पोखराको एक बिहान । आकासमा आद्रता बोकेको बादल थिएन तर अलिअलि छिट्याएकै थियो ! ३० को दशकदेखि सिर्जनामा लिप्त सरुभक्त र तीर्थ श्रेष्ठ मित्रताको आद्रता बोकेर मञ्चमा झुल्किए । सरुभक्तको ‘सर्वहारा धरतीभरि यज्ञका काला घोडाहरु’ र तीर्थका ‘हिउँमा लेखिएका नामहरु’ लोकार्पित हुँदै थियो ।
आ–आफ्ना चुनिएका कविताहरुको संग्रहसहित मञ्चमा आएका दुवैसँग मित्रताको लामो यात्रानुभूति थियो । एउटै टोलमा जन्मेका यी दौँतरीले अनुभूतिका पेटारो फुकाऊन् भन्ने मञ्चाभिमुखहरुको चाहनाबीच तीर्थ मुखरित भए । रहश्यमयी सरुभक्तबारे भन्न नमिल्ने कुराहरु नबोल्ने जानकारी गराए । त्यसपछि उनी सोझै अतीततिर फर्के –
विजय बजिमय (कवि)को अपाङ्गताको कारणले भैरवटोलमा हाम्रा धेरै साथीहरु त्यहाँ जम्मा हुने गर्थे । त्यो कोठाले हामी धेरैलाई जोड्यो । हामी नाटक देखाउने क्रममा सँगै हिँड्यौँ । दुर्गा दाइ (वात्सायन) हुनुहुन्थ्यो । नाटकको मेकअप म्यान, सरुभक्तको नाटकको मेकअप म्यानको रुपमा मञ्ज सज्जा गर्ने काम काम दुर्गा दाइले गर्नुहुन्थ्यो । तीर्थ गुरुङ, त्यसको संगीत संयोजक हुनुहुन्थ्यो । सरुभक्तको नाटकले वाङ्मयका विविध क्षेत्रका मान्छेलाई यसरी जोड्यो कि,यस्तो दुर्गा दाइजस्तोमान्छे मेकअप म्यान हुने । एउटा घर बनाउनुप¥यो,खरको छानो चाहियो, आँखीझ्याल चाहियो कसले बनाउने । मान्छे चाहियो । अर्जुन नेपाली दाइ हुनुहुन्थ्यो । उहाँ नाटकको नेपथ्यमा बसेर भ्वाइलिनमा नाटक हेर्दै संगीत दिने गर्नुहुन्थ्यो । नाटक हेर्दै संगीत दिनु सहज थिएन । नाटकको इतिहासमा यो महत्वपूर्ण घटना हो ।
एकथरी मानिस आफूलाई प्यास लाग्यो भने खोलामा जान्छ,अञ्जुलीमा पानी उभाउँछ र पिउँछ । आफ्नो प्यास मेट्छ । अर्कोथरी मान्छे आफूलाई प्यास लाग्यो भने आफूजस्तै गाउँका सवैलाई प्यास लागेको होला भन्ने सोच्छ । खोलामा पाइप लैजान्छ र खोलाको पानी ल्याउँछ र गाउँका सवैको प्यास मेटाउँछ । संघ÷संस्था त्यसका निम्ति चाहिने हो । पोखरेली युवा साँस्कृतिक परिवार त्यसकै निम्ति हो ।
सरुभक्तसँगको मित्रता मेरो पुरानो छ । कति कुरा भन्न नमिल्ने,कति कुरा भन्न मिल्ने । मित्रतामा स्वाद पनि हुँदो रहेछ भने, कति कुराँ भनुभनुँ लाग्ने,पेटबाट घाँटीसम्म आइपुग्ने अनि ओहो ! नभनुँ भो हुने । भन्न हुने कुरा म भनुँला,भन्न नमिल्ने कुरा भविष्यका लागि थाँति राखौँला । सरुभक्तबारे मबाट त्यस्ता प्रसंग सुन्न चाहनुहुन्छ भने माफ गर्नुहोला ।
मलाई म साहित्यकार हुँ भन्ने भ्रम छैन । केही नगरि चुप लागेर बस्न नसक्ने मान्छे म । निश्चित भूगोल पोखरा हुँदा एउटा हावाहुरी (साहित्य) मा त्यतै लागेको, एक समय लाग्यो राजनीतिमा पनि होमिएको । कहिलेकाहिँ मेरा बितिसकेका पिताले सपनामा भन्नुहुन्छ,‘बाबु तैँले पसल चाहिँ सम्हाल्नी भइनस् । सपनामा पनि । अस्ति मेरो पसलमा काम गर्ने भाइसँग,पसल बन्द भइसक्यो, सम्बन्ध टुटेको छैन । अस्ति बिहान मेरो घरमा आयो र भन्यो,‘मलाई बाउले सपनामा भन्नुभयो ।’
मैले सोधेँ,‘के भन्नुभयो ?’
