शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पशुजन्य उत्पादन र बजारीकरणमा जोड

पशुजन्य उत्पादन र बजारीकरणमा जोड

व्यक्तिगत रुपमा उत्पादन र बिक्री हुने दूधको अभिलेख नभए पनि झण्डै बिस हजार लिटर गाउँघरमै खपत हुनेगरी उत्पादन भैरहेको काठेखोला गाउँपालिकाका कृषि शाखा प्रमुख अग्नि कँडेलले बताउँछन् ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८२, शनिबार

बिहुँमा उत्पादन भएको दुधले बागलुङ बजारको आधा माग धान्छ । यहाँका किसान सहकारीमा आबद्ध छन् । सहकारीकै माध्यामबाट उनीहरुले आफ्ना पशुजन्य उत्पादन बजारमा पुर्याउने गरेका छन् । बिहुँको सिको भीमापोखारा, पाला लगायतका काठेखोलाका अन्य गाउँहरुमा पनि छ । किसान सहकारीमा आबद्ध छन्, त्यहिँबाट पशुजन्य उत्पादनबाट लाभ लिन्छन् । कृषि र पशुपालको क्षेत्रमा उर्वर रहेको काठेखोला गाउँपालिकाका किसानले फलफूल, दूध, मासुलगायतका उत्पादनबाट वर्षमा करोडौं गाउँ भित्राईरहेका छन् । कृषि र पशुपालनको क्षेत्रबाट हुने आम्दानी गाउँपालिकाको मुख्य आम्दानी हो ।

काठेखोलामा बजारक्षेत्र सानो छ । स्थानीय बजारले यहाँ उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादनको थोरै मात्र हिस्सा खपत गर्नसक्छ । सदरमुकाम बागलुङ बजार नजिकै रहेकाले किसानका उत्पादनको बजारीकरणमा भने समस्या छैन । काठेखोलामा वर्षमा संस्थागत रुपमा बिक्री हुने एक लाख लिटर दुध उत्पादन हुन्छ । सबै किसानले सहकारी, समुह वा व्यक्तिगत फार्ममा आवद्ध भएर उत्पादन गर्दैनन् । व्यक्तिगत रुपमा उत्पादन र बिक्री हुने दुधको अभिलेख नभए पनि झण्डै बिस हजार लिटर गाउँघरमै खपत हुनेगरी उत्पादन भैरहेको काठेखोला गाउँपालिकाका कृषि शाखा प्रमुख अग्नि कँडेलले बताउँछन् ।

‘हामीले उत्पादनमा आधारित अनुदान उपलव्ध गराउँदै आएका छौं, एक लाख लिटर दुध गाउँपालिका र पशुसेवा विज्ञ केन्द्रले दिने अनुदान लिनेगरी उत्पादन हुन्छ,’ कँडेल भन्छन् ‘संस्थागत उत्पादन र बिक्रीलाई मात्रै अनुदान दिने कार्यबिधि रहेकाले बाँकी किसानको दुधको अभिलेख लिन कठिन छ ।’

किसानका प्रयासमा काठेखोला गाउँपालिका साथमै छ । गाउँपालिका गठनकै वर्षदेखि किसानलाई सघाईरहेको गाउँपालिकाले हेफर प्रोजेक्ट नेपाल र काठेखोला गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र बिवाईसी बागलुङको व्यवस्थापनमा कृषि तथा पशुविकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘हेफरसँग सहकार्य गरेर किसानका घर घरमा पुग्ने प्रयास गरिरहेकै छौं’ कँडेल भन्छन्, ‘किसानका लागि बिउँपूजी दिनेदेखि भकारो, खोर लगायतका पूर्वाधार विकासमा समेत सघाउँदै आएका छौं ।’ काठेखोला गाउँपालिकामा दूध उत्पादनका लागि भैंसीको संख्या लगभग सात हजारभन्दा धेरै र गाईको संख्या ९ सयभन्दा धेरै छ ।

गाउँपालिकाले कृषि र पशुपालनमार्फत सामाजिक र आर्थिक सशक्तिकरणको अभियानमा जुटेको छ । पशुजन्य उत्पादनबाट किसानलाई आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले विभिन्न गतिबिधि गर्दै आएको छ । खसी बोकाको मासु निर्यातमा गाउँपालिका अब्बल रहेको पशु सेवा शाखाका प्रमुख होम बहादुर थापा बताउँछन् । हेफरमार्फत गाउँपालिकाले आठवटै वडामा बाख्रा उपहार कार्यक्रम पुर्याउँदै छ । जसअन्तर्गत काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा गठित मूल महिला समूहले बहिनी समूहलाई बाख्रा उपहार प्रदान गरेका छन् । संघर्षशिल, शुभलक्ष्मी र उद्यमी स्वाभलम्बी महिला समूहले उपहार समूहमा आवद्व संघर्षशिल, सयपत्री, सुसेली, लगनशिल, सुर्यमुखी र शुभलक्ष्मी महिला समूहमा आवद्व सदस्यलाई बाख्रा उपहार प्रदान गरेका हुन् ।

हेफर प्रोजेक्ट नेपाल र काठेखोला गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र बिवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित कृषि तथा पशुविकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रमअन्तर्गत गठित मुल समूहका सदस्यहरुले उपहार समूहलाई ५० ओटा बाख्रा प्रदान गरेका हुन् । मंगलबार रेशको नुन्थलामा आयोजित एक कार्यक्रमका बीच महिला समूहलाई बाख्रा उपहार प्रदान गरिएको हो । गाउँपालिकाका अन्य वडामा समेत चार बर्षमा यस्ता कयौं कार्यक्रम सञ्चालन भैसकेका छन् ।

