बिहुँका किसानले सुन्तलाको याममा मात्रै ६ करोड बढी गाउँ भित्राउँछन् । काठेखोला गाउँपालिकाको दुई वडामा फैलिएको सुन्तला बारीमा किसानको आफ्नै बलबुताको लगानी छ । गाउँपालिका गठनपछि पालिका, वडा र प्रदेश तथा संघीय सरकारको आँखा समेत बेला बेलामा पर्ने गरेको छ । किसानको निरन्तरको मेहनत, सरोकारवालाको चासो र सहयोगले सुन्तला काठेखोलाको निर्यात गर्ने र आम्दानी भित्राउने सुन फल्ने बारी हो । यहीं बारीलाई गाउँपालिकाले प्रविधि र परम्परागत सीप दुवैको प्रयोगमार्फत निरन्तर आम्दानीको स्रोत बनाउने अभियान थालेको छ ।
यहाँका किसानलाई बजारको चिन्ता छैन् । हरेक वर्ष यहाँ फल्ने सुन्तला बारीबाटै व्यवसायीले खरिद गर्ने किसान गुरुप्रसाद कँडेल बताउँछन् । तर यहाँका किसानको समस्या रोग किराको संक्रमण हो । कतै प्राविधिकको सल्लाहबमोजिम त कतै परम्परागत रुपमा सुन्तला रोपेका किसानले बिरुवा, मल, पानी र गोडमेलको व्यवस्थापन आफैले गर्छन् । अक्सर सुन्तला बारीका ज्ञाता भैसकेका किसानलाई प्राविधिक समस्या सुल्झाउन भने कठिन हुन्छ । गाउँपालिकाले परम्परागत रुपमा गरेको खेतीलाई साथ दिएको छ भने किसानलाई रोगकिरा संक्रमणबाट हुने क्षती कम गर्न आधुनिक प्रविधिको प्रयोगमार्फत उपचारात्मक र निरोधात्मक बिधि थालेको छ ।
गाउँपालिका वडा नं. ६ तल्लो बिहुँका १३ हजार सुन्तलाका बोटमा प्रोटिन बेट छर्ने काम शुरु भएको छ । काठेखोला गाउँपालिका, हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, विवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत हेफर प्रोजेक्ट नेपालको १० लाख रुपियाँ अनुदान सहयोग तथा स्थानीय कृषकको ५० प्रतिशत लागत साझेदारीमा तल्लो बिहुँमा रहेका १३ हजार फल दिने सुन्तलाका बोटमा लाग्ने ओैंसा किरा नियन्त्रण गर्नका लागि बोटमा प्रोटिन वेट ओैषधि छर्ने काम शुरु भएको हो ।

किसानको बगैंचामा पुगेका गण्डकी प्रदेश कृषि मन्त्रालयका वरिष्ठ कृषि तथा बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले ओैंसा किराका साथै सुन्तलामा देखिने विभिन्न प्रकारका रोगहरुको बारेमा दुई दिनसम्म कृषकहरुलाई सहजिकरण गरेपछि यो अभियान सुरु भएको हो । दश दिनको फरकमा १० हप्तासम्म प्रतिबोट पचास मिलीलिटर प्रोटिन वेट छर्दा सुन्तलालाई औंसा किराको प्रकोपबाट जोगाउन सकिने छ । स्थलगत कार्यक्रमले प्रभावकारी काम देखिने र किसानलाई हौसला पनि मिल्ने काठेखोलाका अध्यक्ष राजु थापाले बताए ।
गत वर्ष औंसा किरा र सुन्तलाको जरा कुहिँने समस्याले बागलुङमा सुन्तला उत्पादन घटेको थियो । सुन्तला गाउँले परिचित सिगानामा सुन्तला उत्पादन वृद्धि भएपनि औंसाको प्रकोपले बिहुँमा सुन्तला उत्पादन घटेको थियो । वडा अध्यक्ष वृहस्पति कँडेलले आफ्नो वडामा अभियानकै रुपमा प्रोटिन बेट छर्ने कार्यक्रम संचालन गर्दै सुन्तला बगानको थप व्यवस्थापन गरी आर्थिक समृद्वमा पुग्न स्रोतको पहिचान गरिने बताए ।
गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । यो परम्परागत प्रविधि र सीपको संरक्षण गर्ने अभियान हो । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो । परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले ८ लाख ९० हजार पोषणभत्ता सोझै किसानको हातमा पु¥याइएको अध्यक्ष राजु थापाले बताए । गाउँपालिकाभरी रहेका सबै हलगोरुलाई अनुदान उपलव्ध गराईएको हो । जसका कारण किसानले गोरु पाल्न प्रोत्साहित हुने गाउँपालिकाको विश्वास छ । गोरु पाल्दा किसानले खेतबारीमा प्रयोग गर्ने मल पुग्ने, विकासी मल तथा आधुनिक बिषादीहरुको प्रयोगमा कमी ल्याउने र यसको दिर्घकालिन प्रभाव सकरात्मक हुने गाउँपालिकाको विश्वास छ ।
