बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पानीको बुँद पर्नासाथ झस्किन्छन् शर्मिलाहरु

पानीको बुँद पर्नासाथ झस्किन्छन् शर्मिलाहरु


  • संजय रेग्मी
  • जेष्ठ १६ २०८२, शुक्रबार

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–४ स्थित गजौटे खोलाको छेवैमा घर हुनुभएकी शर्मिला परियारले अपराह्नमै खाना पकाएर साँझसम्ममा भान्सा उम्काइसक्छिन्। पोहोर साल गजौटे खोलामा आएको बाढीले रातीको १० बजेको समयमा भाग दौड मच्चाएपछि उनको परिवारले दुई÷तीनसम्म बिस्कुट र पानीको भरमा दैनिकी गुजारेको थियो ।

‘रातीको दश जति बजेको थियो । खाना पस्केर खाने तयारी भइरहेको थियो । माथिबाट बाढी आयो रे भाग्नुप¥यो भन्ने खबर सुनिसक्दा त घरको वरिपरि तीन तीरबाट भलले छोपिसकेको। जसोतसो यहाँबाट भागेर तल कृष्ण जेठा बा को घरमा पुगियो’, उनले भनिन, ‘रातीको बेला छ, पानी परेको छ, पस्किएको खाना छोडेर भाग्यौँ । भोकले होला बाबुहरू बेस्सरी रोए । जेठाबाले एक÷एक वटा बिस्कुट एक÷एक वटा चाउचाउ दिएर रात कटायौँ त्यो पल जस्तो गाह्रो बेला जीवनमा आएको थिएन । बाबुहरूले भात भात भन्दै रोएको बेलामा दिन नपाउँदा आमाको मन कति पोलेको हुँदो हो ?’

बाढीबाट बच्नका लागि पाकेको भात छोडेर भाग्नुपरेको हो भन्ने थाहा नभएका छोराछोरीहरूले भोकले भात माग्दा जस्तो पिडा अरू नभएको शर्मिलाले सुनाइन्। त्यसैले त उनले अब साँझमा नै भान्सा उम्काउन थालेकी छिन् । मौसम सफा रहँदाको दिनमा समस्या नभए पनि आकाशमा बादल देखिएर वर्षाको सम्भावना भएमा भाग्ने पूर्व तयारीका लागि समयमै खाना खाएर तयारी अवस्थामा रहनुपर्ने बाध्यता छ ।

शर्मिलाले भोगेको पोहोरकै जस्तो अवस्था यो वर्ष नआउला भन्न सकिँदैन । मौसमविदहरुले गण्डकी प्रदेशमा पोहोरको तुलनामा झनै धेरै वर्षा यो बर्खामा हुने पूर्वानुमान गरेका छन् । सामान्य वर्षा भएकै बेलामा गेगर सहितको बाढी आउने गरेको गजौटे खोला आक्रामक बन्न बेर नै लाग्दैन ।

पोहोर नै भाग्ने क्रममा ११ वर्षीय दृष्टिविहीन मनिलको खुट्टा भाँचियो । भेलले भेट्टाउनै लागेको बेलामा मनिलाई पिठ्यूँमा राखेर भाग्दा लडेर खुट्टा भाँचिएको कथा स्थानीय बसन्ती परियार सुनाउँछिन् । सुरक्षित भएर बस्नका लागि अन्यत्र जग्गा नभएकोले जोखिम मोलेरै भए पनि बस्तीमै बस्नुपरेको उनको भनाइ छ। ‘न भोकमा खान पाइएको छ, न रातमा निदाउन पाइएको छ । खानै पाइँदैन, थालै लिएर कति पटक भागिएको छ’, उनले भनिन, ‘ओढ्ने ओछ्याउने समेत कोठाबाट निकाल्न पाइँदैन । त्यहाँ खोल्सामा गएर हेर्नु त कति थुप्रिएको छ। पानी पर्दा त्यो सबै बगेर हाम्रै घरमा आउने हो ।’

स्थानीय विजय परियारको पनि गुनासो उही हो । हरेक वर्षको बाढीमा नेताहरू घटनास्थलमा पुगेर फोटा खिचे पनि बस्तीको जोखिम टार्नको लागि सरकारले कुनै सनुवाई गरेको छैन । आकाशमा बादल देखिएर पानीका थोपा पर्न थालेपछि बेस्सरी डर लाग्ने गरेको भन्दै उनले कति बेला कता भाग्न पर्ने हो ? भनेर खोल्सो हरेर बस्ने गरेको सुनाए । ‘थाहै नपाई बाढी आएर टोल नै सोतर पार्ने हो की भन्ने चिन्ताले के को नीद लाग्छ र ? के को खान मन लाउने हो ? घरमा केटाकेटी छाडेर मजुरीमा कसरी जाने हो ?’, उनले भने, ‘यहाँको बाढी तल बजारसम्म नै पुग्छ । खाँदै खाँदैको भात नै छोडेर केटाकेटी काखमा च्यापेर कति पटक भागियो भागियो । यहाँ कति गाह्रो हुन्छ भन्ने कुरा मुखले बोलेर बताउनै सकिन्न ।’

उक्त खोल्साको बाढी नियन्त्रणको लागि विभिन्न प्रयासहरू गर्दै आइरहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय आफै कति बेला पुरिने हो ठेगान छैन । जाली भरेर बाढी नियन्त्रणको काम गरिरहेको कार्यालय बाढीको पहिलो निशानामा पर्छ । दिउँसोको समयमा भाग्न सकिने र रातको समयमा कार्यालयमा बस्नु नपर्ने भएकोले कार्यालय भन्दा बस्तीको चिन्ता बढी छ ।

गजौटे खोलामा आउने बाढीले पोहोर साल पुष्पलाल मध्यपहाडी लोक मार्गसम्म आइपुगेर सडक अवरुद्ध ग¥यो । कुश्माको जिरो किलोमिटरमा सडकभन्दा तल्लो क्षेत्रमा रहेका घरभित्रै ढुङ्गा र माटोका गेग्र्यान पसे । त्यही आसपासको क्षेत्रमा जनप्रतिनिधिदेखि केन्द्रीय पहुँचका नेताहरूका घर छन्। तर पनि बाढीलाई सुरक्षित अवतरण गराउने विकल्प नभेटिँदा समस्या जस्ताको तस्तै छ । विगतदेखि नै बर्खा सुरु हुनु पूर्व नै विभिन्न निकायले बाढीको वेग नियन्त्रणको लागि जाली भर्ने गरिएको छ । तर उर्लिएर आएको खहरेले केही बाँकी राख्दैन ।

कुश्मा नगरपालिका–३ दुर्लुङमा रहेको कुश्मा–दुर्लुङ सडकदेखिको भेल एकोहोरिएर गजौटे खोलामा आउने गरेको छ । बर्षौ अगाडिसम्म सुरक्षित रहेका बस्तीहरू अवैज्ञानिक तरिकाले खनिएका ग्रामीण सडकका कारण नै जोखिममा पर्दै गएका छन् । सडकको भल व्यवस्थापनको पूर्व तयारी नगरी सडक खन्ने तथा छिरलिएर जानुपर्ने भल एकत्रित भएर बग्ने ठाउँ सडककै कारण बन्दा समस्या भएको सरोकारवालाहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->