पोखरा / जिन्दगीमा ठूलो सपना बोकेर २०५४ सालको माघमा बागलुङका गंगाप्रसाद आचार्य बेल्जियम उत्रिए । साथमा थियो– एउटा झोला र अनिश्चित भविष्य । न भाषा थाहा, न चिनजान । ‘कल्चरल प्रोग्राम’ मा झाँक्रीको अभिनय गर्ने कलाकारका रूपमा भिसा पाएपछि ५ दिनमै उनी जहाज चढेर युरोप झरे । सुरुका ३ दिन सडकमा नै सुत्नुपर्यो । पेटभरि खान नपाएको ज्यान, चिसोले कामेको शरीर लिएर उनी एउटै प्रश्नमा अल्झिए, ‘अब के गर्ने ?’
चौथो दिन भेटिएका एक भारतीयले उनलाई अलिकति ढाडस दिए । त्यहीबाट बेल्जियममा बाँचेको संघर्ष सुरु भयो गंगाप्रसादको। ती भारतीयले उनलाई काम दिलाइदिए । बिहान सबेरै गोलभेंडा टिप्न जान्थे, बेलुकी भारतीय रेस्टुरेन्टमा भाँडा माझ्थे । दिनभरिको श्रम र भोकसँगै उनले एउटै अठोट लिए– यसरी सधैं बिताउने होइन । उनले बेल्जियममै कुकिङ पढ्न सुरु गरे । कामसँगै भाषा सिक्नुपर्यो । भनेर डच भाषा पढे ।
२००६ मा उनले डिप्लोमा पूरा गरे र २००७ मा ऋण काढेर बेल्जियममा घर किने । त्यसैमा उनले सुपरमार्केट खोले । त्यसपछि श्रीमती जमुना र ४ छोराछोरीलाई पनि बेल्जियम नै बोलाए । घर तथा सुपरमार्केटको जिम्मा सुम्पिए । आफू भने रेस्टुरेन्ट किन्ने, चलाउने, बेच्ने काममा लागे । एकपछि अर्को व्यवसाय खडा गर्दै गए । अहिलेसम्म कतिवटा रेस्टुरेन्ट चलाएर बेचें भन्ने उनलाई याद पनि छैन । अहिले पनि दुईवटा रेस्टुरेन्ट बेल्जियममा सञ्चालनमै छन् ।
यो गाथा त्यहाँबाट सुरु भए जस्तो लागे पनि वास्तवमा यसको थालनी निकै पहिलेदेखि भइसकेको थियो– बागलुङको एउटा पाखोमा । गंगाप्रसादको जन्म २०२५ साल भदौ २६ गते बागलुङ नगरपालिका–८ सीम पञ्चकोट अर्थात् तत्कालीन लहरेपीपल गाविस–२ मा भएको हो । उनका बुबा सामान्य किसान थिए । गाउँमा आँटोपिठो खान पुगे पनि नगद भने अभाव थियो । उनी ४ भाइमध्ये भन्दा कान्छा हुन् । उनीभन्दा कान्छा २ बहिनी छन् ।
गाउँले जीवन केटाकेटीलाई बिहानै भात खाएपछि बाख्रा चराउन पठाइन्थ्यो । उनी पनि त्यसबाट मुक्त भएनन् । बाल्यकाल सम्झेर उनी भन्छन्, ‘बाख्रा चराउन जान मन नलागेपछि जानाजान बाख्रा भीरबाट खसाल्थे ताकि म स्कुल जान पाउँ ।’ स्कुल जानुपर्ने सपना थियो तर दैनिकी थियो– गोठाले, स्याङ्जाको पुतलीखेतबाट नुनतेल ल्याउने, सल्लाको पात ओसार्ने । पुतलीखेत पुगेर फर्किन ४ दिन लाग्थ्यो । त्यो समयमा ४ पाथी नुन र आधा टिन मट्टीतेल बोकेर घर फर्केको उनलाई याद छ । बाख्रा भीरबाट खसाइदिएपछि भोलिपल्टबाट उनी स्कुल जान पाउथे । स्कुल जान पाए भन्दै रमाउथे । प्रारम्भिक पढाइ तत्कालिन मुलपानी निमाविमा भयो भने मावि पढाइ धौलागिरी विरेन्द्र माविमा । त्यसपछि भारत छिरेका शर्माले नयाँदिल्लीमा इलेक्ट्रोनिक्समा डिप्लोमा लिए । भारतकै फिलिप्स कम्पनीमा काम पनि गरे ।