अध्यक्ष थापाले गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गरेर १७८ जनालाई पाँच हजारका दरले पोषणभत्ता प्रदान गरिएको बताए । ‘हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षणका लागि कार्यक्रम अघि बढाएका थियौं, हाल १७८ किसानले लाभ उठाएका छन् । पालिकाले गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउन यो कार्यक्रम ल्याएको हो’, अध्यक्ष थापाले भने, ‘गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिन्छ, दूध उत्पादन गर्ने किसानले प्रतिलिटर साढे दुईका दरले अनुदानसमेत पाएका छन् भने वडास्तरमा माइनर ल्याब स्थापना गरी पशु सेवा दिइएको छ ।’
आधुनिकताको नाममा मिनी टिलर हलो वितरण हुन थालेपछि परम्परागत गोरुपालक किसानलाई समस्यामा परेको महसुसपछि यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । ‘विभिन्न स्थानीय तहमा कृषिमा आधुनिकीकरणका नाममा मिनी टिलर हलो वितरण गर्ने लहडै चलेको तर हामीले गाउँ–गाउँमा परम्परागतखेती गर्नका लागि हलगोरु नै उपयुक्त देखेका छौं । कृषिमा मलमूत्रको प्रयोग अपरिहार्य रहेकाले किसानलाई प्रोत्साहन गर्न यो अभियान सुरु गरेका हौं’, अध्यक्ष थापाले भने ।
गाउँपालिका पशु शाखा प्रमुख होमबहादुर थापा गोरु पाल्दा वातावरणमा सकारात्मक प्रभाव पर्ने भएकाले यसलाई जोगाइ राख्नुपर्ने आवश्यकता देख्छन् । त्यसैकारण पालिका आफैंले यो अभियानको सुरुआत गरेको उनले बताए । रेशका गोरुपालक किसान डम्मरबहादुर थापाले गोरु पाल्ने किसानले पहिलोपटक सहयोग पाउँदा सम्मानको महसुस गरेको बताए ।
काठेखोला गाउँपालिकाले किसानलाई प्रोत्साहनका लागि दूधमा समेत अनुदान दिन थालेको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिए । पालिकाले आधुनिकिरणलाई पनि अंगिकार गरेको छ । गाउँपालिका, वडाबाट आउने कार्यक्रम, पालिकाभित्र संघ र प्रदेशबाट सञ्चालन हुने बिभिन्न कार्यक्रममार्फत ४ सय ७० वटा मिनी टेलर हलो किसानका घरमा पुर्याएका छन् । गोरु र मिनिटेलरको समिश्रणबाट किसानलाई जुन प्रबिधि सजिलो र उपयुक्त लाग्छ उही प्रबिधिले साथ दिनेगरी काम भैरहेको कार्की बताउँछन् ।
यस्तै, निःशुल्क रूपमा पशुलाई औषधि वितरण र ९२ वटा गाईभैँसीको नस्ल सुधारका लागि कृत्रिम गर्भाधान गराइएको उनले बताए । पालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रममार्फत अनुदान र पशुपक्षी फार्म यन्त्रिकीकरणमा सहयोग गरिरहेको छ । रेशमा रैथानेबालीको संरक्षण, चिया खेतीको प्रबद्र्धनमा परम्परागत र आधुनिक दुबै प्रबिधिको प्रयोग गरेको छ । नमुनाको रुपमा साना किसान सहकारीमार्फत लगाईएको चियालाई आम्दानी र पर्यटनसँग जोड्ने उद्देश्य रहेको वडा अध्यक्ष प्रेम बहादुर लामिछाने बताउँछन् ।
काठेखोला ४ तंग्रामका किसानले परम्परागत रुपमा बाख्रा पाल्दै आएका हुन् । यहाँका किसानलाई बाख्राबाट कसरी आम्दानी लिने भन्ने राम्रोसँग थाहा छ । सहकारीमा आबद्ध किसानहरुले बजारीकरणको प्रबन्ध सहकारीबाटै गर्छन् । यहाँ पालिने बाख्रा रैथाने जातका बाख्रा हुन् । तर किसानले बाख्रा पाल्ने बिधि भने बदलेका छन् । रैथाने बाख्रालाई आजभोलि परम्परागत खोरमा बस्नु पर्दैन् । गाउँपालिकाले त्यहि समूह, सहकारी र गैरसरकारी संस्थामार्फत किसानलाई आधुनिक खोर बनाउन सहयोग गरेको छ । हिजो अनुमानका भरमा तौल गरिने खसिबोकाको तौल निकाल्न अहिले आधुनिक मेसिनले सहयोग गर्छ । आधुनिक खोरले रैथाने जातका बाख्रामा समेत उत्पादन बढेको वडा अध्यक्ष लक्ष्मण पुन बताउँछन् ।
धम्जाको आलु रैथाने बाली हो । आलुसँग अन्न साटेर यहाँका किसानले लामो समय गुजारा चलाएका कथा छन् । अहिले यहाँ रैथाने आलुसँगै आधुनिक बिउका आलु फल्छन् । हिउँदमा लगाएको आलु वर्षा याममा फसल लिएपछि एकै पटक बिक्री वा सटही नगरे आलु बिग्रिएका बेग्रल्ती घटना छन् । तर अहिले किसानलाई आलु कुहिने चिन्ता छैन । प्रदेश सरकारले यहाँ चिस्यान केन्द्र बनाईदिएको छ । त्यसको व्यवस्थापनमा वडाले सहयोग गर्छ । आलु बिक्री नहुँदा त्यहिं चिस्यान केन्द्रमा राख्न सकिने वडा अध्यक्ष कुलबहादुर बिक बताउँछन् । पालिका, वडा र प्रदेश तथा संघीय कार्यक्रममा रैथाने बाली, परम्परागत सीप र प्रबिधिको संरक्षण तथा प्रबद्र्धन र आधुनिक प्रबिधिको प्रयोग दुवै अपनाईएको गाउँपालिकाका सूचना अधिकारी मनोज कार्की बताउँछन् ।




