखि हुल्दी, रसानन्द, झुपरीकोट आधारभूत विद्यालय, त्यहाँको आधारभूत स्वास्थ्य इकाइसम्म वाइफाइ जोन बनाइएको छ । जसका कारण विद्यार्थीले इन्टरनेटको माध्यमले पढ्न पाएका छन् भने स्वास्थ्य इकाइमा आइपर्ने समस्याबारे आफूभन्दा माथिल्लो निकायमा सोधखोज गर्ने तथा उपचार पद्दतीमा सल्लाह गर्ने अवस्था बनेको छ । यो सेवाले अभिभावक, विद्यार्थी र शिक्षक तथा स्वास्थ्यकर्मीले पनि भरपुर उपयोग गरिरहेका छन् ।

गुणस्तर सुधारका लागि आवश्यक पर्ने कक्षाकोठा पनि आकर्षक र गुणस्तरीय चाहिन्छ । त्यसैले देविस्थान माविमा वडा र पालिकाको लगानी परेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम पनि संचालन भयो । हर्पेस्थित अन्नपूर्ण आधारभूत विद्यालयमा भने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत २ कोठा मात्रै नयाँ बनाइएको छ । त्यसबाहेकका अन्य कक्षाकोठा दशकअघि नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र कोरियाली संस्थाका स्वयंसेवकले बनाइदिएका थिए । तर त्यतिबेलादेखिनै गुणस्तर सुधारमा भएको पहल भने नियमित छ । जसका कारण अहिले पनि पालिका स्तरीय कक्षा ८ को परीक्षामा अन्नपुर्णका विद्यार्थी उत्कृष्ट भएका छन् । यो अवस्थालाई नियमित र अद्यावधिक गर्न पहल भएको छ । यहाँ वडाले २ लाख लगानी गरेर कम्प्युटर जडान गरी बालबालिकालाई सिकाउने गरिएको छ । पक्की भवन भने बनाउन नसकिएकोले लगानीको बाटाहरु खोजी भैरहेको हो । बजेट अभावमा भवनको हावा ढलान भएपनि मर्मत र पुरा गर्न नसकिएको रामजाली बताउँछन् ।

लेवाङ, हुल्दी, पाखापानी जाने सडकमा १५ लाख लगानी भएको छ । कच्ची सडक भएकोले वर्षातमा बिग्रेर स्थानीयले यात्रामा सास्ती खेप्छन् । उक्त सडक ग्राभेल गर्न सकेमा हरेक वर्ष लाखौं लगानी गर्नुनपर्ने रामजालीको चाहना छ । तर, त्यसका लागि वडामा पर्याप्त बजेट छैन । पालिका वा प्रदेश तहको साथ र सहयोग हुन जरुरी छ ।

वडा नं. १ ले स्वास्थ्य क्षेत्रमा पनि लगानी बढाएको छ । स्वाथ्य क्षेत्र सुधार गर्न लेवाङमा प्राथमिक स्वास्थ्य इकाइ स्थापना भएको छ । देविस्थानमा स्वास्थ्य चौकी छ । देवीस्थान आइपुग्न तीन घण्टा लाग्ने स्थानका बिरामीले यो इकाइबाट राम्रो सेवा पाएका छन् । साबिकको ३ वटा वडा त यो इकाइमा निर्भर जस्तै छ । त्यसैले यहाँ आवश्यक उपकरण र सामग्रीहरु बढाउन जरुरी छ । दक्ष जनशक्तिको खोजी भैरहेको छ ।

राजकुत सीमानाको कुँडुलामा पनि स्वास्थ्य चौकी निर्माणको तयारी छ । यो स्वास्थ्य चौकी बन्यो भने दुवै वडाका बासिन्दाले सेवा पाउन सक्छन् । महिला स्वास्थ्य स्वयम्सेविकामार्फत वडाको टोल–टोलमा स्वास्थ्य सेवाको प्रवाह भैरहेको छ । खोप लगाउन छुटेका बालबालिकाको खोजी गर्ने, होम डेलीभरीलाई न्युनिकरण गर्ने, गर्भवती महिलालाई नियमित स्वास्थ्य संस्थामा जाने व्यवस्था गर्ने व्यवस्थापन गरिएको छ । जसका कारण पछिल्लो समय आमा र शिशुको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ । यो अवस्थालाई चिर्न थप बजेट र कार्यक्रमहरु आवस्यक छ ।

वडा र पालिका तहमा बाल विवाह जटिल समस्याको रुपमा छ । त्यसो त यो समस्या पालिकाभरकै हो । पालिका तहबाटै यस्ता समस्या समाधानमा भूमिका खेल्नुपर्छ । तरपनि विद्यालयमा बाल क्लबमार्फत् सचेतनाका अभियान संचालनमा छन् । २० वर्ष नपुगी विवाह गर्दा स्वास्थ्यमा समस्या आउने गर्छ भनेर महिला स्वास्थ्य स्वयंसेविकामार्फत् पनि काम भैरहेको छ । उनीहरुले ग्रामीण क्षेत्रमा पुगेर सचेतनाका अभियान चलाइरहेका छन् । यो अवस्थाबाहेक वडाका युवा क्लब, किशोरी समूह र आमा समूहलगायतलाई पनि सक्रिय बनाइएको छ । वडा कार्यालयले बालविवाह गरेका तीन जोडीलाई त कारवाही नै गरेको थियो । जसले गर्दा कतिपय अवस्थामा त धेरैजना हम्मेसी बालविवाहमा लाग्न सक्दैनन् । तर, छिटफुट रुपमा भैरहेका छन् । तरपनि पछिल्लो दुइ वर्षमा धेरै सुधार भएको छ । अभिभावक शिक्षालाई धेरै नै जोडबल गराइएको छ ।

