पर्वत/नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतको अध्यक्षमा सुरेन्द्र शर्मा गौतम विजयी भएका छन् ।
शुक्रवारदेखि सुरु भएको १४ औँ जिल्ला अधिवेशनअन्तर्गत शनिवार भएको मतदानबाट प्रतिस्पर्धी इन्द्र प्रसाद शर्मालाई चार मतले पछाडि पार्दै शर्मा विजयी भएका हुन् । कुल चार सय एक जना प्रतिनिधिहरूमध्ये तीन सय ३५ जनाले मतदान गरेका थिए । यीमध्ये शर्माको पक्षमा एक सय ५६ मत आएका छन् भने उनका निकटतम प्रतिस्पर्धी शर्माको पक्षमा एक सय ५२ मत आएका छन् । अध्यक्षकै अर्का प्रतिस्पर्धी दीपकराज रेग्मीले २० मत पाएका छन् ।
यस्तै उपाध्यक्ष पदमा पनि गौतम प्यानलकै टङ्कलाल भुसाल विजयी बनेका छन् । उनले एक सय पाँच मतको अन्तरमा शर्मा प्यानलका लेखकाजी गुरुङलाई पराजित गरेका हुन् । भुसालको पक्षमा दुई सय १२ मत आउँदा गुरुङको पक्षमा एक सय सात मत आएका छन् । महिला उपाध्यक्षमा पनि गौतम प्यानलबाट गङ्गा कुमारी क्षेत्री ३२ मतान्तरले निर्वाचित भएकी छिन् । क्षेत्रीलाई एक सय ७२ मत आउँदा उनकी प्रतिस्पर्धी गुमा भुवाजीलाई एक सय ४० मत प्राप्त भएका छन् ।
सचिवमा भने गौतम प्यानलका बाबुराम उपाध्यायलाई एक सय एक मतले पराजित गर्दै शर्मा प्यानलका देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेलले दुई सय १० मत पाउँदा उपाध्यायले एक सय नौ मत पाएका छन् । कोषाध्यक्षमा गौतम समूहबाट चन्द्र गिरीले शर्मा समूहका सुरेश पौडेललाई १४ मतले पराजित गरेका छन् । गिरीले एक सय ५५ मत पाउँदा पौडेलले एक सय ४१ मत पाएका छन् । यस्तै महिला सहसचिव हुमा कुमारी शर्मा र महिला सह कोषाध्यक्षमा लक्ष्मी परियार अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
भौगोलिक क्षेत्रका सदस्यहरू पनि निर्विरोध चयन भएका छन् । उनीहरू रीता गौतम, विजय पौडेल, महेश पौडेल, दुर्गा गिरी, भानुभक्त अधिकारी, अन्जान शर्मा, लेखनाथ अधिकारी, मुकुन्द पराजुली, विश्व प्रसाद पराजुली, सुरेन्द्र भुर्तेल र गङ्गाबहादुर नेपाली रहेका छन् । भूगोल महिला सदस्यमा शारदा शर्मा खुला सदस्यमा राजेन्द्र गौतम, विष्णुप्रसाद रिजाल र डिल कुमारी शर्मा, समावेशीमा अशोक के.सी निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय प्रतिनिधिहरूमा दुर्गा प्रसाद पौडेल, हरिबहादुर लामिछाने, चिरञ्जीवी अधिकारी, नवराज भुसाल विजयी भएका छन् भने हिराकुमारी पौडेल निर्विरोध चयन भएकी छिन् । प्रदेश प्रतिनिधिमा चन्द्र प्रकाश अधिकारी, थम बहादुर नेपाली, विनय शर्मा चापागाईँ, महेन्द्र उपाध्याय र सिता कुमारी शर्मा निर्विरोध भएका छन् ।
यो कार्यसमिति आगामी तीन वर्षका लागि निर्वाचित भएका हो ।
यसअघि गत वैशाख २७ गतेका लागि अधिवेशनको आयोजना गरिएका थियो । तर नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ पर्वतको भेलामा दुई पक्षबिच झडप भएपछि अधिवेशन स्थगित भएको थियो । सङ्गठनले विशेष कारणवश अधिवेशन स्थगित भएको बताएको भए पनि स्थगित हुनुको कारण झडप नै थियो । एमालेको पार्टी कार्यालयमा भएको भेलामा युवा सङ्घ पर्वतको अधिवेशन गर्ने की नगर्ने भन्ने विषयमा विवाद भएको थियो । उक्त झडपमा युवा सङ्घका केन्द्रीय सदस्य अर्जुन पौडेल, एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी लगायतका व्यक्तिहरू घाइते भएका थिए ।





