पोखरा/ठ्याक्कै ७५ वर्ष अर्थात सन् १९५० को जुन ३ तारिख । आजकै दिन त हो, फ्रान्सेली आरोहीद्वय मौरिस हर्जोग र लुइस लिचेनेल ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णको सफल आरोहण गरेको दिन ।
फ्रान्सबाट भारत र भारतबाट पैदलयात्रा गर्दै बागलुङ अनि मुस्ताङ पुगेको मौरिसको टोलीले उत्तरी मोहोडाबाट अन्नपूर्ण प्रथमको चुचुरो चुमेका थिए । चुचुरोमा पुग्नु के थियो ! उनी ८ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने संसारकै पहिलो व्यक्तिमा दरिए ।
मुस्ताङ हुँदै हालको अन्नपूर्ण गाउँपालिकाको नारच्याङबाट २ सय ५० जना भरियासहित उनको यात्रा सुरु भएको थियो । निलगिरिको फेरो लगाएर हिमालतिर सोझिएका उनले मर्छु कि भनेर विहेसमेत पर सारेका थिए । उनी भाग्यमानी दरिए तर हिउँले उनको खुट्टाका औंला खाइदियो । औंला गयो त के भयो, फ्रान्स सरकारले उनको सफलतामा तीन दिने राष्ट्रिय उत्सव मनायो । नेपालका तत्कालीन श्री ३ महाराज चन्द्र शमशेरले उनलाई ‘गोर्खा क्रस’ले सम्मानित गरे ।
आरोहणको दुई वर्षपछि मौरिसले अन्नपूर्ण आरोहणका अनुभूति समेटेर ‘अन्नपूर्ण’नामक पुस्तक नै लेखे । किताब सार्वजनिक भएकै हप्ता ४० हजार प्रति बिक्री भयो । सन् २०१२ मा हर्जोगको निधन हुँदासम्म अन्नपूर्णको बिक्री करोडौँको संख्यामा भइसकेको थियो । भनिन्छ, बाइबलपछि अन्नपूर्ण नै सवैभन्दा बढी बिक्ने किताब बन्यो ।
अन्नपूर्णमा पहिलो पाइला भन्ने शीर्षकको सो पुस्तकमा हर्जोगले आफ्नो हिमालप्रतिको मोह खुलाएका छन् । मौरिसले अन्नपूर्ण प्रथम चढेको ३ वर्षपछिमात्र तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले २९ मे १९५३ मा सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण आरोहणको लागि दुरुह हिमाल मानिन्छ । ‘किलर माउण्टेन’ को उपमा पाएको यो हिमाल आरोहण सजिलो छैन ।
यो वर्ष अन्नपूर्ण आरोहणको हीरक वर्ष । आफ्नो पिताको ७५ वर्षअघिको कीर्तिमानी सम्झेर मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाति सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक टोली गरी १४ जनाको टोली यतिबेला अन्नपूर्ण आधार शिविरमा रहेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका,नेपाल पर्यटन बोर्ड र टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान ) गण्डकीको आयोजनामा त्यहाँ विशेष कार्यक्रम हुँदैछ । मौरिस र लुइसको शालिक अनावरण तथा उनी हिँडेको बाटोलाई मौरिस टे«ल नामाकरण गरिँदै छ । त्यस्तै अन्नपूर्णको दक्षिणी मोहोडामा रहेको अन्नपूर्ण बेसक्याम्पमा अघिल्ला वर्षजस्तै यो वर्ष पनि म्याराथन दौडको आयोजना गरिँदै छ । बेसक्याम्पबाट सुरु हुने दौड घान्द्रुकमा आएर समापन हुने आयोजक सेन्चुरी पर्यटन विकास समितिका अध्यक्ष ललित गुृरुङले जानकारी दिएका छन् ।
गण्डकीमा आठ हजार मिटरभन्दा अग्ला ३ वटा हिमाल रहेका छन् । गण्डकी प्रदेशमै रहेको तथा विश्वको सातौँ अग्लो हिमाल धवलागिरि उचाइ चाहिँ आठ हजार १६७ मिटर रहेको छ । सन् १९६० को, १३ मे मा स्वीटरल्यान्डका पर्वतारोहीहरू कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर र नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले पहिलोपटक यो हिमाल चढेका थिए ।
सन् १९६० मा सफल आरोहण भए पनि त्यसको १० वर्षसम्म कसैले पनि धौलागिरितिर चिहाएनन् । बल्ल सन् १९७० को सरदकालीन समयमा जापानका टेत्तुसी कावाताले सो हिमालको दोस्रो सफल आरोहण गरे। उनीसँगै लाक्पा तेन्जिङ शेर्पाले पनि धौलागिरिको चुचुरो चुमेका थिए । विश्वको आठौँ अग्लो अर्थात् आठ हजार १६३ मिटर रहेको मनास्लु हिमालमा चाहिँ सन् १९५६ को मे ९ मा पहिलो पटक मानव पाइला पुगेको थियो । जापानीज पर्वतारोहीहरू तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले पहिलो पटक मनास्लु चढेर कीर्तिमान बनाएका थिए । यो हिमाल गोर्खा जिल्लामा पर्छ ।