पर्यटकीय संभावना भएका क्षेत्रको विकासमा पनि वडाले लगानी गर्न खोजेको छ । तर सानो बजेटले सबैतिर लगानी गर्न नपुगेको हो । सानो र ठूलो नाङगी, देविस्थान हुल्दी, लेवाङ पदमार्गले जोडेर पर्यटक जाने बनाइएको छ । त्यसो त, उक्त स्थानमा प्युठान तर्फबाट नजिकै सडक आइपुगेको छ । उक्त स्थानमा वनभोज स्थल बनाउन सकियो भने दुवै जिल्लाका मानिसहरु घुम्न जाने अवस्था बन्छ । यो कुरा गाउँ पारिषदमा उठेको र पर्याप्त बजेटबारे छलफल भैरहेको छ । तीन बैनी धुरी, धुँवाखोर चुली लगायतको स्थानमा पर्यटन प्रवद्र्धनका कार्यक्रम संचालन गर्न सकेमा मात्र सोचेअनुसार वडालाई समृद्दितर्फ लैजान सकिन्छ भन्ने स्थानीयको मत छ । ग्रामीण क्षेत्रका स्थानीय तह भएकोले शून्यताबाट काम थाल्नुपर्ने बाध्यताले धेरै ढीलाई भएको, जटिल भूगोलले काम गर्न कठिन भएको, लगानी बढी लागेको जस्ता समस्या रामजालीले सुनाए ।

‘सीमित श्रोत र साधनले विकासमा फड्को मार्न धेरै कठीन छ’
चन्द्रसिंह रामजाली,
वडाध्यक्ष,
वडा नं. १ निसीखोला गाउँपालिका

निसीखोला गाउँपालिका सदरमुकामदेखि निकै टाढाको गाउँपालिका हो । ग्रामीण बस्ती, दलित र जनजातिको बाहुल्यता, शिक्षा र स्वास्थ्यबाट निकै पछाडि परेको पालिका भएकोले यहाँ विकासका धेरै योजना आवश्यक छ । तर, सानो पूजि, पालिकाको सिमित श्रोत र साधनले विकासको फड्को मार्न धेरै कठीन छ ।

शिक्षा र स्वास्थ्यमा त हामी धेरै कमजोर थियौं, त्यसैले लगानी बढाउने प्रयास त भएकै छ । तर, अभिभावक शिक्षाको कमी छ । वर्षांैदेखि नपढेका अभिभावक, स्वास्थ्य सेवा सहजै नपाएका आमाहरुले अहिलेको परिवर्तन सिधै पचाउन पनि सक्दैनन् । तर, उनीहरुलाई समेत सचेतना गराएर शिक्षामा आधुनिकता र गुणस्तर बढाउनुपर्ने आवश्यकता छ । अहिले पनि गणित, विज्ञान जस्ता विषयका शिक्षक पाउन पनि गाह्रो छ । ग्रामीण क्षेत्रमा आएर बसिदिनेहरु त झनै पाइँदैनन् ।

त्यतिमात्र हैन, आधारभूत स्वास्थ्य इकाई गठन गरेर पनि दक्ष स्वास्थ्यकर्मी राख्न सकिएको छैन । त्यसका लागि पहल भैरहेको छ । बिरामीलाई समयमा स्वास्थ्य संस्थामा लैजान सडक स्तरीय चाहिन्छ । त्यो पनि यहाँ अभाव छ । कम्तिमा परम्परागत बाटोघाटोलाई सिंढी मार्गबाट भएपनि जोडेर नजिक बनाउने, वर्षातमा पनि सुरक्षित बनाउने काम गरेका छौं । अत्यावस्यक पर्दा बोकेरै स्वास्थ्य संस्था लैजानुपरे पनि सिंढीमार्गले सहज बनाउने छ ।

मध्यपहाडी लोकमार्गले वडालाई छोएको छ । त्यसैले कृषि र पशुपालनको उत्पादन बढाउन सकेमा किसानले फाइदा लिन सक्छन् । विशेषगरी कृषिजन्य वस्तु सजिलै राजमार्ग छेउमा बिक्री गर्न सकेमा बसाइँसराइ रोक्न सकिने, किसानहरुको हातमा पैसा पु¥याउन सकिने अवस्था छ । तर, त्यसका लागि केही मेहेनत गर्न जरुरी छ । किसान तथा स्थानीय बासिन्दाहरुले पनि थप मेहेनत गरेर गाउँमै बसेर पनि केही गरौं भन्ने भावनाको विकास गर्न जरुरी छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि किसानको प्रोत्साहन हुने खालका योजना ल्याउन पहल गरेका छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->