‘पसल त असाध्यै फोहोर छ, हरिनारायण भन्नुभयो । म त पसल सफा गर्न आको ।’
म मेरो बाउको दृष्टिमा पनि असफल व्यवसायी । जिन्दगीमा म धेरै कमजोरीसहितको मान्छे । मलाई थाहा छ–मान्छे कोही पूर्ण छैन तर यति कमजोरीसहितको मान्छे मैले आफूलाई पाएको छु । महिले मान्छेहरुले मेरो प्रशंसा गर्छन् । म चाहिँ आफूलाई कमजोरीसहितको मान्छे मान्छु । किनकि, मेरा सवै कमजोरीको सवैभन्दा नजिकको साक्षी मै हुँ । मैले दुर्गा दाइको संगत पाएँ, सरुभक्तहरुको संगत पाएँ,संगतले सच्चिएको मान्छे हुँ म । रक्सी चाहिँ मलाई कसैले सिकाएको हैन, म आफै बिग्रेको हुँ । अचेल त्यो पनि छाडेको छु । अस्ति अशोक दाइ (समाजसेवी अशोक पालिखे )ले ब्लु लेभल ल्याउनुभएको रैछ । खाऊँ न भन्नुभयो । मैले भने,‘अब त खान्नँ, अघाको जस्तो भएको छ । ’
तपार्ईले कति पढ्नु भएको छ सरुभक्तलाई । म पनि धेरै पढेको छु भन्दिनँ तर सरुभक्त मेरो पुस्ताको महाकवि हो । सरुभक्तले नछोएको विधा छैन । तपाईंले चुली उपन्यास पढ्नु भएको छ ? नेपाल के ले चिनिएको छ भने हिमालको कारणले चिनिएको छ । आरोहणको कारणले चिनिएको छ । तर, नेपालीले हिमाल नेपालमा चढेका हैनन् । स्विजरल्याडमा चढेका थिए, १८९६ मा । नेपालीले चढेको भएर त्यो हिमालको नाम नै त्यहाँको सरकारले गुर्खा हिमाल राखिदिएको छ । त्यो हिमाल आरोहणको इतिहास सरुभक्तले उपन्यासमा लिपिवद्ध गर्ने काम सरुभक्तले गरेका छन् । नेपालमा विज्ञान उपन्यास, विज्ञान कथाको प्रारम्भ भएको थियो शंकर लामिछानेले,त्यसलाई बलियोसँग बाँध्ने काम सरुभक्तले गरेका हुन् । कविता–कथा भन्नुहोस्,नाटक–गीत भन्नुहोस् ! कहिले सुन्दै नसुनेको शब्द उनेर कविता लेख्ने सरुभक्त‘हिउँ त हैन फाप्रेको डंगुर’ लेख्ने मान्छे पनि सरुभक्त नै हो । जुन विधामा छोयो, त्यही विधामा उत्कृष्ट । पहिलोपटक भेट हुँदा उसले के कविता सुनाएको थियो कुन्नि म त अलमलमा पो परेँ ।
एउटा गतिलो साथी भेट्नु, एउटा बलियो दांैतरी भेट्नु भनेको बलियोसँग उभिनु पनि रहेछ । मलाई त्यो लागेको छ । सरुभक्तको अत्यन्त तीव्र बौद्धिकता र अति सरलताबीचमा मध्यमार्ग अपनाउने सक्ने कविता छन् । उनीसँग सूचना पनि त्यत्तिकै छ । उनलाई महाभारतका पर्व सोधे पनि थाहा हुन्छ, क्वान्टम थ्योरी सोधे पनि थाहा हुन्छ । यो अतिसयोक्तिपूर्ण प्रशंसा हैन । कसैले प्रश्न सोधे म बहसको निम्ति तयार छु ।
अनि तीर्थले दौँतरी सरुभक्तको चट्टानहरु शीर्षकको कविता सुनाए ।
चट्टानहरू
चट्टानहरू अग्लिए हिमाल बन्छन् चट्टानहरू अग्लिए पहाड बन्छन्
चट्टानहरू गहिरिए
जीवनका सागरहरू बन्छन्
जीवनका नदीहरू बन्छन्
तर जीवनका सागरहरूले
जति खियाए पनि
चट्टानहरू खिइँदैनन्
तर जीवनका नदीहरूले
जति काटे पनि
चट्टानहरू काटिंदैनन्
चट्टानहरू आफ्ना छातीका
सागरका कविता रचना गर्छन्
चट्टानहरू आफ्ना छातीका नदीका कविता रचना गर्छन्
सागरका कविता रचना गर्दा
चट्टानहरू अलिकति खिइन्छन् नदीका कविता रचना गर्दा
चट्टानहरू अलिकति काटिन्छन् तर चट्टानहरू आफू खिइनुलाई आफू खिइनु भन्दैनन्
तर चट्टानहरू आफू काटिनुलाई आफू काटिनु भन्दैनन्
चट्टानहरू जीवन–उत्सर्गहरूमा
सागर भएर
सागरहरूसित खिइन्छन्
चट्टानहरू जीवन बलिदानमा
नदी भएर
नदीहरूसित काटिन्छन्
कारण चट्टानहरू बिना सागरहरूको
कुनै रूप हुँदैन, आकार हुँदैन
कारण चट्टानहरू बिना नदीहरूको कुनै रङ हुँदैन, गति हुँदैन
जीवनका सागरहरू र नदीहरूलाई सागरहरू र नदीहरू बन्न
चट्टानहरूको माया चाहिन्छ
चट्टानहरूको समर्पण चाहिन्छ
तर चट्टानहरू आफ्नो मायाले जति खिइए पनि
चट्टानहरू नै हुन्छन्, अरू केही हुँदैनन् तर चट्टानहरू आफ्नो समर्पणले जति काटिए पनि
चट्टानहरू नै हुन्छन्, अरू केही हुँदैन ।