२०४३ सालमा ढिकीचौरकी जमुनासँग विवाह गरेपछि जीवनले अर्कै मोड लियो । विवाह भएको केही दिनमै उनलाई घरबाट अलग गरियो । १२ हजार रुपैयाँ ऋणको भारी पनि थमाइयो । बागलुङ बजार झरे । एउटा छाप्रो पाए बास बस्ने । सोही छाप्रोमा २ सय रुपैयाँ लगानी गरेर एउटा सानो टेबुल राखे । रेडियो मर्मतको काम थाले । रेडियो मर्मत गरेर झन्डै डेढ वर्षको अवधिमा ४ हजार रुपैयाँ ऋण तिरे । ८ हजार बाँकी रह्यो । साहु तिलकबहादुर कार्की अलि कडा स्वभावका थिए । ऋणका विषयमा बारम्बार सताइरहन्थे । बाँकी ऋणको बोझले उनलाई फेरि भारत पु¥यायो । २०४५ मा भारत गए । १ वर्षको कमाइले तिलकबहादुरको ऋण चुक्ता गरे ।
फेरी फर्किएर बागलुङ बजारमा शर्मा रेडियो सर्भिस खोलेर ६ वर्ष बिताए । २०४८/०४९ सालतिर पत्नी जमुना बिरामी भइन् । साथमा पैसा थिएन । १ सय ६० रुपैयाँ ऋण काढेर उपचार गराएको सम्झना मनमा ताजै छ । उनका अहिले २ छोरा र २ छोरी छन् । जेठो छोरा सिभिल इन्जिनियर, जेठी बुहारी स्पेनिस आर्किटेक्ट, जेठी छोरी र ज्वाइँ अमेरिकामा चिकित्सक छन् । कान्छो छोरा र कान्छी छोरी बेल्जियम सरकारको सेवामा छन् । पत्नी जमुना एनआरएनए बेल्जियम सचिव छन् । पत्नी जमुनाको जीवनी ‘फार वे’ पुस्तकका रूपमा प्रकाशित छ । टाढाबाट आएर सफलता हासिल गरेको भन्दै उक्त पुस्तक प्रकाशन र बिक्री भइरहेको छ ।
साहुको व्यवहारले उनलाई सुरुमा त अप्ठेरोमा पार्यो नै । तर त्यही अपमानपूर्ण व्यवहारका कारण गंगाप्रसादले संघर्षको पाठ सिके । २०४६ सालमा भारतद्वारा लगाइएको नाकाबन्दीले मट्टीतेल नै बन्द भयो । सिडियोसँग आग्रह गर्दा अपमानपूर्ण व्यवहार खेप्नुपर्यो । मट्टीतेलको चिट माग्न जाँदा तेरो छोराछोरी मैले पालिदिने हो र भनेर थर्काए । चर्पीमा थुन्ने थम्कीसमेत दिए । बागलुङकै नेता तेजेन्द्र खड्काको सहयोगमा सिडियोको चिट पाएर दैनिक ३ लिटर मट्टीतेल पाउने भए । पसल चलाउन अलि धेरै मट्टीतेल चाहिने भएकाले उनलाई धेरै राहत भयो । बिजुली नभएकाले स्टोभबाट आइरन तताएर रेडियोको मर्मत गर्नुपर्थ्यो ।
२०५० सालतिर व्यवसाय विस्तारका लागि उनले एउटा सटर खोज्दै थिए, तर कसैले भाडामा उनलाई सटर दिन तयार भएनन् । ‘बाहुनको छोरो हो, भाडा तिर्छ, भोलिको दिन कसैलाई केही थाहा हुदैन्’ भन्दै स्थानीय देवबहादुर श्रेष्ठले सटर दिलाइदिए । पसल बढ्यो, ग्राहक बढे । संघर्ष पनि । डेल्टन कम्पनीको डिलर बने, रेडियो र क्यासेट बेच्न थाले ।