परियोजनामार्फत प्राप्त बाख्राबाट पहिलो सन्तानको रुपमा उत्पादन भएको पाठालाई सात महिनासम्म पालेर हुर्काएपछि किलो र दाम्लोसहित उपहार समूहलाई प्रदान गरेको संघर्षशिल महिला समूहकी सदस्य सिमादेवी थापाले बताइन् । उनले बहिनी अर्थात् सयपत्री आमा समूहकी सदस्य धना थापालाई बाख्रा उपहार दिएकी हुन् । बाख्रापालनले जीविकोपार्जनमा सहजता ल्याउनुका साथै छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन र केही रकम बचत गर्न सकेको थापाको अनुभव छ । ‘समूहमा आवद्व महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर र सम्पन्न बनाउन बाख्रा उपहार दिईएको हो,’ थापाले भनिन् ।

बिवाईसीले व्यवस्थित खोर निर्माण, दाना र घाँसका लागि किम्बुका बिरुवा वितरणमा साथ दिन थालेपछि रेशका महिला व्यवसायिक रुपमा बाख्रापालनमा जोडिएका छन् । केही वर्ष अघिसम्म एक–दुई बाख्रा पालेर निर्वाहमुखी बनेका महिलाहरु काठेखोला गाउँपालिका, हेफर र बिवाईसीले साथ दिन थालेपछि व्यवसायिक बाख्रापालनमा लागेको थापाले बताए । परियोजनाले रेश गाउँलाई बाख्रापालनको पकेट क्षेत्र बनाउने गरी काम गरिरहेको छ ।

रेशमा गठित नौ महिला समूहमा आवद्व दुई समयभन्दा बढी महिलालाई कृषि र पशुपालन क्षेत्रमा जोडेर आत्मनिर्भर बनाउने परियोजनाको लक्ष्य छ । महिलाहरुलाई उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउने उदेश्यले परियोजनाअन्तर्गत गठित तीन मूल समूह (संघर्षशिल, शुभलक्ष्मी र उद्यमी स्वाभलम्बी महिला समूह) लाई वितरण गरिएका बाख्राबाट उत्पादन भएका पाठापाठी उपहार समूहमा आवद्व सदस्यहरुलाई वितरण गरिएको कृषि तथा पशुविकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रमका संयोजक चुडामणि उपाध्याले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष राजु थापाले पालिकाले पूर्वाधारभन्दा समावेशी विकासमा जोड दिएको धारणा व्यक्त गर्दै चुल्होचौकोमा सिमित महिलालाई उद्यम व्यवसायमा जोडेर आर्थिक रुपमा सम्पन्न गराउने लक्ष्य सुनाए । ‘सामाजिक तथा आर्थिक रुपमा पछि पारिएका महिलालाई मुल धारमा ल्याउन सिपमुलक तालिम प्रदान गरी पेशा व्यवसायमा जोड्ने हाम्रो लक्ष्य छ,’ थापाले भने । आफ्ना मागबारे पालिकामा जानकारी गराएमा लक्षित वर्गको क्षेत्रमा कार्यक्रम बनाएर बजेट समेत विनियोजन गरिने थापाले प्रतिवद्वता जनाएका छन् । कृषि र पशुपालको क्षेत्रमा आवद्व किसानलाई प्रोत्साहनको लागि उत्पादनमा गाउँपालिकाले अनुदान दिँदै आएको चर्चा गर्दै थापाले विशेषगरी बाख्रापालनमा जोडिएर आत्मनिर्भरको बाटो खोजिरहेका महिला समूहका उत्पादनलाई बजारीकरणमा साथ दिने योजना सुनाए ।

काठेखोला ४ तंग्राममा सबैभन्दा धेरै खसिबोका उत्पादन हुन्छन् । यहाँका सप्तरंगी सामाजिक महिला कृषि उद्यमी सहकारी र बसन्त सामाजिक महिला कृषि उद्यमी सहकारीले हरेक वर्ष करोडौंका खसिबोका बिक्रि गर्छन् । उनीहरुले बागलुङ र पोखराका मासु व्यवसायीसँग सम्पर्क गरेर खसिबोका बिक्री गर्ने गरेको पशु सेवा शाखाका प्रमुख थापा बताउँछन् । उनका अनुसार, चालु वर्षमा मात्रै काठेखोलाबाट ७० हजार किलो मासु निर्यात भएको छ । यो संस्थागत निर्यात हो । पशुजन्य उत्पादनमध्ये यहाँ खसिबोकाको मासु, दुध मात्रै संस्थागत बिक्रि हने गरेको छ । स्थानीय जातका कुखुरा, राँगा लगायतका पशुपंक्षीको मासुको भने संस्थागत लगत छैन । यहाँका किसानले पशुजन्य उत्पादनबाट पालिकालाई समृद्ध बनाउने भएकाले पालिकाका कार्यक्रम पनि सोही अनुसार किसानसँग जोडिएको गाउँपालिका अध्यक्ष राजु थापा बताउँछन् । गाउँपालिकाले पशु तथा पंक्षीका लागि निशुल्क खोप, निशुल्क औषधि र उपचार सेवा उपलव्ध गराउँदै आएको उनले स्मरण गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->