४/४ जना छोराछोरी । पालनपोषण र पढाउन पर्यो । कमाइले जीवन धान्न धौधौ भयो । अव केही होला जस्तो लागेन । विदेशिने सोंच आयो । २०५४ को कुरा हो यो । एक जना साथीले युरोप जान्छस् भनेर सोध्यो । जान्छु भने । उनले भने, ‘त्यसभन्दा पहिला त बेल्जियम भन्ने देशको नाम पनि सुनेका थिइन् ।’ २०५४ माघमा बेल्जियमको भिसा लाग्यो र गए । ‘तीन दिन चिसो सडकमा रात कटाउँदा निकै कष्ट भएको थियो’, उनले ढोरपाटनसंग भने, ‘कसरी बाँचे होला भनेर अहिले अचम्म लाग्छ ।’ उनी दिनमा ४ घन्टा मात्र सुत्थे । शर्माको मनमा सानैदेखि धेरै प्रकारका सोंचाइहरु आइरहन्थे । पहेंलो बस्त्र भिरेर जोगी भएर हिन्छुकी सम्पन्नशाली हुन्छु भन्ने हुटहुटी उनमा जाग्थ्यो ।
‘जन्मको आधारमा नागरिकता दिनुपर्छ । हामी कर तिर्छौं, लगानी गर्छौं । तर वातावरण बनाइदेऊ ।’
बेल्जियममा श्रमको मुल्य, समयको महत्व बुझिन्छ । मान्छेले एक अर्कालाई इज्जत गर्छ । परिश्रम गरेपछि फल अवस्य मिल्छ । एउटा प्रणालीबाट देश चलेको छ । तर नेपालमा त्यो हुन नसकेको उनले बताए । झाँक्री भएर बेल्जियम छिरेका गंगाप्रसाद एनआरएन बेल्जियमको सदस्य, उपाध्यक्ष, अध्यक्ष भएर काम गरे । एनआरएन अन्तर्राष्ट्रिय समितिको सदस्य समेत भए । उनी माओवादी युरोप जनयुद्ध सहयोग समितिका संस्थापक सदस्य समेत बने । उनी तीन दर्जनभन्दा बढी संस्थामा नेतृत्वदायी भूमिकामा रहे ।
बागलुङ समाज बेल्जियमका संस्थापक अध्यक्ष, अन्तर्राष्ट्रिय बागलुङ समाजका संस्थापक पनि हुन् । हालै बागलुङमा भएको समाजको तेस्रो अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चुनिएका छन् । २३ देशका प्रतिनिधिहरूको सहभागितामा भएकोे अधिवेशनले आगामी अधिवेशनहरु पनि बागलुङमै गर्ने निर्णय गरेको छ ।
समाजसेवामा उनको योगदान पनि सशक्त छ । संस्थागत रुपमा बलेवाको जनता धन माविमा स्टेशनरी, कारागारमा पुस्तकालय, धौलागिरी अस्पतालमा रक्त संकलन फ्रिज, गोरखाको एउटा स्कुलमा खानेपानी, बिद्यामन्दिर पुस्तकालय, मानव सेवा आश्रमलाई सहयोग उपलब्ध गराउन उनको पनि महत्वपूर्ण भूमिका रहेको छ । व्यक्तिगत रुपमा पनि थुप्रैलाई सहयोग गरेका छन । महिला बचाऔं अभियान अन्तर्गत स्तन क्यान्सर पीडित एकजनालाई वर्षेनी सहयोग गर्ने योजना बनाएका छन् । अहिलेसम्म तीन महिलालाई सहयोग गरिसकेका छन् ।
अब उनको ध्यान बागलुङमै केन्द्रित छ । विदेशमा भएका करीब ८० हजार बागलुङेलीहरूको पूँजी र सीप जिल्लामा भित्राएर स्वास्थ्य, शिक्षा र रोजगारीमा लगानी गर्न चाहन्छन् । विदेशिन लागेकाहरूलाई रोक्ने सपना देखेका छन् । आचार्य भन्छन्, ‘अब म बेल्जियमभन्दा बागलुङमै बढी बस्नेछु,’ उनी थप्छन्, ‘जीवन संघर्ष हो । हार मान्ने होइन । केही गर्न नसके चुप लाग्नु राम्रो । जे गरे पनि समयको मूल्य बुझ्नुपर्छ । पैसा खाना र लाउन मात्रै होइन, दिन पनि जान्नुपर्छ ।’ एनआरएनएलाई नेपाल सरकारले दोस्रो दर्जाको नागरिक ठानेकामा उनको दुखमनाउ छ । भन्छन्, ‘जन्मको आधारमा नागरिकता दिनुपर्छ । हामी कर तिर्छौं, लगानी गर्छौं । तर वातावरण बनाइदेऊ ।’




